ग्यास लिक भई आगलागी : आमाको निधन, नेता भण्डारी सिकिस्त

ग्यास लिक भई आगलागी : आमाको निधन, नेता भण्डारी सिकिस्त
कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि कीर्तिपुरबाट भारत लैजाने क्रममा। तस्बिर : दिपेन श्रेष्ठ

ग्यास ‘लिक’ भएको बेला बिजुलीको स्विच अन गर्दा आमा–छोरा आगलागीमा परेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

काठमाडौं : कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी बुधबार राति सवा १० बजेतिर बुद्धनगरस्थित घर पुगे। उनले गेट आफूले बन्द गरिसकेको र सुत्ने तयारीमा रहेको जानकारी भाइबुहारीलाई गराए। भाइ हरिहर र बुहारी जानुका घरको माथिल्लो तलामा बस्छन्। चन्द्र आमा हरिकलासँग तल्लो तलामा बस्छन्। 

नेता भण्डारी घर पुगेको १५–२० मिनेटपछि बुहारी जानुकाले केही पड्केको आवाज सुनिन्। श्रीमान्–श्रीमती दौडदै तल्लो तलामा झरे। जानुकाले भान्साको छेउमा आमालाई आगो लागेको अवस्थामा देखिन्। चन्द्रको शरीरमा पनि आगो दन्किरहेको थियो। उनी भान्साकोठाबाट निस्किँदै थिए। बुहारीलाई देखेपछि चन्द्र ‘आमालाई बचाऊ’ भन्दै कराए। त्यही अवस्थामा चन्द्र आफू सुत्ने कोठामा गएर सिरकले शरीर छोपे। 

‘दाइ त त्यहीँ पल्टिनुभयो’, जानुकाले भनिन्, ‘उहाँको शरीरमा आगो बलिरहेको देखेपछि एकछिन त मैले आफैंलाई सम्हाल्न पनि गाह्रो भयो। मेरो पनि भर्खरै पाठेघरको अप्रेसन गरेकाले राम्रोसँग हिँड्न सक्दिनथेँ।’ आमा ‘हरे राम हरे राम’ भन्दै भुइँमा आगोको रापमा छटपटिएको जानुकाले बताइन्। ‘मैले आमा आमाभन्दा उहाँले हरे राम हरे राम भनिरहनुभएको थियो’, जानुकाले भनिन्, ‘आमाको शरीरमा आगो थियो, छुन सकिनँ। उहाँ छटपटाइ रहनुभएको थियो। मेरो नजिक कुनै लुगा, कपडा पनि थिएन। नजिकै एक बाल्टी पानी थियो। आगो निभाउन एक बाल्टिन पानी खन्याएँ। आगो त निभ्यो तर आमालाई धेरै गाह्र्रो भइसकेको थियो।’

८६ वर्षीया हरिकलाको उपचारका क्रममा बिहीबार बिहान १०ः५७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको छ। उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्। चन्द्रको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि बिहीबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत अपराह्न भारतको मुम्बई लगिएको छ। 

चिकित्सकका अनुसार उनको शरीरको ३० प्रतिशत भाग जलेको छ। उनको थप उपचार मुम्बईस्थित नेसनल स्किन बर्न अस्पतालमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृत्रिम श्वास–प्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम, परिवारका सदस्यसहित ११ जनाको टोली गएको छ। उनको उपचार टोलीमा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एन्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी छन्। त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा छन्।

कीर्तिपुरस्थित अस्पतालमा बन्र्स, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ विभागका डा. किरण नकर्मीले सांसद भण्डारी र उनकी आमाको उपचारको नेतृत्व गरेका थिए। दुवै जनाको अवस्था गम्भीर भए पनि आमाको शरीरको करिब पूर्ण भाग नै जलेकाले बचाउन सम्भव नभएको बताए। 

‘हामीले २० प्रतिशतदेखि माथि जलन भएकाहरूलाई गम्भीर मान्दछौं। सांसद भण्डारीको २५ देखि ३० प्रतिशत जलन भएको अवस्था छ’, डा. नकर्मीले अन्नपूर्ण पोस्ट्सित भने, ‘उहाँको आमाको अझ बढी अर्थात् ७० प्रतिशत बढी जलन भएको छ। हामीले थप इभ्यालुसन पनि गरेका थियौं। तर, आमालाई बचाउन सकेनौं।’

