दोलखामा महिलालाई पञ्चेबाजा तालिम
दोलखा : पञ्चेबाजा संरक्षणका लागि दोलखामा महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम दिइएको छ।
भीमेश्वर नगरपालिका वडा नं ५ ले महिलाहरूलाई बाजा बजाउने तालिम दिइएको हो।
रैथाने संस्कार, संस्कृति र परम्परा जोगाउन, महिलाहरूको क्षमता विकास गर्न र महिलाहरूलाई पनि जिम्मेवारी दिन तालिमको आयोजना गरेको वडाध्यक्ष बासु श्रेष्ठले बताए।
नगरपालिकामा बाजा बजाउने सीप भएका मानिस खोजी गर्नुपर्ने अवस्था रहेको र टाढाकोलाई बोलाउनु पर्दा महँगो हुने गरेको उनको भनाइ छ।
समाजसेवी कृष्ण बहादुर कार्कीले सञ्चार र प्रविधिले फड्को मारिरहेका बेला स्थानीय स्तरका मौलिक संस्कृति संरक्षणमा वडाले गरेको योगदानबारे खुसी लागेको बताए।
कार्कीले आफ्ना मौलिक कला संस्कृति ओझेलमा पर्न नदिन पुस्तान्तरणको आवश्यकता रहेको जानकारी दिए। पञ्चेबाजा संरक्षणमा वडाका महिलालाई व्यावसायिक बनाउने वडाध्यक्ष श्रेष्ठको भनाइ छ।
'पञ्चेबाजामा युवाको आकर्षण कम हुँदै गएको छ। युवा समूह विदेश पलायन हुने समस्या एकातिर छ। अर्कोतर्फ महिलालाई दक्ष बनाउन र दीगो लोक संस्कृतिको संरक्षणमा महिलाको स्थायित्वको सम्भावना बढी भएकाले गरिएको हो।
वडाका महिलालाई नमुना पञ्चेबाजा टोलीका रूपमा विकास गर्न वडाले सकेको सहयोग गर्नेछ।
स्थानीय र प्रदेश सरकारले सीपमुलक तालिमका नाममा बर्सेनि कराडौँ बजेट सकिरहेका बेला वडामा मौलिकता जोगाउँदै पुस्तान्तरण गर्नुपर्छ भन्ने सकारात्मक पहल भएकोमा स्थानीय अगुवा महिला तारा नेपालीले खुसी व्यक्त गरिन्।
स्थानीय भुवन नेपाली र रामकुमार नेपालीले सहनाई, कृष्ण बहादुर नेपालीले ढोलक र ट्याम्को, भक्तबहादुर नेपालीले नरसिंहा, लोकबहादुर नेपालीले दमाह र कर्नाल बजाउने तालिम दिनेछन्। १५ दिनसम्म सञ्चालन हुने तालिमममा वडाका २० महिलाको सहभागिता छ।