विश्वको ध्यान आकृष्ट गर्न मोक्षधाममा पृथ्वी यन्त्र

विश्वको ध्यान आकृष्ट गर्न मोक्षधाममा पृथ्वी यन्त्र

आदित्य मोक्षधाम रहेको झन्डै २७ रोपनी क्षेत्रफलमा भइरहेको यस आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा तन्त्र, मन्त्र र यन्त्रबाट योग, ध्यान र साधना भइरहेको छ।

काठमाडौं : कोही ऋग्वेद त कोही यजुर्वेद, कोही सामवेद त कोही अथर्ववेद वाचन गरिरहेका छन्। एकातिर १०८ कुण्डमा हवन भइरहेको छ भने अर्कोतिर १००८ शिवलिंग राखेर पूजाआजा, जपध्यान भइरहेको छ। सोही पुण्यभूमिमा १८ पुराणमध्ये ११ पुराण यसअघि वाचन गरिसकिएको अहिले ७ पुराण वाचन भइरहेको छ। कोही यस महाअनुष्ठानको साधनामा तल्लीन छन् त कोही सेवामा। आदित्य मोक्षधाम रहेको झन्डै २७ रोपनी क्षेत्रफलमा भइरहेको यस आदित्य जनकल्याण महायज्ञ महाअनुष्ठानमा तन्त्र, मन्त्र र यन्त्रबाट योग, ध्यान र साधना भइरहेको छ।

तीन दिनसम्म चल्ने यस महाअनुष्ठानमा तीन प्रकारका यज्ञशाला बनेका छन्। एउटा ८७ को संख्यामा त्रिकोणीय हवन कुण्ड, १२ को संख्यामा अर्कोतिर जलमा डुबेर गर्नुपर्ने हवन जलध्यान र तेस्रो, चिताकर्मको बीचमा आठवटा कुण्डमा हवन भइरहेको छ। सप्तशशि चण्डी, श्रीदेवी भागवत् पुराण वाचन भइरहेको छ। आदित्यले हिन्दी, अंग्रेजी, संस्कृत र नेपाली चार भाषाको गहिरो ज्ञान र प्रयोग गर्नुभएको छ। आदित्य भन्नुहुन्छ, ‘म हाँस्छु, वश तिम्रा लागि। म रुन्छु मेरा लागि किनकि तिम्रा हरकष्ट पिउँदा पिउँदै जिउनै भुलें।’

काठमाडौं कोटेश्वरबाट करिब ३१ किलोमिटर अर्थात् पनौती बसपार्कबाट करिब पाँच किलोमिटरको दूरीमा पर्छ, निर्माणाधीन आदित्य मोक्षधाम। काभ्रे पनौती नगरपालिकाको वडा नम्बर २ र १२ को संगमस्थल दारिमबोट, चिण्डुमा बिहीबारदेखि शनिबारसम्म विश्वकै नमुना आध्यात्मिक तीर्थस्थल बनाउन यो महाअनुष्ठान भइरहेको हो। आदिचन्द्र योगी (बालयोगी आदित्य) को परिकल्पनामा ‘आदित्य मोक्षधाम’ निर्माणका लागि महाअनुष्ठान भइरहेको हो। चारैतिर हरियाली जंगल छ। बीचमा शंख आकारको जग्गा छ। अग्लो पारिलो उक्त पहाडी क्षेत्रको केन्द्रमा ‘आदि’ नामक स्तम्भ छ। उक्त स्थानमा एक सयभन्दा बढी स्मारक बन्नेछन्। विश्वकै आध्यात्मिक जिज्ञासुका लागि गन्तव्य बन्दैछ। ध्यान र साधनाका लागि बाटिकाहरू निर्माण गरिनेछन्।