उनका अनुसार सांसद भण्डारीको अनुहार, हात र खुट्टामा बढी जलन भएको छ। फोक्सोमा पनि केही असर पुगेको छ। मुम्बई पुर्‍याउँदा अभैm राम्रो हुन सक्छ भन्ने हेतुले मुम्बई लैजाँदा राम्रो हुन्छ भनेपछि चन्द्रजीलाई उता लैजाने निर्णय लिनुभएको हो’, उनले भने। साइँलो भाइ तेजु भण्डारीका अनुसार कीर्तिपुरबाट चन्द्रलाई बिहीबार ४ः५० बजे मुम्बई पठाइएको हो। डाक्टरले मुम्बई पुर्‍यायो भने उपचार सम्भव रहेको बताएको उनले सुनाए। 

मुम्बईमा प्रारम्भिक परीक्षण, अवस्था ‘खतरामुक्त’

गम्भीर अवस्थामा थप उपचारका लागि मुम्बई लगिएको सांसद भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले सुनाए। ‘नेपालबाट ल्याउँदा अवस्था स्थिर थियो। यहाँ आएपछि चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको बताउनुभएको छ’, न्यौपानेले भने।

उनी भण्डारीसँगै मुम्बई गएका छन्। नेता भण्डारीको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 


के हो घटना ?

ग्यास ‘लिक’ भएको बेला बिजुलीको स्विच अन गर्दा आमा–छोरा आगलागीमा परेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बुधबार राति ग्यासको गन्ध आएपछि सांसद भण्डारीले भान्साकोठामा गएर बिजुलीको स्विच अन गरेका हुन सक्ने आकलन छ। स्विच अन गर्दा ‘स्पार्क’ भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी सीताराम रिजालले बताए। 

‘घटनाको प्रकृति हेर्दा स्विच अन गरेपछि आगलागी भएको देखिन्छ’, रिजालले भने, ‘हामीले विद्युत्का प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आगो झिलिक्क गर्ने हुनाले त्यसैले फैलिएको ग्यास समात्न सक्ने बताएका छन्।’ रिजालले अन्य विषयमा थप अनुसन्धान भइरहेको बताए। ‘आगलागी भएसँगै कोठामा धुवाँ भरिएर उहाँहरूलाई श्वास–प्रश्वासमा समस्या आयो। आगलागीमा ग्यास विस्फोट भएको हैन’, उनले भने, ‘सिलिन्डर पड्केको छैन।’ 

चिकित्सकका अनुसार सांसद भण्डारीको शरीरको बाहिरी भाग आगोले ३० प्रतिशत र भित्री भाग १५ प्रतिशत जलेको छ। हरिकलाको बाहिरी भागमा ७० प्रतिशत जलेको थियो।

अन्नपूर्ण पोस्ट्को टोली घटनास्थलमा पुग्दा घरको माथिपट्टि रहेको प्रिफ्याबको छानो फुटेको थियो। भित्ताको केही भाग भत्किएको थियो। केही कपडा जलेको अवस्थामा देखियो। बैठक कक्ष, हरिकला र चन्द्रको बेडरुम, भान्साकोठाको अवस्था भने सामान्य थियो। चन्द्र सुत्ने कोठाको सिसाको झ्याल पनि फुटेको थियो।

साइँलो भाइ तेजुका अनुसार घटना आमा (हरिकला) र दाइ (चन्द्र)बाहेक अरूले देखेका छैनन्। ‘त्यसैले यसै भयो भन्न सक्ने अवस्था छैन। सबै अनुमानका कुरा बाहिर आएका छन्। अब अहिलेलाई हाम्रो दाजु बचाउनेतर्फ हामी लागेका छौं’, उनले भने। बुद्धनगरवासी भरत घिमिरे उक्त घटनाका बेला सुत्ने तरखरमा थिए। ठूलो आवाजले निद्रा बिथोलिएपछि उनी आफ्नै घरमा पो केही भयो कि भनेर सशंकित बने। कहाँ के भएको हो भन्ने निक्र्योल गर्न नपाउँदै उनले छिमेकी हरिहर भण्डारीको आवाज सुने। 

हरिहर चर्को स्वरमा भनिरहेका थिए, ‘गुहार–गुहार।’ त्यसलगत्तै घिमिरे आत्तिँदै भण्डारी निवास पुगे। ‘हामी घटनास्थलमा पुग्दा माननीयज्यू (चन्द्र भण्डारी बसेको स्थान देखाउँदै) यहाँ बसिरहनुभएको थियो। आङमा कुनै कपडा थिएन’, उनले भने, ‘अनुहार, हात र गोडामा गम्भीर चोट थियो। आमा अर्कोतिर अचेत अवस्थामा हुनुहुन्थ्यो। माननीयज्यू सहयोग गर्नुस् आमालाई बचाउनुहोस्। हामीलाई छिटो हस्पिटल लगिदिनुस् भन्दै हुनुहुन्थ्यो। उहाँले सहयोग खोजिराख्नुभएको थियो। भाइबुहारी सबै एकदमै आत्तिराख्नुभएको थियो।’ 

