बृहत् शान्ति सम्झौता पूर्ण कार्यान्वयन भएन : उपराष्ट्रपति पुन
जनकपुरधाम : उपराष्ट्रपति नन्दकिशोर पुनले बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।
सोमबार मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवसका अवसरमा बोल्दै उपराष्ट्रपति पुनले शान्ति सम्झौताको मुख्य गरी दुईवटा काम अझै बाँकी रहेको बताए।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग मार्फत गर्नुपर्ने काम सम्पन्न नभएकोमा चिन्ता व्यक्त गरे।
उनले आयोग र सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउन आग्रह गरे। उनले भने, ‘वर्तमान संघीय सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई छिटो भन्दा छिटो टुंग्याउन गम्भीर भएर काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’
यस्तै, उनले पुनर्संरचना अनुसार बनेका सात प्रदेशमध्ये मधेस प्रदेशले पहिचानका आधारमा नामाकरण गर्न सफल भएकोमा मधेस प्रदेशका सांसद, सरकार, राजनीतिक दल, संघसंस्था तथा जनसमुदायलाई धन्यवाद दिए।
५४० शहीद परिवारलाई एक/एक लाख
मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा ५४० जना शहीद परिवारलाई एक/एक लाखको दरले सहयोग गरेको छ।
जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्धका शहीद रामवृक्ष यादवको परिवारका सदस्य सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्।
बाँकी रहेका ५३९ जना शहीद परिवारको खातामै रकम पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए। उपराष्ट्रपति पुनले जनयुद्धका शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए।