धार्मिक सम्पदा जोगाउँदै वीरगन्ज महानगर
वीरगन्ज : वीरगन्ज महानगरपालिका-१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न स्थानीयको सहयोगमा वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएको छ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा रहेको शिवलिंग जस्तै पन्चमुखी शिवलिंग रहेको काठमाडौं बाहेक देशभरमै एक मात्र रहेको पिपराको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि महानगरपालिकाले अग्रसरता लिएको हो।
त्यसका लागि महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्यकरणको काम थालिसकेको छ। यसका साथै मन्दिर परिसरमा सोमबार बेलुकी महाआरती पनि सम्पन्न भएको छ।
सोमबार बेलुकी आयोजित महाआरतीमा काशी विश्वनाथका मुख्य पूजारी पण्डित डा. श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दास पनि सहभागी थिए।
महाआरति अघि मन्दिर परिसरमै भव्य प्रवचन समारोहको पनि आयोजना गरिएको थियो।
पशुपतिनाथ मन्दिरमा अब हरेक सोमबार साँझ आरती समारोह विश्व हिन्दू परिषदका अगुवा रन्जित सर्राफले बताए।
वीरगन्जलाई धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले अभियान नै सञ्चालन गरिरहेको छ।
त्यही अभियान अन्तर्गत नै पिपराको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गर्न थालिएको वीरगन्जका मेयर राजेशमान सिंहले बताए।
तराई मधेसमै एक मात्र रहेको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुवै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर सोमबार बेलुकी महाआरती गरिएको उनले बताए।
उनले भने ,‘अहिले तत्कालै हामीले मन्दिर परिसरको सरसफाइ गरेर मन्दिरलाई सिंगारेका छौं, बत्तीहरू जडान गरेका छौं, नियमित पूजापाठका लागि पूजारीको व्यवस्था पनि गरिसकेका छौं , अब थप बजेट व्यवस्थापन गरेर मन्दिर परिसरलाई पार्कका रूपमा निर्माण पनि गर्छौं।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसम्म जान नसक्ने भक्तजनहरूले यही मन्दिरमा पुगेर पूजाअर्चना र दर्शन गर्न सक्ने गरी यसलाई मधेस प्रदेशकै प्रमुख धार्मिक स्थलका रूपमा स्थापित गर्ने योजनाका साथ महानगरले काम अगाडि बढाइसकेको मेयर सिंहले बताए।
पिपराका स्थानीयवासी समेत रहेका वरिष्ठ पत्रकार चन्द्रकिशोरले झण्डै चार दशकभन्दा पुरानो पिपराको पशुपतिनाथ मन्दिर, काठमाडौंको पशुपतिनाथ मन्दिरकै स्वरूप र प्रकृतिमा रहेको बताए।
उनले भने ,‘काठमाडौंको पशुपतिनाथ मन्दिरमा जुन स्वरूपको पन्चमुखी शिवलिङग् छ , त्यहि स्वरूपको पन्चमुखी शिवलिंग यो पिपराको पशुपतिनाथ मन्दिरमा पनि छ, यस्तै काठमाडौंको जस्तै मन्दिरको ठिक सामुन्ने विशाल नन्दीको शालिक यहाँ पनि छ।
नेपालमा काठमाडौं बाहेक पशुपतिनाथको मन्दिर पिपरामा मात्रै रहेको पनि उनले बताए।
मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिर र यसको पौराणिक महत्वबारे व्यापक प्रचार प्रसार गर्न सकिए यो मन्दिर वीरगन्जको मात्र नभइ मधेस प्रदेशकै प्रमुख धार्मिक गन्तव्य स्थल बन्ने सक्ने चन्द्रकिशोरले बताए।
काठमाडौंको पशुपतिनाथ मन्दिरसँग पिपराको पशुपतिनाथ मन्दिरबीच पौराणिक सम्बन्ध पनि रहेको उनले बताए। उनले भने ,‘ शिवरात्रीमा भारतबाट आउने भारतीय भक्तजनहरू पहिले सडक र यातायातको सहज सुविधा नहुदा काठमाडौंसँग पुग्न सक्दैनथे , त्यो बेला उनीहरू यही पिपराको पशुपतिनाथ मन्दिरमा आएर पूजापाठ र दर्शन गरेर फर्किन्थे।
पिपराको पशुपतिनाथ मन्दिरको संरक्षण र सौन्दर्यकरण गर्दै धार्मिक गन्तव्यस्थल बनाउन महानगरले अभियान थालेको भए पनि मन्दिर भएको जग्गा नेपाल सरकारको स्वामित्वमा भएका कारणले महानगरसामु केही चुनौती छ। त्यसकारण मन्दिर भएको जग्गाको स्वामित्व नेपाल सरकारले महानगरलाई हस्तान्तरण गर्नु पर्ने वरिष्ठ पत्रकार चन्द्रकिशोर बताउँछन्।
उनले भने ,‘ पिपराको पशुपतिनाथ मन्दिर , वीरगन्ज शहरको धार्मिक सम्पदा पनि हो ,र महानगरले यसको संरक्षण र सम्बद्र्धनका लागि अग्रसरता लिइसकेको अवस्थामा यो जग्गाको स्वामित्व सरकारले महानगरलार्य दियो भने यो पुनित कार्यमा महानगरलाई अझ धेरै सजह हुनेछ।
किनकि वीरगन्ज महानगरमा रहेका थुप्रै सार्वजिन जग्गा र धार्मिक सम्पदाहरू अतिक्रमणमा परिसकेको अवस्था रहेकाले त्यसलाई जोगाउनका लागि पनि सरकारले ती सार्वजनिक सम्पदाको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने उनी बताउँछन्।