भद्रपुर बजारलाई व्यवस्थित बनाउन आठ बुँदे निर्णय
झापा : सीमा नाकासँग जोडिएको जिल्लाकै पुरानो अव्यवस्थित भद्रपुर बजारलाई व्यवस्थित बनाउन नगरपालिकाले फेरि चासो देखाएको छ।
करिब ९ वर्षअघि पनि सुस्ताएको भद्रपुर बजारलाई व्यवस्थित बनाउन नगरपालिका र झापा उद्योग वाणिज्य संघले संयुक्त रुपमा चासो देखाएर सर्वपक्षीय भेला डाकेका थिए।
२०७० असोजमा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत सुवास श्रेष्ठ र वाणिज्य संघका वर्तमान अध्यक्ष नवराज पनेरुको नेतृत्वमा गरिएको सो भेलाले आठ बुँदे निर्णयसमेत गरेका थिए। तर, त्यो निर्णय कागजमै सीमित बन्यो।
९ वर्षको अन्तरालमा भद्रपुर बजारप्रति न त नगरपालिकाले खासै चासो देखायो, न त वाणिज्य संघले नै यहाँका व्यापारीको पक्षमा आवाज उठायो।
त्यसभन्दा अघि राजेन्द्र घिमिरे झापा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा समेत गरिएको निर्णयहरू पनि राजनीतिक खिचातानीका कारण कार्यान्वयन ल्याउन सकिएन।
नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएका गणेश पोखरेल अहिले भद्रपुर बजार व्यवस्थित बनाउन जुरमुराएका छन्।
बजार व्यवस्थित बनाउन नगर प्रमुख पोखरेलको नेतृत्वमा माघ २६ गते नगरपालिको पुरानो कार्यालय भवनमा सर्वपक्षीय भेला बोलाइएको थियो।
सो भेलाले बजारलाई व्यवस्थित बनाउन पुनः आठ बुँदे निर्णय गरेको छ। सो निर्णय नगरपालिकाले मंगलबार सार्वजनिक गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको निर्णय अनुसार जनता चोकदेखि भद्रपुर भन्सार कार्यालय सम्मको सडकमा खुद्रा तथा थोक व्यवसायीहरूले आफ्नो पसल क्षेत्रभित्रका सामग्री व्यवस्थापन गर्न तथा पसलको बरन्डा वा सडक पेटीको क्षेत्र निर्धारण गर्नुपर्ने भएमा नगर प्रहरीमार्फत सहजीकरण गरिने छ।
जिल्ला हुलाकको पश्चिम तर्फको बाटोबाट उत्तर हुँदै प्रदीप वस्त्रालयसम्मको २ नम्बर सडकमा लाग्ने हाटबजार व्यवस्थापन गर्न कृष्ण हलदेखि झिम्की चोकसम्म ३ नम्बर सडकको प्रयोग (नालामाथि स्ल्याबको प्रयोग) लगायत अन्य विकल्पका बारेमा ५ नम्बर र ६ नम्बर वडा कार्यालय, भद्रपुर बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूबाट स्थलगत अवलोकन अनुगमन गरी नगरपालिकामा सिफारिस गरिने छ।
बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न तत्कालका लागि वान वे वा क्रसिङ आदि विधिको प्रयोग गर्ने तथा भन्सार पछाडिका खाली सडक र पुरानो सिनेमा हल जाने सडकलाई प्रयोग गर्नका लागि ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वय गर्ने, विद्यालय बस, एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारीसाधनबाहेक अन्य मालवाहक ठुला सवारीसाधनहरूलाई बजार क्षेत्रमा हटियाका दिन बुधबार र शनिबार (दुई दिन) बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म प्रवेश निषेध गर्ने निर्णय गरिएको छ।
त्यस्तै भद्रपुर बसपार्क प्रयोगमा ल्याउनको लागि मेची राजमार्गमा आवतजावत गर्ने सार्वजनिक यातायातका सवारीसाधनलाई व्यवस्थापन गर्ने सन्दर्भमा बनियानी, बगान लगायत दक्षिणी भेगबाट आउने सवारीसाधनहरूलाई झापा चोकबाट भद्रपुर बसपार्क छिराउँदै गिरी चोकबाट जान पाउने र बिर्तामोडबाट आउने सवारीसाधनको हकमा पनि त्यही रुट प्रयोग गर्नुपर्ने निर्णय गरिएको छ।
भद्रपुर बजार व्यवस्थापन समितिलाई बजार व्यवस्थापनका लागि सक्रिय बनाउने र आवश्यकता अनुसार पुनर्गठन गर्ने, बजार क्षेत्रमा रहेको जिल्ला हुलाक कार्यालयको पुरानो भवनलाई पार्किङ स्थलको रुपमा प्रयोग गर्न संघीय सरकारको सम्बन्धित निकायमा आवश्यक समन्वय गर्ने निर्णय गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिए।
र नगरपालिकाको स्वामित्वमा बजारमा रहेको हालको भवन जीर्ण बन्दै गएकोले त्यसलाई भत्काएर अन्डरग्राउन्ड पार्किङ, पसल, सभा हलसहितको भवन निर्माणका लागि नगर विकास कोष लगायत ऋण प्रदायक संस्था, नेपाल सरकार र प्रदेश सरकाका अन्य निकायहरूसँग सहकार्य र समन्वय गर्ने निर्णय गरिएको उनले बताए।