छिमेकी पुग्दासम्म आमा अर्धचेत अवस्थामा थिइन्। शरीर यत्रतत्र जलेको थियो। बुहारी जानुकाले सिरकले ढाकिदिइन्। घटनास्थलमा पुगेका छिमेकी र भाइबुहारीले चन्द्रलाई गाडीमा राखे। ‘लगभग १० मिनेटमै माननीयज्यूलाई कीर्तिपुर अस्पताल पुर्‍याइसकेका थियौं’, घिमिरेले भने। छिमेकीले उद्घार गर्दासम्म घटनास्थलमा प्रहरीसमेत पुगिसकेका थिए। प्रहरीको भ्यानमा राखेर आमालाई पनि बानेश्वरको मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याइसकेका थिए। जानुकाका अनुसार आमाको अवस्था थप जटिल देखिएकाले प्राथमिक उपचार यथाशीघ्र होस् भनेर आमालाई सिभिल अस्पताल लगिएको हो। सिभिलमा प्राथमिक उपचारपश्चात् चिकित्सकको सुझावबमोजिम उनलाई पनि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो। 

ग्यास लिकेज भई गन्ध आए तुरुन्त रेगुलेटर बन्द गरी पूरै सिलिन्डर चिसो कपडाले बेरेर वा सेफ्टी क्याप लगाएर खुला ठाउँमा लैजानुपर्ने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले। ‘कोठामा ग्यास लिक भएर गन्ध आएको अवस्थामा बिजुलीका स्विच नथिच्ने, सलाई, लाइटरजस्ता आगो उत्पन्न हुने सामग्री बाल्न हुँदैन’, उनले भने, ‘झ्याल, ढोका खोल्नुपर्छ।’

उनका अनुसार खाना पकाइरहँदा चुलो बले/नबलेको, ग्यासको गन्धबारे पनि उपभोक्ता सजग भइरहनुपर्छ। चुलो बलिरहेका बेला अन्य काममा लाग्नुहुँदैन। सिलिन्डरभन्दा चुलो केही उचाइमा राखेर प्रयोग गर्नुपर्छ। सिलिन्डर कोल्ट्याउने वा ढलाएर प्रयोग गर्नुहुँदैन। खाना बनाइसकेपछि चुलोसँगै रेगुलेटर बन्द गर्नुपर्छ’, उनले भने, ‘त्यस्तै बढीमा ३/३ वर्षमा वा म्याद सकिएपछि रेगुलेटर र पाइप फेर्नुपर्छ। ग्यास उद्योगहरूले पनि सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ।’ 

ग्यास दुर्घटना हुनुमा धेरै कारण रहेको मिश्रको भनाइ छ। धेरैजसो ग्यास लिक रेगुलेटर भल्बबाटै हुने गरेको उनले बताए। उपभोक्ताले गुणस्तरीय रेगुलेटर र पाइप सही रूपमा फिटिङ गर्नुपर्ने सुझाउँदै उनले भने, ‘पाइप, रेगुलेटर र चुलोमा फिटिङ भएन भने पनि ग्यास लिकेज हुन सक्छ।’  उनका अनुसार सिलिन्डरको माथिल्लो सतहको भित्री बारमा म्याद लेखिएको हुन्छ। म्याद हेरेर खरिद गर्न भन्दै महानिर्देशक मिश्रले मिति हेरेर मात्रै ग्यास खरिद गर्न सुझाव दिएका छन्। खरिद बाहेक घरमा प्रयोगका बेला पनि सावधानी अपनाउनुपर्ने उनले बताए। 

ग्यास विक्रेता महासंघका अध्यक्ष चन्द्र थापाले सामानको गुणस्तरमा पहिले ध्यान दिनुपर्ने बताए। आईएसओबाट मान्यता पाएको रेगुलेटर र तारले जेलिएको पाइप मात्रै प्रयोग गर्न उनले सबैलाई आह्वान गरेका छन्। उनले भने, ‘सिलिन्डरको भल्भबाट पनि ग्यास लिक हुने सम्भावना रहेकाले उपभोक्ताले भल्भ कुच्चिएको वा बांगिएको अवस्थामा भए तुरुन्त फिर्ता गर्ने गरिनुपर्छ। मुख्य कुरा उपभोक्ता आफैंले सजगता अपनाउनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.