७२ वर्षमा २७ वर्षे जोस

७२ वर्षमा २७ वर्षे जोस
फाइल तस्बिर।

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली ७२ वर्ष टेकेका छन्। यो उमेरमा पनि राजनीतिक जोस २७ वर्षे युवाको झैं छ। स्वास्थ्य प्रतिकूलता झेलेर राजनीतिमा यसरी सक्रियता बढाउने नेता बिरलै छन्। ओलीले दुईपटक मिर्गौला प्रत्यारोपण गरे। पहिलो पटक २०६३ मा नयाँ दिल्लीको अपोलो अस्पताल र दोस्रो पटक २०७६ सालमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा। त्यसपछि उनले आफू ‘अझ युवा’ भएको बताउँदै आएका छन्। उनले भन्ने गरेका छन्, ‘तीनपटक त म मरेर बाँचेको हुँ।

ओली ‘जस्तोसुकै’ परिस्थिति सामना गर्न सक्ने क्षमता राख्छन्। संकटमा नआत्तिने र खुसीमा नमात्तिने बानी रहेको उनका निकटस्थ नेता÷कार्यकर्ता बताउँछन्। ती नेता÷कार्यकर्ताका अनुसार ओली राति २ बजे सुत्छन्। निदाउन बेर लाग्दैन। बिहान सबेरै उठ्छन्। जति बजे उठ्छु भन्ने हुन्छ त्यति नै बेला उठ्न सक्छन्। 

खुवाउने कुरामा भने गाह्रो छ। थोरै खान्छन्। सर्वसाधारणसँग सजिलै घुलमिल हुन्छन्। व्यक्तिको ‘स्तर’ उसका कुरा सुनेर थाहा पाउँछन् र त्यहीअनुसार व्यवहार गर्छन्। ओलीलाई अत्यन्त दूरदर्शी नेता मान्छन् उनका पुराना दौतरी मदन अधिकारी। ‘उहाँले को कस्तो भनेर पहिलो भेटमा नै थाहा पाउनुहुन्छ। यसरी नै उहाँले मान्छेको रिड गर्नुहुन्छ’, अधिकारी भन्छन्।

ओली पुस्तक पढ्न रुचि राख्छन्। एकपटक पढेपछि कण्ठस्थ हुने उनीनिकट बताउँछन्। ‘उहाँसँग अथाह ज्ञान छ’, अधिकारी भन्छन्, ‘कुनै पुस्तक पढेपछि त्यसमा उल्लेख भएका घटना र मिति कम्प्युटरको मेमोरीमा सेभ भएजस्तै उहाँको दिमागमा रहन्छ।’ उनी पछिल्लो समय सबैभन्दा सक्रिय नेताका रूपमा ओलीलाई लिन्छन्। 

ओली बाहिर हुने आलोचना भने मन पराउँदैनन्। कुनै विषयमा असहमति भए आफ्नो अगाडि राखे सहज मान्छन्। ठूलो कमजोरी भनेको आफ्नो सुरक्षाप्रति पटक्कै चिन्तित नहुनु रहेको अधिकारीको भनाइ छ। 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिँदै उनी दृढ इन्छाशक्ति भएको नेता भएको टिप्पणी गर्छन्। ‘उहाँको जुन दृढ इच्छाशक्ति छ, स्वास्थ्य प्रतिकूलताबीच पनि बलियो देखिन्छ’, महामन्त्री शर्मा भन्छन्। ओलीको जोस युवाजस्तै रहेको शर्मा बताउँछन्। ‘उहाँको जोस युवाजस्तै कठोर देखिन्छ’, उनी भन्छन्।

माओवादी केन्द्र नेता राम कार्की ओली प्रभावशाली र सक्रिय रहेको बताउँछन्। सामान्य परिवेशबाट आएर प्रधानमन्त्रीसम्म पुग्नुलाई ओलीको उपलब्धि ठान्छन् उनी। ‘सक्रिय हुनुहुन्छ। प्रभावशाली हुनुहुन्छ। ठूलो संख्यालाई उहाँले प्रभाव पार्नुभएको छ’, नेता कार्की भन्छन्, ‘सामान्य परिवेशबाट हुर्किएको मान्छे प्रधानमन्त्री हुनुभयो। यसलाई सफल नै भन्नुपर्छ।’ ओली जनतालाई खुसी पार्न सिपालु रहेको कार्की बताउँछन्। 

ओली सैद्धान्तिक नेता भने नभएको उनको ठम्याइ छ। ‘उहाँ पोलिटिसियन (राजनीतिज्ञ) हुनुभयो तर लिडर भने हुन सक्नुभएन’, कार्की भन्छन्, ‘पोलिटिसियनले मतदाताको कुरा गर्छ, लिडरले भविष्यका कुरा गर्छ’, उनी भन्छन्, ‘उहाँ मतदातालाई प्रभाव पार्न भने सिपालु हुनुहुन्छ।’

तीनपटक प्रधानमन्त्री 

ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए। पहिलो कार्यकाल निकै चुनौतीपूर्ण रह्यो। भारतले नाकाबन्दी लगाउँदा ओलीले जनताको साथ पाए। नौ महिनाको उक्त कार्यकाल भारतीय निर्भरता हटाएर चीनसँग सम्बन्ध विस्तारमा कोसेढुंगा नै सावित भयो। चीनसँग व्यापार तथा पारवहन सन्धिहरूमा हस्ताक्षर भयो। 

