छानबिन प्रतिवेदन

टेलिकमको बिलिङ प्रणालीमै खराबी

बिलिङ प्रणालीमा खराबीले टेलिकमलाई ठूलो घाटा

टेलिकमको बिलिङ प्रणालीमै खराबी

टेलिकमका सेवा गत माघ ३ गते मंगलबार दिउँसो एक घण्टा ४५  मिनेट अवरुद्ध हुँदा संस्थालाई ठूलो क्षति पुगेको थियो। टेलिकमलाई मात्रै आधा करोडभन्दा बढीको क्षति पुगेको छ।

काठमाडौं : नेपाल टेलिकमको बिलिङ प्रणालीमै समस्याका कारण सेवा अवरुद्ध भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। दूरसञ्चार सेवाप्रदायक यो निकायका मोबाइल, ल्यान्डलाइन, इन्टरनेटलगायत सेवा गत माघ ३ गते मध्याह्न देशभर अवरुद्ध भएपछि त्यसबारे छानबिन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समिति बनाएको थियो। 

उक्त समितिले यस्तो प्रकृतिको समस्या आउँदा पुनः सम्पूर्ण बिलिङ प्रणाली नै बन्द हुन सक्ने अवस्था देखिएको निष्कर्षसहितको प्रतिवेदन हालै दिएको छ। बिलिङ प्रणालीको अध्ययन गर्दा दुई भागमा विभाजन गरिएको छ। एउटा भाग त्रिपुरेश्वरमा डीआर साइट र अर्को भाग सुन्धारामा डीसी साइटका रूपमा सञ्चालनमा छ। 

‘दुवै साइट (सुन्धारा र त्रिपुरेश्वर)मा रहेका सर्भरहरूमा लोड ब्यालेन्सिङ गरी प्रोसेसिङ कार्य समानान्तर रूपमा गरेको थियो। यसो गर्दा डीआर साइटको सर्भर अफलाइन हुनेबित्तिकै सम्पूर्ण बिलिङ प्रणाली नै बन्द भएको देखियो’, छानबिन प्रतिवेदनमा लेखिएको छ, ‘यति मात्र नभएर डीसी साइटमा यस्तै प्रकृतिको समस्या आउँदा पुनः सम्पूर्ण बिलिङ प्रणाली नै बन्द हुन सक्ने अवस्था विद्यमान रहेको देखियो।’ 

टेलिकमको कन्भरजेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) प्रणाली आपूर्तिकर्ता तथा मर्मतसम्भार गर्ने जिम्मा पाएको संस्था हो एसियन इन्फो (एआई)। उसको स्थानीय कम्पनी (लोकल भेन्डर) सीएएस टे«डिङका प्राविधिकको बिलिङ प्रणालीसँग सम्बन्धित त्रिपुरेश्वरस्थित डीआर साइटमा रहेको फल्टी स्टोरेज कन्ट्रोलर (नोड–१)लाई यो प्रणालीबाट अलग गरी बाहिर निकाल्दा बिलिङ प्रणाली पूर्णमा रूपमा ‘आउटेज’ हुन गई सेवा अवरुद्ध हुन पुगेको छानबिनले खुलाएको छ। 

नेपाल टेलिकमका मोबाइल, ल्यान्डलाइन, इन्टरनेटलगायत सेवा गत माघ ३ गते मध्याह्न देशभर अवरुद्ध भए। त्यसबारे छानबिन गर्न सञ्चार मन्त्रालयले माघ ५ गते छानबिन समिति बनायो। उक्त समितिले बिलिङ प्रणालीमै समस्याका कारण सेवा अवरुद्ध भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। यस्तो प्रकृतिको समस्या आउँदा पुनः सम्पूर्ण बिलिङ प्रणाली नै बन्द हुन सक्ने देखिएको छानबिनले देखाएको छ।

सीएएस ट्रेडिङका प्राविधिकले डीआर साइटबाट फल्टी स्टोरेज कन्ट्रोलर (नोड–१) लाई निकाली डीसी साइटमा पुगेपछि सेवा अवरुद्ध भएको जानकारी पाएको प्रतिवेदनमा उल्लेख छ। सीएएस टे«डिङका प्राविधिकले डीआर साइटबाट नोड–१ लाई निकाल्नेबित्तिकै बिलिङ प्रणाली पूर्णरूपमा ‘आउटेज’ हुन गई सेवा अवरुद्ध भएको देखिएको छ। त्यसो हुनेबित्तिकै बिलिङ प्रणालीका आपूर्तिकर्ता तथा मर्मतकर्ता एसियन इन्फोलाई टेलिकमका प्राविधिकले सेवा अवरुद्ध भएको जानकारी गराएका थिए। त्यसपछि बिलिङ प्रणालीमा उत्पन्न प्राविधिक समस्याबारे एआई, डब्लूडीएन, सीएएस ट्रेडिङ र टेलिकमका प्राविधिकबीच छलफल भएको थियो। 

