मिथिलामा हात्तीपाइले रोग निवारण गर्न अभियान
ढल्केवर(धनुषा) : हात्तीपाइले रोग निवारण गर्न धनुषाको मिथिला नगरपालिकाले अभियान सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत फागुन ११ गतदेखि आम औषधि सेवन अभियान चलाउन लागिएको मिथिला नगरपालिकाका जनस्वास्थ्य अधिकृत अशोक भण्डारीले जानकारी दिए।
उनका अनुसार कुनै लक्षण नदेखिएपनि शरीरमा हात्तीपाइले रोगको परजीवि हुन सक्ने भन्दै आम नागरिकलाई औषधि सेवन गर्न गराउन अभियान सञ्चालन गर्न लागिएको हो।
रोग लागिसकेपछि पूर्ण रूपमा निको हुन नसक्ने भएकाले समयमै औषधि खाएमा शरीरमा हात्तीपाइलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधि सेवन गरी हात्तीपाइले रोग निवारण अभियानका लागि नगरपालिकाले तयारी तीव्र पारेको छ।
ढल्केवर स्वास्थ्य चौकीको सभाहलमा आयोजित आम औषधि सेवन अभियान सम्बन्धी नगरस्तरीय योजना तथा बहुनिकाय गोष्ठीमा जनश्वास्थ्य अधिकृत भण्डारीले हात्तीपाइले रोगविरुद्ध चलाउने औषधिहरू अत्यन्त प्रभावकारी र सुरक्षित रहेको जानकारी दिए।
उनले दुईवर्ष भन्दामुनिका बच्चा, गर्भवती महिला, सुत्केरी भएको एक हप्ताभित्र र अशक्त भई बेडमा रहेकाबाहेक सबै आम नागरिकलाई हात्तीपाइले रोग विरुद्धका औषधि खानैपर्ने बताए।
यसपटक हात्तीपाइले रोग निवारणका लागि अल्वेण्डाजोल, ईभरमेक्टिन र डाईथालकार्वामाइजिन गरी ३ प्रकारको औषधि खुवाउने उनले बताए।
मिथिला नगरपालिका फाल्गुन ११ गतेदेखि नगरपालिकाको प्रत्येक वडामा अभियान चलाउने र एउटा वडामा ५ वटा टिम तथा एउटा टिममा १८ जनालाई औषधि खुवाउने अभियानका लागि परिचालन गरिने भण्डारीले उल्लेख गरे।
मिथिला नगरपालिकाभित्र हालसम्म कुनै पनि हात्तीपाइले रोगका बिरामी फेला नपरेको पनि उनले स्पष्ट पारे।