एमाले र माओवादी मिलेर २०७४ को संसदीय निर्वाचन लडे। चुनाव जितेर ओली दोस्रोपटक २०७४ फागुन ३ मा शक्तिशाली प्रधानमन्त्री बने। एमाले र माओवादीबीच एकता भई २०७५ जेठ ३ मा नेकपा बन्यो। तर, आन्तरिक विवादले एकता नै भंग भयो। ओलीले त्यस बेला रेल, पानीजहाजलगायतको सपना देखाएका थिए। तर, पार्टीभित्रकै खिचातानी र झगडाका कारण उनको समृद्ध नेपाल, सुखी नेपाली नारा सार्थक हुन सकेन। 

पार्टी एकता भंग भएपछि ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेनन्। त्यसपछि उनी तेस्रो पटक २०७८ वैशाख ३० गते संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री बने। त्यसपछि सर्वोच्च अदालतको असार २८ को परमादेशबाट ओलीको पद गुमेको थियो। त्यसको भोलि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। 

त्यसपछि नाकाबन्दीको सामना

संविधानसभाबाट २०७२ सालमा संविधान जारी गर्न ओलीको विशेष भूमिका रह्यो। सुशील कोइराला प्रधानमन्त्री भए पनि ओलीकै कारण संविधान छिटो आएको थियो। तत्कालीन भारतीय विदेशसचिव आएर प्रधानमन्त्री कोइरालालाई प्रभाव पार्न खोजेका थिए। तर, ओलीका कारण संविधान जारी भएको जानकार बताउँछन्। भारतको इच्छाविपरीत संविधान जारी गरेको भन्दै नेपालमा नाकाबन्दी लगाइएको थियो। ओलीले नाकाबन्दीको कडा सामना गर्नुपरेको थियो। 

ओलीकै कार्यकालमा नेपालको नयाँ नक्सा

ओलीको दोस्रो कार्यकालमा सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्‍यो। २०७७ जेठ ३१ मा प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा अनुमोदन गरियो। असार ४ मा राष्ट्रपतिबाट अनुमोदन गरियो। नाकाबन्दी र नक्साका कारण अहिले पनि ओलीसँग भारत रुष्ट नै छ।  

तेह्रथुमबाट झापा बसाइसराइ 

ओली २००८ साल फागुन ११ मा तेह्रथुमको इवा गाउँमा  बुबा मोहनप्रसाद र आमा मधुमायाको कोखबाट जन्मिएका हुन्। उनको परिवार २०२० सालमा झापा झर्‍यो। त्यसपछि ओली माक्सवादी अध्ययन दलमा संगठित भए। २०२५ सालमा  पूर्णकालीन राजनीतिक कार्यकर्ता बने। उनले २०२६ माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए। २०२७ जेठ ९ मा पूर्णकालीन नेताका रूपमा भूमिगत जीवन सुरु गरे। उनी २०२७ फागुन १६ मा पहिलो पटक गिरफ्तारीमा परे। २०२८ सालमा झापा आन्दोलन संगठन कमिटी प्रमुखमा चयन भए। झापा विद्रोहमा ओलीको सक्रिय सहभागिता रह्यो। नेपाली कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक मोड हो– झापा विद्रोह। उक्त विद्रोहमा संलग्न पाँच जना २०२९ फागुन २१ गते झापा–इलामको सिमानामा पर्ने सुखानी जंगलमा मारिएका थिए। जसमा थिए रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल। 

ओली झापा विद्रोहमा संलग्न भएको भन्दै २०३० सम्म १० पटक गिरफ्तार र रिहा भए। राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता झुठा मुद्दा लगाएर २०३० असोज २३ मा पुन: गिरफ्तार भए। चार वर्ष गोलघरसहित १४ वर्ष जेलमा बिताए। प्रजातन्त्र प्राप्ति र पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले २०२८ देखि २०४४ सम्म जेल जीवन बिताएका थिए। जेलबाट छुटेपछि ओलीले राधिका शाक्यसँग विवाह गरे। ओली तत्कालीन नेकपा (माले)का संस्थापकमध्ये एक थिए। 

उनी २०४८ सालमा झापा ६ बाट प्रतिनिधिसभा निर्वाचित भए। २०५१ सालको मध्यावधि निर्वाचनमा झापा २ बाट विजयी भए। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा गृहमन्त्री भए। झापा ६ बाटै २०५६ सालमा निर्वाचित भए। २०६२÷६३ को जनआन्दोलनबाट संसद् पुन:स्थापना भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा उपप्रधान तथा विदेशमन्त्री नियुक्त भए। उनी २०५६–२०५९ सम्म संसद्मा प्रमुख प्रतिपक्षी दलका उपनेता बनेका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा झापा ७ मा पराजित भए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा ७ मा उठेर जिते। २०७४ र २०७९ मा झापा ५ बाट निर्वाचित भए। 

२०६५ मा अध्यक्ष पदको प्रत्यासी भए। तत्कालीन अध्यक्ष झलनाथ खनालद्वारा पराजित भए। त्यो बेला विदेश विभाग प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा निर्वाचित भएका थिए। तत्कालीन पार्टी अध्यक्ष खनाललाई २०७० माघ २ पराजित गर्दै संसदीय दलका नेतामा निर्वाचित भए। २०७१ साउन १ नवौं राष्ट्रिय महाधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.