ऋण काढेर घर, मिटरब्याजले उठिबास

ऋण काढेर घर, मिटरब्याजले उठिबास
जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा नथुनी मण्डल र उनकी श्रीमती किरण कुमारी मण्डल। तस्बिर : विजय कुमार सिंह
सुन्नुहोस्

ढल्केवर(धनुषा) : पाँचवर्ष अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका ४४ वर्षीय नथुनी मण्डलले मनिट्रान्सफर खोल्न १३ लाख रुपैयाँ ऋण लिए। 

उनले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका सपहीका साहु रामसागर साहलाई २०७४ वैशाख ५ मा दुई कित्ता गरेर १० धुर जग्गा पास गरी सय कडा ३ रुपैयाँमा तमसुक बनाएर १३ लाख रुपैयाँ ऋण लिएका थिए।

मनिट्रान्सफर खोल्न ऋण लिएपनि नथुनीको उक्त योजना सफल भएन। उनले त्यो पैसाले घर बनाउन सुरु गरे। घर बनाउन त्यति पैसाले नपुग्ने भएपछि थप पैसा जोहो गरेर घरलाई पूर्णता दिए। 

झण्डै ३० लाखको लागतमा एकतल्ले कोठाको घर तयार भएको नथुनी सुनाउँछन्। तीन रुपैयाँ सयकडा ब्याजमा लिएको ऋणको भारी मण्डलमाथि बढ्दै गयो। उनले आफ्नै पोखरीको १४ कठ्ठा अढाई धुर जग्गा बैंकमा धित्तो राखेर ३५ लाख रुपैयाँ ऋण लिए।

त्यो पैसाबाट २०७७ असोज २७ मा १० लाख रुपैयाँ साहु रामसागरलाई एकमुष्ट बुझाएको नथुनी बताउँछन्। साहुलाई अझै पैसा तिर्न बाँकी नै रहेकाले जग्गा फिर्ताको कुरा चलेन। नथुनीले गएको कात्तिकमा हिसाब बुझ्न साहुलाई ताकेता गरे। 

साहु रामसागरले आफूले २४ लाख रुपैयाँ पाउनुपर्ने हिसाब नथुनीलाई सुनाए। ‘हिसाब सुनेपछि रुखको हाँगाबाट खसेजस्तो भयो मलाई। तर तिर्नुको विकल्प छैन भनेर त्यो पैसा तिर्न राजी भए। त्यतिबेला अरू अरू पनि त्यहाँ थिए,’ दुखेसो पोख्दै नथुनीले भने।

हिसाब भएको १० दिनपछि २४ लाख रुपैयाँ लिएर जाँदा आफूसँग साहु रामसागरले ३२ लाख रुपैयाँ मागेको नथुनी बताउँछन्। 'त्यत्रो पैसा जुटाउन त अलिक समय लाग्छ नि। मलाई १० दिन समय लागेको थियो,’ गुनासो पोख्दै मण्डलले भने ‘त्यसको ब्याजै जोडपनि १० दिनमा कति ब्याज बढ्छ ?’ ३२ लाख रुपैयाँ तिर्न नसक्दा साहुले आफूमाथि अत्याचार गरेको नथुनीको आरोप छ।

साहु रामसागरले आफूसँग मागेको पैसा नतिरेपछि आफ्नो धितो बापतको १० धुर जग्गा अर्कैलाई बेचिदिएको नथुनीले बताउँछन्। 

उनको जग्गा साहु रामसागरले मिथिला बिहारी नगरपालिकास्थित तारापट्टी सिर्सियाकी रितादेवीलाई बेचेका छन्। साहु रामसागरले २६ लाख १६ हजारमा जग्गा र ३ लाख २० हजारमा घर रिता देवी यादवका नाममा बिक्री गरेको मालपोतको रजिष्ट्रेसनमा उल्लेख छ।

अहिले नथुनीको परिवार घरवारविहीन भएका छन्। उनको श्रीमती, चार छोरी र एक छोरा छन्। घरबाट निकालिदिएपछि उनीहरूलाई लिएर नथुनी अहिले घरभाडामा बसिरहेका छन्। 

रिताले भाडाको मान्छे लगाएर आफूहरूमाथि कुटपिट गरेर घरबाट निकालिदिएको नथुनीको आरोप छ। न्यायका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको एक महिनाभन्दा बढी भएपनि कुनै सुनुवाइ नभएको उनले गुनासो पोखे।

यस्तै नथुनीको धितो बापतको ५ धुर जग्गा साहु नितु सिंहले पनि अर्कैका नाममा बिक्री गरिदिएपछि नथुनीको उठीबास भएको छ। नथुनीले २०७३ सालमा महादेव साहको नाममा ५ धुर जग्गा पास गरी तमसुक बनाएर पाँच लाख रुपैयाँ ऋण लिएका थिए। 

त्यसको एकवर्षपछि पैसाका लागि महादेवले लगालग ताकेता गरेपछि त्यही जग्गा नितु सिंहलाई पास गरेर नथुनीले तीन रुपैयाँ सय कडामा ८ लाख रुपैयाँ ऋण लिए। त्यसबाटै पैसा तिरेर साहु महादेवको ऋण फरफारक भयो। महादेवले नथुनीलाई ऋणको पनि तमसुक फिर्ता गरिदिए। 

नथुनीले नितुसँग लिएको ८ लाख ऋण बापत पटकपटक गरेर २५ लाख रुपैयाँ तिरे। तर, नितुबाट जग्गा फिर्ता गराउने आशमा रहेका नथुनी रितै भए। साहु नितुले नथुनीलाई जग्गा फिर्ता गर्नुको साटो त्यो जग्गा अर्कैका नाममा बिक्री गरिदिएपछि नथुनी विक्षिप्त भएका छन्। ‘अब मेरो नाउँमा एक ईन्च पनि जग्गा जमिन छैन,’ आँशु झार्दै नथुनीले दुखेसो पोखे।

नथुनीकी माइली छोरी सिमाकोविवाह माघ २७ गतेका लागि तय भएको छ। तर, विवाहको तयारीमा जुट्नुपर्ने नथुनी न्यायका लागि भौतारी रहेका छन्। उनी न्यायका लागि सीडीओ गुहारेका छन्। ‘माइली छोरीको विवाहका लागि तयारी गर्नुपर्ने छ। तर अहिले मलाई जनकपुर धाउनु परेको छ। 

'जग्गाको चिन्ताले मलाई पूरै बेचैनी छ। घरमा कोहीलाई पनि खाना रुचिरहेको छैन। विवाहको कुनै रौनक छैन,’ जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा भेटेका नथुनीले विलौना गरे। 

नथुनीले मिटरब्याज कसुरमा साहुलाई विपक्षी बनाएर जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन्। 

जिल्ला प्रशासन कार्यालय धनुषामा मंगलबारसम्म मिटरब्याज विरुद्ध तीनसय पाँचवटा उजुरी दर्ता भएको तथ्यांक छ। त्यसमध्ये ११० वटा उजुरीमा दुवै पक्षलाई समन्वय गराएर समाधान गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.