कर्जा प्रवाह सुस्त

संघको तथ्यांकअनुसार माघसम्ममा ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
काठमाडौं : बैंकमा तरलतामा सहज भए पनि आक्रामक रूपमा कर्जा प्रवाह बढाउन सकेका छैनन्। वाणिज्य बैंकको लगानीयोग्य पुँजी क्षमता (तरलता) सहज छ। माघसम्ममा सञ्चालनमा रहेको २२ वाणिज्य बैंकको कर्जा निक्षेप (सीडी रेसियो) अनुपात औसत ८६.२४ प्रतिशत छ। सीडी रेसियो खुकुलो भएर कर्जा तरलता सहज भए पनि बैंकले कर्जा प्रवाह आक्रामक गर्न चाहेका छैनन्।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी भन्छन्, ‘अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) सहज भए पनि कर्जा प्रवाह आक्रामक रूपमा गर्न सकेका छैनन्।’ सीडी खुकुलो भए पनि कर्जा सोचेअनुसार दिन नसकेको उनको भनाइ छ। अध्यक्ष केसीका अनुसार कर्जामा बैंक आक्रामक रूपमा जान नसक्नुको कारण पर्ख र हेर स्थितिमा रहेकाले हो। ‘बजेट घाटाले बजारको तरलता घट्ने देखिन्छ। यद्यपि अहिले केही सहज भए पनि सजगता अपनाउनु परेको हो,’ उनले थपे।
संघको तथ्यांकअनुसार माघसम्ममा ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। ७ महिनाको अन्तरमा बैंकहरूले थप १ खर्ब १५ अर्ब रुपैयाँ लगानी बढाएका छन्। पुस र माघ महिनाको अन्तरमा ११ अर्ब ८२ करोड रुपैयाँले कर्जा लगानी वृद्धि गरेका छन्। पछिल्लो एक महिनाको अन्तरमा ११ वटा बैंकको कर्जा विस्तार घटेको छ। जसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह वृद्धि २ अर्ब ५८ करोड रुपैयाँले घटेर ९३ अर्ब १६ करोडमा सीमित भएको छ।
प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल एसबीआई, ग्लोबल आईएमई, कृषि विकास, नबिल, एभरेस्ट, सिटिजन्स, सानिमा र सिभिल बैंकको कर्जा प्रवाह घटेको छ। तर यसबाहेकका ११ बैंकको भने कर्जा प्रवाह राम्रै वृद्धि भएको छ। यद्यपि हालसम्म सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा ग्लोबल आईएमई बैंक देखिन्छ। संघको तथ्यांकअनुसार माघसम्ममा सो बैंकले ३ खर्ब ७८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।
क्रमशः नेपाल इन्भेस्टमेन्ट मेगाको ३ खर्ब २९ अर्ब, नबिलको ३ खर्ब २३ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन्। यसबाहेक ३ खर्बभन्दा कम २ खर्बमाथि कर्जा प्रवाह गर्नेमा कुमारी, एनआईसी एसिया, प्रभु र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।
दुई खर्बभन्दा कम एक खर्बमाथि एनएमबी, सिद्धार्थ, कृषि विकास, नेपाल बैंक, हिमालयन, एभरेस्ट, प्राइम, सानिमा, सिटिजन्स, लक्ष्मी, माछापुच्छ्रे, नेपाल एसबीआई र सनराइज बैंक रहेका छन्। सबैभन्दा कम कर्जा प्रवाह स्ट्यान्डर्ड चार्टर्डको ९३ अर्ब १६ करोड र सिभिल बैंकको ८७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। चालू आर्थिक वर्षको माघसम्ममा एक दर्जन वाणिज्य बैंकको निक्षेप संकलन घटेको छ। बाँकी १० वटा बैंकको निक्षेपमा सुधार भएको छ।
नेपाल बैंकर्स संघले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २२ वाणिज्य बैंकले एक महिनाको अन्तरमा २५ अर्ब ६ करोड रुपैयाँ निक्षेप वृद्धि भएको छ। उक्त दरले निक्षेप बढ्दा माघ मसान्तसम्म कुल निक्षेप ४७ खर्ब ४१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। पुस महिनामा कुल ४७ खर्ब १६ अर्ब ३ करोड रुपैयाँ पुगेको थियो।
१० बैंकको निक्षेप बढ्यो
पछिल्लो एक महिनामा एक दर्जन बैंकहरूको निक्षेप वृद्धि घटेको छ। बैंकको निक्षेप २३ करोडदेखि ६ अर्ब ४९ करोड रुपैयाँले घटेको छ। निक्षेप वृद्धि घटे पनि कुल निक्षेपमा बैंकको स्थिति कर्जा लगानी गर्ने क्षमतामै छन्। चालू आवको सात महिनासम्म सबैभन्दा बढी निक्षेप ग्लोबल आईएमई बैंकको छ। हालसम्म सो बैंकको निक्षेप ४ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। त्यसपछि बढी निक्षेप नबिल बैंकको ३ खर्ब ६० अर्ब ४५ करोड रुपैयाँ छ।
प्रतिक्रिया दिनुहोस !
