गुन्द्रुक उपहार पठाउँछ शैलुङको झोरगाउँ
दोलखा : दोलाखको शैलुङ गाउँपालिका-८ मा पर्ने झोर गाउँका बासिन्दा पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गर्छन्।
झोर गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको बताउने स्थानीय किसान दिपेश श्रेष्ठले गुन्द्रुकको बिक्री वितरण सुरु भै नसकेकोले घरमा खाने र काठमाडौं तथा पोखरातिर उपहारका रूपमा पठाउने गरिएको बताए।
झण्डै ६५ घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारका रूपमा आफन्तलाई पठाउन र कहिलेकाही घरमा आफैं खान भनेर ८/१० केजीसम्म बनाएर राख्ने गरेका छन्। गुन्द्रुकको व्यावसायिक उत्पादन भने सुरु भइनसकेको श्रेष्ठले बताए।
झोर गाउँका किसानहरूले वार्षिक एक करोडसम्मको काउली र आलु बिक्री वितरण गर्दै आएका छन्। आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४/५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ।
काउली बिक्री गर्दा ठूला पातहरू छाट्नुपर्ने भएकाले त्यसको उपयोगिताका लागि गुन्द्रुक बनाउने गरिएको श्रेष्ठको भनाइ छ।