समस्याको पहिचान गर्दा बिलिङ एप्लिकेसन सर्भर र स्टोरेजबीच लिंक टुट्न गई एप्लिकेसन सर्भर अफलाइन (अनमाउटस) भएकाले सेवा अवरुद्ध भएको पाइएको छ। त्यसलाई नियमित गर्न १ घण्टा ४५ मिनेट लागेको थियो। सोही दिन मध्यरातमा एसियन इन्फोले स्टोरेज कन्ट्रोलर (नोड–१) लाई परिवर्तन गरी डीआर साइटलाई पहिलेको ‘डाउन सेयरिङ’मा सञ्चालन गरेको पाइएको छ। 

‘बिजनेस कन्टिन्युटी प्लान’ र ‘डिजास्टर रिकोभरी सेन्टर’को आधारभूत सिद्धान्त तथा मूल्यमान्यताका आधारमा ‘कम्प्लिट डिजास्टर रिकोभरी सेन्टर’ फरक–फरक ‘सिस्मिक’ जान हुने गरी बिलिङ सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ। प्रतिवेदनमा आगामी दिनमा समस्या आउन नदिन बिलिङ प्रणालीमा रहेको ‘क्रिटिकल’ र ‘ननक्रिटिकल कम्पोनेन्ट’ पहिचान गरी सोही आधारमा मर्मत योजना तयार गरी लागू गर्नुपर्ने सुझाव समितिले दिएको छ। 

बिलिङ प्रणालीका हार्डवेयरको आयु सकिएको हुँदा मर्मत प्रक्रिया पुनरावलोकन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। संवेदनशील विषयमा जटिलताको अध्ययन गरी स्ट्यान्डर्ड मेन्टिनेन्स प्रोटोकलको अनिवार्य पालना गर्न सुझाव दिइएको छ। सेवा अवरुद्ध हुने गरी मर्मतमा संलग्न कर्मचारीलाई जिम्मेवार बनाउन, दूरसञ्चार प्राधिकरणका सुझाव निर्देशन पालना गर्न/गराउनतर्फ लाग्नुपर्ने सुझाव दिइएको छ। मर्मतजस्तो संवेदनशील विषयको सूचना आएपछि एसियन इन्फोसँग भएको एएमसी सम्झौताअनुसार सार्वजनिक बिदाका नाममा ३–४ दिन मर्मत योजना र सम्बद्ध निकायबीच समन्वय गर्न नसकेको छानबिनले देखाएको छ।

भविष्यमा यस्तो त्रुटि दोहोरिन नदिन एसियन इन्फोलाई कानुनबमोजिम सचेत गराउन समितिले निर्देशन दिएको छ। टेलिकमका सेवा गत माघ ३ गते मंगलबार दिउँसो एक घण्टा ४५  मिनेट अवरुद्ध हुँदा संस्थालाई ठूलो क्षति पुगेको थियो। टेलिकमलाई मात्रै आधा करोडभन्दा बढीको क्षति पुगेको छ। प्रयोगकर्ताको अत्यधिक चाप रहने समयमा सेवा अवरुद्ध भएको थियो। त्यसपछि मन्त्रालयले माघ ५ गते सहसचिव गौरव गिरीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। उक्त समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार राय, टेलिकमका चिफ अपरेसन अफिसर झविन्दलाल उपाध्याय, विज्ञ लोचनलाल अमात्य सदस्य थिए। समिति सदस्यसचिवमा उपसचिव सुरेन्द्र थापा थियो। 

समितिले पाँचवटा कार्यादेश पाएको थियो। पहिलो टेलिकमको सेवा अवरुद्ध भएको सम्बन्धमा कारण, जिम्मेवार पक्ष र कमीकमजोरीका बारेमा छानबिन गरी सत्य तथ्य पत्ता लगाउने भनिएको थियो। दोस्रोमा आगामी दिनमा यस्तो समस्या आउन नदिन तत्काल र अल्पकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिनुपर्ने थियो। तेस्रोमा समितिले तत्काल कार्य प्रारम्भ गरी प्रकरण (क) र खमा उल्लिखित विषय समेटी ५ दिनेभित्र प्रतिवेदन दिनुपर्ने जिम्मेवारी तोकिएको थियो। समितिका सदस्यले बिदाका दिन र कार्यालय समयबाहेक र सार्वजनिक बिदामा पनि काम गर्ने र सो वापत नियमानुसार सेवा सुविधा टेलिकमले उपलब्ध गराउने तथा समितिको सचिवालय मन्त्रालयको संस्थान शाखामा रहेने कार्यदेश थिए। 