ऋगलाई स्थिति, यजुलाई रूपान्तरण, सामलाई गतिशील र अथर्वलाई जडका रूपमा लिइएको छ। चार वेदलाई क्रमशः धर्म, मोक्ष, काम र अर्थका रूपमा पनि लिइन्छ। महाअनुष्ठानमा वाचित यी वेदबाट यही कामना गरिएको छ। संस्कृतिविद्का अनुसार चार वेदबाट क्रमशः धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको मानिन्छ। ‘विशाल अर्थ र उद्देश्यका साथ चार वेदलाई तीन दिनसम्म लगातार वाचन गराउनु चानचुने कार्य होइन’, ललितपुर चापागाउँबाट महाअनुष्ठानमा पुगेकी ७२ वर्षीया रीता चौलागाईंले भनिन्, ‘सातवटा पुराण पनि सँगसँगै वाचन भइरहेका छन्। खाल्डोभित्र पलेँटी कसेर कम्मर डुबाएर साधना गर्नेहरूको शत्प्रयास झनै विचित्र लाग्यो।’ उनका अनुसार, जीवनको ६ दशकमा थुप्रै अनुष्ठान, यज्ञ, सप्ताहमा पुगे पनि यतिको पृथक् पहिलोपटक अनुभूति भएको छ।

योगी आदित्यले १८ वटा यस्तै विशेष यज्ञ/अनुष्ठानहरू गर्दैछन्, विश्वकल्याण, लोककल्याण र मानवकल्याणका लागि। त्यही शृंखलाको यो छैटौं यज्ञ भएको आयोजकको भनाइ छ। आयोजकका अनुसार, आदित्यले हरेक यज्ञमा अलगअलग विधि प्रयोग गर्ने गर्छन्। यो यज्ञमा पनि हरेक दिन र हरेक प्रहर अलग विधि प्रयोग गरिरहेका छन्, जुन हामीले अन्त कतै सुनेकै छैनौं। धेरैजसो मन्त्र पनि स्वयंद्वारा रचिएका नै प्रयोगमा ल्याइएको छ। जस्तो धरती मन्त्र आदि।

‘यस ठाउँमा पृथ्वी यन्त्र स्थापना गर्ने कार्यक्रम छ। योगी आदित्यले आफैं नौवटा ऊर्जालाई उक्त यन्त्रमा स्थापित गरेर दुर्लभ धातुहरूद्वारा र विधिले निर्माण गरेर शक्ति प्रतिष्ठित बनाउने काम हुनेछ। पृथ्वीयन्त्रमुनि २७ देशको माटो र पानीलाई राखिएको छ’, फाउन्डेसनका प्रवक्ता डा. राजु अधिकारीले अन्नपूर्णसँग भने, ‘क्रमशः अन्य देशको माटो र पानी पनि राख्ने कार्यक्रम छ। आदित्यले भन्नुभएको छ कि १००८ मेरा यो महाअनुष्ठानका अतिविशिष्ट सूक्ष्म पाहुना हुनेछन्। जसलाई प्रतीकको रूपमा १००८ शिवलिंगका रूपमा राखिएको छ।’ शतप्रतिशत मन्त्र, कार्य, विधि, दायित्व र स्वयंसेवा योगी आदित्यले गरिरहेको उनी बताउँछन्। उनका अनुसार, ७२ घण्टा अखण्ड रूपमा चलिरहेको यो यज्ञ न भूतो न भविष्य जुन आजसम्म देखेसुनेको विधि यहाँ प्रयोग भएकै छैन।

योगी आदित्यका दुई कुरा अकाट्य छन्, लेखेको वाणी र दिएको समय। १२ वर्षीय योगी आदित्यले पृथ्वी यन्त्र स्थापित गरिसकेको हुनाले सबैतिर विखण्डित भएको आध्यात्मिक ऊर्जालाई नेपालतिर खिच्ने र विगतमा देशमा भएको अध्यात्म फर्काएर नेपालमै विश्वको आध्यात्मिक केन्द्र बनाउने सोच र योजनाअनुरूप यो काम भएको आदित्य मोक्षधामका संयोजक क्याप्टेन रामेश्वर थापाको भनाइ छ। विश्वमा घटेका कुनै पनि घटना योगी आदित्यलाई थाहा हुन्छ। 

क्याप्टेन थापाले भने, ‘जगत् कल्याणका लागि आध्यात्मिक क्षेत्रबाट योगदान गर्न ओम आदि फाउन्डेसनका तर्फबाट योगी आदित्यले आदित्य मोक्षधामको परिकल्पना गरी साकार पार्न काम थालिएको हो।’ ओम आदि फाउन्डेसनका सदस्यसमेत रहेका क्याप्टेन थापाले तीन दिनसम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन गरिने जानकारी दिए। ‘पृथ्वी यन्त्रमात्र होइन, नवरत्न नागमणि र महाकाली स्थापना गरिनेछ भने मकार यन्त्र प्रतिस्थापन हुनेछ’, उनले भने। चित्त अग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने उनको भनाइ छ।

