लैंगिक समानता कायम गरी हिंसा रोक्न प्रशासनको ध्यानाकर्षण
वीरेन्द्रनगर : अन्तर पुस्ता महिलावादी मञ्च सुर्खेतले हिंसामुक्त समाज निर्माण गरी लैंगिक समानता कायम गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ।
पछिल्लो समय लैंगिक हिंसाका घटनाहरू बढिरहेको भन्दै अन्तर पुस्ता महिलावादी मञ्च सुर्खेतले मंगलबार जिल्ला प्रशासन कार्यालयमै पुगेर लैंगिक हिंसा रोक्नका लागि प्रशासनले कडाई गर्न र लैंगिक समानता कायम गर्न पैरवी गरिदिन प्रशासनको ध्यानाकर्षण गराएको हो।
ध्यानाकर्षण पत्र बुझाउन प्रशासनमा पुगेकी महिलाहरूले हरेक जिल्लामा प्रशासनिक निकायहरूले कानुनको प्रभावकारी कार्यान्वयन गरिदिँदा महिला तथा बालबालिकाहरूले हिंसा र दुर्व्यवहारको शिकारबाट जोखिने बताइन्।
उनीहरूले समाजमा हुने सामाजिक विकृति र विसंगतिहरूका विरुद्धमा प्रशासन कडा रूपमा लाग्नुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले महिलाहरूको ध्यानाकर्षण पत्र बुझ्दै आफूहरूले महिला तथा बालबालिकाका सवालहरूमा कानुनको कार्यान्वयनको सवालमा कुनै कसुर बाँकी नराख्ने बताए।