टेलिकम र एसियन इन्फोबीच समन्वय अभाव 

टेलिकम व्यवस्थापन र मर्मतसम्भारको जिम्मेवारी पाएको एसियन इन्फो तथा उसँग आबद्ध निकायबीच समन्वय नभएको पाइएको छ। मर्मतसम्भार योजना र जिम्मेवार निकायहरूबीच समन्वय नहुँदा आफूखुसी जस्तो ‘मेन स्टोरेज’ तथा सर्भर क्षेत्रमा प्रवेश गरी कार्ड निकाल्ने र सेवा अवरुद्ध भएपछि मात्र समन्वय प्रयास भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। 

एसियन इन्फोलाई कुनै जानकारीबिना र उसको स्वीकृतिबिना तथा समस्याको जटिलताको अध्ययन विश्लेषण नगरिकनै र एसियन इन्फोबाट मेन्टिनेन्स प्लान प्राप्त र स्वीकृत नगराइकनै सीएएसका प्रतिनिधिले मर्मत गर्न खोज्दा सिस्टम आउटेज भएको अध्ययनमा देखिएको छ। यी संवेदनशील घटनामा टेलिकम केन्द्रीय कार्यालय, टेलिकम सूचना प्रणाली सहयोगी निर्देशनालय र एएमसीका लागि सम्झौता गरिएको जिम्मेवार कम्पनीबीचको भनाइ विरोधाभाषपूर्ण पाइएको छ। 

त्रिपुरेश्वरस्थित डीआर साइटको स्टोरेज कन्ट्रोलर (नोड–१) १३ जनवरीमा नै फल्टी भइसकेकोमा १७  जनवरीमा ४ दिनपछि मात्रै ‘रिप्लेसमेन्ट’का लागि काम भएको पाइएको छ। यसबाट मर्मतको संवेदनशीलता नबुझेको देखिएको उल्लेख छ। जथाभावी प्रवेश गरी आकस्मिक जोखिम बढाएको, समस्याको जटिलताको विश्लेषण नगरिएको, पर्न सक्ने जोखिमका लागि ब्याकअप र समन्वय नभएको देखिन्छ। जसले टेलिकमलाई आर्थिक क्षति पुर्‍याएको, सेवाको गुणस्तरमा सधैं प्रश्न चिह्न लाग्ने अवस्था सिर्जना गरेको देखिएको छ।

टेलिकमले पटक–पटक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन पालना नगरेको र मर्मत गर्दा अपनाउनुपर्ने सजगता नअपनाएको देखिएको प्रतिवेदनमा छ। प्रतिवेदनमा मर्मतसम्भार (मेन्टिनेन्स) कार्यको सन्दर्भमा संवेदनशील हुन व्यवस्थापनलाई निर्देशन दिनुपर्ने देखिएको उल्लेख छ। प्रतिवेदनअनुसार   दूरसञ्चार सेवा अवरुद्ध हुनाको कारणले कम्पनीलाई भएको क्षति यकिन गरी क्षतिपूर्तिको निम्ति व्यवस्थापन गम्भीर हुनुपर्ने देखिएको छ। 

ठूलो क्षति 

टेलिकमको सेवा अवरुद्ध हुँदा ठूलो क्षति भएको छ। समितिले अवरुद्ध हुँदा ग्राहकले प्रयाग गर्ने सक्ने सेवा प्याकेज वा सोझै फोन वा डाटा सेवा उपयोग गरेवापत ठूलो क्षति बेहोरेका छन्। 

सोही समय अघिल्ला दिनमा भएको प्रयोग र विश्लेषण गर्दा प्रिपेड सेवामा दैनिक आयको ११.२५ र पोस्पेड सेवामा दैनिक ०.२४ प्रतिशतले कमी हुन सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ। न्यूनतम ४६ लाख ४५ हजार ६ सय १९ रुपैयाँ ८९ पैसादेखि अधिकतम ५२ लाख ६६ हजार ८ सय ५८ रुपैयाँ ९९ पैसासम्म टेलिकमलाई क्षति भएको हुन सक्ने जानकारी प्राप्त भएको छानबिनले देखाएको छ। २०७८ असार ८  बिहान ६ बजेपछिको समयमा पनि दूरसञ्चार सेवा अवरुद्ध भएका थिए। त्यो बेला पनि विलिङ प्रणालीलाई पुनः सञ्चालनमा ल्याउन करिब १ घण्टा ४५ मिनेट लागेको थियो।   