‘आदि स्तम्भ करिब १० करोड रुपैयाँ खर्चिएर बनाउन लागिएको हो। सयभन्दा बढी संरचना यस धाममा बन्नेछन्’, आदित्य मोक्षधाम परियोजनाका निर्देशक राजकुमार सापकोटाले भने, ‘क्रिस्टलका दुई नाग बन्दैछन् जो तलाउबाट सुरु गरी आदि स्तम्भको टुप्पोमा पुग्दा १० वटा टाउका हुनेछन्। यहाँ प्रयोग हुने मार्बल भारतको ताजमहलमा प्रयोग गरिएको मकराना हुनेछ।’ १० करोड रुपैयाँ कसैबाट दान वा चन्दा नलिई गुरु शिष्य परिवारबाटै जुटाइने उनको भनाइ छ। दुई सय रोपनी क्षेत्रफलमा बन्ने यो मोक्षधाम विश्वकै गन्तव्य बन्ने आयोजकको दाबी छ।

आयोजकका अनुसार, नेपाललाई अध्यात्ममार्फत विश्वमा चिनाउने लक्ष्य हो। यसलाई विश्वको आठौं आश्चार्य बनाउँछु भनेर लाग्नुभएको छ। निर्माण समयको किटान गर्न नसकिए पनि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको परियोजना निर्देशक सापकोटाको भनाइ छ। मकराना मार्बल प्रयोग गरी बनाइने स्तम्भ ३६ फिट अग्लो हुनेछ जसमा ३६ फूलपत्र हुनेछन्। स्तम्भ शिवलिंगको स्वरूपमा बन्नेछ। जसमा पाइपको फोहोरा हुनेछ। दुई सय रोपनी उक्त जग्गामा पुग्ने सडक, खानेपानी, बिजुली पु¥याइनेछ भने मोक्षधाममा पोखरी, बाटिका, योग, ध्यान र साधनाका लागि शिविर आदि संरचना पनि बनाइनेछ।

काठमाडौं अनामनगरबाट आएका श्रीकृष्ण प्रसाईंले नागको बास भएकाले मोक्षधाम बनाउने स्थान नै पवित्र भएको पाएको जानकारी दिए। ‘पवित्र ठाउँमा दुई सय रोपनी जग्गा जुट्नु नै ठूूलो कार्य हो। यत्रो यज्ञको शुभकार्य गरेर विशाल मन्दिरहरू बनाउने योजना रहेछ’, नेपाल सरकारका पूर्वकर्मचारी उनले भने, ‘यहाँ बन्न लागेका सबै कुरा सुन्दा मात्रै पनि अद्भुत नै लागेको छ।’ उनलाई योगी आदित्यका अग्नि समाधि, जल समाधि आदि अद्भुत लाग्छन्। १२ वर्षे योगी आदित्यले कुनै औपचारिक विद्यालय नगएको र ध्यानबाटै यत्रो शक्ति प्राप्त गरेको यथार्थ उनलाई अचम्म लागेको विषय हो। ‘कुनै मान्छेलाई देख्नासाथ योगी आदित्यले नाम र अन्य कुरा भनिदिनु हुन्छ। यहाँमात्र नभएर विदेशमा रहेकाको टेलिफोन नम्बर पनि दिनुहुन्छ। सम्पर्क गर्दा त्यही मान्छे हुन्छ। मलाई त चमत्कार नै लाग्छ’, प्रसाईंले भने।

अन्य देशमा समुद्रमा महल बनाए पनि नेपालमा आध्यात्मिक धाम बनाएर विश्वमा उदाहरणीय बन्ने आयोजकको भनाइ छ। मोक्षधाम योगी आदित्यले ऋषिभूमि र यज्ञभूमि नेपाललाई मोक्षधाममार्फत् विश्वभर चिनाउन अलौकिक गन्तव्य बनाइने बताएका छन्। स्थानीयवासी पनौती क्षेत्र समग्रमा धार्मिक क्षेत्रले भरिपूर्ण भएको बताउँछन्। फाउन्डेसनका अध्यक्ष डा. उपेन्द्र महतोले पनौतीमा निर्माण हुने मोक्षधाम विश्वमै नमुना हुने बताएका छन्। उनले थपे, ‘अध्यात्मले सबैलाई जोड्छ। नेपाल अध्यात्मको खानी हो त्यसैले यसकै माध्यमबाट नेपालले विश्वलाई जोड्ने छ।’

