‘माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिन्छ’

‘माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिन्छ’

काठमाडौं : नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारको आश्वासन देखाएर भ्रम छरेको बताएको छ । कांग्रेस र एकीकृत समाजवादी निरन्तर संवादमा रहेको भन्दै ओलीले समग्र राजनीतिमै भ्रमको खेती गरेको कांग्रेसकै महामन्त्री गगन थापाले बताए । थापाले भने, ‘ओलीले सिर्जना गरेको भ्रम मात्र हो। यो माधव नेपालजीले राम्रोसँग बुझ्नुहुन्छ।’ 

थापाका अनुसार राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारलाई नै प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने बताएका छन्। ‘कांग्रेससँग माओवादीको राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने कुरा भइसकेको छ। एमालेको सम्भावना नै छैन। कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने हो। अब केपी ओलीले कसैलाई भनेर केही हुन्न। कोही पनि भ्रममा नपर्दा हुन्छ,’ महामन्त्री थापाले भने, ‘अहिले प्रचण्डजीको इच्छा कांग्रेससँग बस्ने मन छ। यसअघिकै पाँच दलीय गठबन्धन प्रचण्डजीले खोज्नुभएको छ। हामीसँग भेटको कुरामा पनि उहाँको पहिलेको पाँच दलीय गठबन्धनप्रति झुकाव बुझ्न सकिन्थ्यो।’ 

पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमतिमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। त्यतिबेलाकै समर्थनलाई निरन्तर दिनुपर्ने अडानमा एमाले छ। कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउँछ भन्ने छ। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच राष्ट्रपतिको विषय पेचिलो बन्न नसकिरहेको अवस्थामा कांग्रेसले प्रचण्डको साथ खोजेको छ। आइतबार साँझ मात्र कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए।

राष्ट्रपति कांग्रेसको उम्मेदवारलाई बनाए प्रचण्डलाई पाँच वर्ष सरकारको नेतृत्व गर्न दिने कांग्रेसको प्रस्तावपछि सोमबार प्रचण्डले पार्टी पदाधिकारी बैठकसमेत राखे। निर्णय गर्ने अधिकार उनले आफैं लिए। 

कांग्रेससँग माओवादीको राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने कुरा भइसकेको छ। एमालेको सम्भावना नै छैन। कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुने हो। 
गगन थापा, महामन्त्री, नेपलाी कांग्रेस

पछिल्लो भेटघाटले कांग्रेसले प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने प्रयास गरिरहेको पनि देखिन्छ। यहीबीच विपक्षी गठबन्धनमा रहेका समाजवादीका अध्यक्ष नेपाललाई ओलीले राष्ट्रपति दिएर पार्टी एकताको प्रस्ताव गरेको कुरासँगै कांग्रेस पुनः एकपटक झस्केको छ। कतै कम्युनिस्ट एकता हुने हो कि भन्ने चिसो पनि पसेको कांग्रेसकै शीर्ष नेता बताउँछन्। थापा भन्छन्, ‘सोमबार केपीजीले माधवजीलाई भेटे पछि कतै पुन : कम्युनिस्ट एकता पो हुने हो कि अथवा माधवजीलाई ओलीजीकै प्रस्तावमा राष्ट्रपतिको उम्मेदवारमा अगाडि सार्ने बित्तिकै कम्युनिस्ट एकता नहोला भन्न सकिन्न। यदि यस्तो भयो भने कांग्रेसको पक्षमा सहज वातावरण देखिन्न।’

कांग्रेस आफूले उठाएकै उम्मेदवार राष्ट्रपति हुनुपर्छ भन्ने पक्षमै रहेको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत बताउँछन्। उनी भन्छन्, ‘प्रचण्डजी सकारात्मक हुनुहुन्छ। अरू अब १,२ मा सिनारियो आइहाल्छ।’ अहिलेको सरकार राष्ट्रपतिको निर्वाचनले निर्धारण गर्ने बताउँदै भने, ‘अहिले हामी कसैले पनि केही भन्न सकिने अवस्था छैन। राष्ट्रपतिको उम्मेदवार अघि सारेसँगै सबै कुरा परिवर्तन हुन सक्छन्। अहिले कांग्रेस राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित छ।’

महतका अनुसार कांग्रेस अहिले सबै दलको समर्थन खोजेको छ। एमालेको समर्थन पनि कांग्रेसले उठाएको उम्मेदवारलाई होस् भन्ने कांग्रेसको धारणा छ। कांग्रेसका अर्का नेता विमलेन्द्र निधिले पनि कांग्रेसबाट व्यक्तिभन्दा पनि उम्मेदवार उठाउने कुरा पक्का भएको बताए। त्यसो त कांग्रेसभित्र गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको थियो। सोही आश्वासनअनुसार संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेका थिए। 

उम्मेदवारको आकांक्षीका रूपमा कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौला पनि छन्। जसले देउवालाई पार्टीको १३ र १४औं महाधिवेशनमा सहयोग गरेका व्यक्ति हुन्। कांग्रेस नेता डा. शेखर कोइरालाले मंगलबार सिन्धुपाल्चोक पुगेर राष्ट्रपतिमा ठूलो दलको नाताले पनि हामी उम्मेदवारी दिन कांग्रेस तयार रहेको बताए। २५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.