मन्त्री बन्न दौडधुप सुरु

मन्त्री बन्न दौडधुप सुरु
सुन्नुहोस्

कांग्रेस महामन्त्री गगन थापाले केन्द्रदेखि प्रदेशसम्मै ८ दलीय गठबन्धनको सरकार बन्ने बताए।

काठमाडौं : एमाले सत्ताबाट बाहिरिएसँगै कांग्रेसलगायतका दलमा मन्त्री बन्न नेताहरू दौडधुपमा लागेका छन्। ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयपछि एमाले सत्ताबाट बाहिरिएको हो। गृह मन्त्रालय नपाएको भन्दै यसअघि रास्वपा पनि सरकारबाट बाहिरिएको थियो। एमाले र स्वतन्त्र पार्टी बाहिरिएपछि प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराइसकेका छन्। राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ। 

कांग्रेस महामन्त्री गगन थापाले केन्द्रदेखि प्रदेशसम्मै ८ दलीय गठबन्धनको सरकार बन्ने बताए। ‘अब संघमा र प्रदेशमा हाम्रो गठबन्धनको सरकार हुन्छ,’ थापाले भने,‘स्थानीय तहमा पनि हाम्रो सरकार छ। तर, अब जनताले सरकार भएको महसुस गर्न पाउने अवस्था बनाउनुपर्छ। नत्र संख्या भए पनि जनताको साथ रहँदैन। जनताको साथ नपाएपछि सबै कुरा बिग्रने हो।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइन् । मन्त्री शर्माले भनिन्, ‘नयाँ गठबन्धन बनेको छ। सबैको राय र मनसाय बुझेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ। प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि लिनुहुन्छ।’

मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनपछि कुन–कुन पार्टी सरकारमा प्रवेश गर्ने भन्ने कुरा तय हुने स्पस्ट पारिन्। बालुवाटार बैठकमा सहभागी भएका कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपति चुनावमा भोट तान्न एमालेले खेल्न सक्ने भएकाले पहिला मन्त्रिपरिषद्लाई पूर्णता दिने कि भन्नेतर्फ पनि छलफल सुरु भएको छ। अहिले नै सरकार गठन गर्दा ८ दल मध्येका साना दललाई अविश्वासको ठाउँ हुँदैन कि भन्ने हो। ठूला दलको हकमा समस्या छैन। राष्ट्रपति चुनावमा एमालेले खेल्न सक्छ कि भन्ने हो सरकारमा गएपछि उसले खेल्ने ठाउँ हुँदैन।’ 

त्यस्तै, चैत ३ मा उपराष्ट्रपति चुनाव हुनेछ भने चैत १२ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। बालुवाटार स्रोतका अनुसार केही मन्त्री अहिले नियुक्ति गरेर पूर्ण मन्त्रिपरिषद् भने चैत्र १२ पछि नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको तयारी छ। मन्त्रालयको हकमा भने यसअघि एमालेले लिएका मन्त्रालय कांग्रेसले लिने करिब सहमति भइसकेको छ। कांग्रेसबाट महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, नेता प्रकाशमान सिंह, एनपी साउद, प्रदीप पौडेल, नेतृ डा. आरजु देउवा राणा, रामहरि खतिवडा, सीता गुरुङलगायत मन्त्री बन्ने चर्चामा छन्। 

प्रवक्ता महतले कांग्रेस सरकारमा सहभागी हुन तयार रहेको बताए। उनले भने, ‘कांग्रेस सम्मानजनक ढंगले सरकारमा जान्छ। यद्यपि, अब गठबन्धन र पार्टीको बैठकमा पनि छलफल हुन्छ।’ 

त्यसो त अहिले प्रधानमन्त्रीसँग रहेको गृह मन्त्रालय माओवादीले राखेर अर्थ मन्त्रालय कांग्रेसले लिने समझदारी भइसकेको बताइन्छ। जसपा र नेकपा एसले तीन–तीनवटा मन्त्रालय दाबी गरेका छन्। जसपाले यसअघिको एमालेसहितको गठबन्धनमा २ मन्त्रालयको मात्र प्रस्ताव आएको कारण सरकारमा गएको थिएन। अहिलेको ८ दलको गठबन्धनमा जसपालाई ३ मन्त्रालय दिने करिब सहमति भएको जसपाकै एक नेताले बताए। अहिले प्रतिनिधिसभामा जसपाको १२ र नेकपा एसको १० सिट छ। माओवादीले थप १ मन्त्रालय पाउने सम्भावना छ। 

लोसपाले २ वटा मन्त्रालय मागेको भएता पनि एउटा मन्त्रालय उसले पाउने भएको छ। अर्को राज्यमन्त्री लोसपालाई दिने तयारी छ। त्यस्तै, नागरिक उन्मुक्ति पनि एक मन्त्रीसहित सरकारमा जाने तय भएको छ। राष्ट्रिय जनमोर्चाले भने सरकारमा जाने वा नजाने निर्णय गरेको छैन। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.