  •     माघ ३ गते मध्याह्न देशभर अवरुद्ध भएका थिए टेलिकमका सेवा
  •     सञ्चार मन्त्रालयले त्यसको माघ ५ मा बनाएको थियो छानबिन समिति
  •     पाँच कार्यसर्त पाएको समितिले हालै बुझायो छानबिन प्रतिवेदन
  •     बिलिङ प्रणालीमै समस्याका कारण सेवा अवरुद्ध भएको निष्कर्ष
  •     यस्तो प्रकृतिको समस्या आउँदा पुनः सम्पूर्ण प्रणाली नै बन्द हुन सक्ने अवस्था विद्यमान
  •     प्रतिवेदन भन्छ– ‘संवेदनशील विषयमा टेलिकमको उच्च व्यवस्थापन तह जिम्मेवार देखिएन।’

टेलिकमको उच्च व्यवस्थापन गैरजिम्मेवार

दूरसञ्चार सेवाजस्तो संवेदनशील विषयमा टेलिकमको उच्च व्यवस्थापन गैरजिम्मेवार देखिएको निष्कर्ष छानबिन समितिले निकालेको छ। ‘टेलिकमको दूरसञ्चार सेवा अवरुद्ध भएको जस्तो संवेदनशील विषयमा टेलिकमको उच्च व्यवस्थापन तह त्यति जिम्मेवार र संवेदनशील भएको देखिएन’, छानबिन प्रतिवेदनमा लेखिएको छ। बेलाबखत भइरहेको भनी घटनालाई सामान्यीकरण गर्ने जस्तो देखिएकाले संस्थानको उच्च व्यवस्थापन जिम्मेवार भई प्रस्तुत हुन समितिले निर्देशन दिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विलिङ प्रणालीको आयु सकिएको कारण पुनः बोलपत्र आह्वान गर्न निर्देशन दिएको छ। टेलिकमले भने कमिसनको प्रलोभनमा बोलपत्र आह्वान गर्नुको साटो पुरानै चिनियाँ कम्पनी एसियन इन्फोसँग एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी अर्थात् मर्मत सम्झौता) गरेको छ। हाल प्रयोगमा रहेको बिलिङ प्रणालीमा एसियन इन्फोको हार्डवेयर छ। सफ्टवेयर भने ओर्‍याकल कम्पनीको छ। एसियन इन्फोको नेपाली एजेन्ट ‘अरनिको’ हो। ओर्‍याकलको नेपाली एजेन्ट वल्र्ड डिस्ट्रिब्युसन नेपाल (डब्ल्यूडीएन) प्रालि हो। यसका सञ्चालक अरुण श्रेष्ठ हुन्। 

राजनीतिक नेतृत्वसमेतको मिलेमतोमा प्रबन्ध निर्देशक सुनील पौडेलले विद्यमान बिलिङ प्रणालीको बोलपत्र गर्नु साटो मर्मतसम्भारका लागि एसियन इन्फोसँग नै सम्झौता गरेका हुन्। प्रबन्ध निर्देशक पौडेलकै आडमा एसियन इन्फोले त्रुटि गरेको कारणले पनि यति ठूलो दुर्घटना र क्षति मुलुक बेहोर्नुपरेको छानबिनको निश्कर्ष छ। उच्च राजनीतिक दबाब र साँठगाँठमा प्रबन्ध निर्देशक पौडेल बोलपत्र आह्वानतिर लागेनन्। विद्यमान बिलिङ प्रणाली कुनै समय ध्वस्त (कोल्याप्स) हुन सक्ने जोखिम रहेको टेलिकमका कर्मचारी नै बताउँछन्। 

टेलिकमले वार्षिक ३२ अर्ब रुपैयाँभन्दा बढीको बिलिङ गर्छ। हालकै प्रणालीलाई निरन्तरता दिँदा टेलिकमलाई ३ अर्ब २० करोडभन्दा बढी घाटा हुने स्पष्ट छ। बर्सेनि बिलिङ बढ्दै जाँदा घाटा पनि बढ्दै जान्छ। टेलिकमले पाँच वर्षका लागि एसियन इन्फोसँग नै मर्मत सम्झौता गरेको छ। 

बिलिङ प्रणाली अपग्रेड गर्ने तयारीमा ठूलो आर्थिक चलखेल भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल त्यो प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो। अख्तियारले निर्देशनात्मक पत्र काटे पनि टेलिकमले बोलपत्र आह्वान गरेन। गुपचुपमा मर्मत सम्झौता गरेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.