कसैलाई १०८ मध्ये कुनै कुण्डमा हवन गर्न मन लागे पाउने व्यवस्था छ। महाअनुष्ठानमा पुगेपछिको माहोलले स्वतः सेवा गर्ने भाव जगाउँछ। भक्तपुर बोडेबाट मोक्षधाम पुगेका रामकृष्ण कोइरालाले भने, ‘धार्मिक यस्ता यज्ञ होमादि धेरैमा पुगें तर यो मोक्षधाममा बिहीबारदेखि भइरहेको तीनदिने महाअनुष्ठान साँच्चै अद्भुत लाग्यो। यहाँ आउनासाथ हवनमा बसूँ बसूँ लाग्ने, आवश्यक पर्ने सबै खालका सेवा पनि गरुँ गरुँ लाग्ने भयो।’ उनीसँगै पुगेका नुवाकोट विदुरका श्याम केसीले चार दिशामा चारवटा वेद पारायणले कस्तो गजबको ऊर्जा प्रदान गरेको पाएको भन्दै खुसी व्यक्त गरे। उनले भने, ‘खासमा यसरी नै नेपालका हरेक क्षेत्रमा धर्म, संस्कृति र अध्यात्मका केन्द्र बनाउने र सोहीअनुसार संरचना बनाएर सञ्चालन गर्ने हो भने विश्वको ध्यान नेपालमा अवश्य पर्नेछ।’

जगत् कल्याणका लागि आध्यात्मिक क्षेत्रबाट योगदान गर्न ओम आदि फाउन्डेसनका तर्फबाट योगी आदित्यले आदित्य मोक्षधामको परिकल्पना गरी साकार पार्न काम थाल्नुभएको हो। दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन गरिने छ। पृथ्वी यन्त्रमात्र होइन, नवरत्न नागमणि र महाकाली स्थापना गरिनेछ भने मकार यन्त्र प्रतिस्थापन हुनेछ ।
क्याप्टेन रामेश्वर थापा, सदस्य–सचिव, ओम आदि फाउन्डेसन

आदि स्तम्भ करिब १० करोड रुपैयाँ खर्चिएर बनाउन लागिएको हो। सयभन्दा बढी संरचना यस धाममा बन्नेछन् । क्रिस्टलका दुई नाग बन्दैछन् जो तलाउबाट सुरु गरी आदि स्तम्भको टुप्पोमा पुग्दा १० वटा टाउका हुनेछन्। यहाँ प्रयोग हुने मार्बल भारतको ताजमहलमा प्रयोग गरिएको मकराना हुनेछ।
राजकुमार सापकोटा, निर्देशक, आदित्य मोक्षधाम परियोजना

पनौतीको दारिमबोटमा पृथ्वी यन्त्र स्थापना गर्ने कार्यक्रम छ। योगी आदित्यले आफैं नौवटा ऊर्जालाई उक्त यन्त्रमा स्थापित गरेर दुर्लभ धातुहरूद्वारा र विधिले निर्माण गरेर शक्ति प्रतिष्ठित बनाउने काम हुनेछ। पृथ्वीयन्त्रमुनि २७ देशको माटो 
र पानीलाई राखिएको छ ।
डा. राजु अधिकारी, प्रवक्ता, ओम आदि फाउन्डेसन


महाअनुष्ठानमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओली

पनौती नगरपालिका–२ स्थित आदित्य मोक्षधाममा जारी महाअनुष्ठानको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्।  प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसो महाअनुष्ठानमा सहभागी भई बालगुरु आदित्यलाई भेटेका थिए।null

यस्तै शुक्रबार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आदित्य मोक्षधाम पुगेका हुन्। उनले मोक्षधामको अवलोकन गरे। अध्यक्ष ओलीले बालगुरु आदित्यलाई भेटेर फर्केका थिए।null

स्थानीय सीता थापाले भनिन्, ‘मोक्षधाममा यसरी देशका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसमेत आएर हौसला बढाइदिनु भयो। सबै नेपालीको ध्यान अब यसमा हुनेछ।’ उनले कारणवश महाअनुष्ठानमा आउन नपाउनेहरूले यसपछि जुनसुकै बेला पनि आएर अवलोकन गर्न सक्ने जानकारी दिइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.