मधेस होली : फरक दिन, शैली र मान्यतामा रंगको पर्व

मधेस होली : फरक दिन, शैली र मान्यतामा रंगको पर्व
सुन्नुहोस्

जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा मनाइने होली देशको अन्यत्र भाग भन्दा विल्कुल फरक हुन्छ। फागु पूर्णिमाका रूपमा समेत बुझिने होली नेपाल र भारतको भूभाग समेटिएको मिथिला बृहत् परिक्रमा क्षेत्रमा पूर्णिमाका दिन पर्दैन। त्यसको भोलिपल्ट पर्छ।

पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित गरिएको हुन्छ। दोस्रो पूर्णिमाको दिन १५ दिने परिक्रमाको समापन दिन हो र मिथिलावासीहरू परिक्रमाले थकित भएका हुन्छन्। त्यसैले पूर्णिमाको दिन परिक्रमा घुमेर त्यसको भोलिपल्ट मात्र होली खेल्ने गर्दछन्। 

यो मदनोत्सव हो। अनि यसमा मानिसहरू मदमस्त हुन्छन्। वसन्त पञ्चमीको दिनदेखि डम्फु, झयाल, ढोलकका साथ होलीका गीत गाउने होलैताहरू तयार हुन्छन्। यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ।

पूर्णिमाको राति होलीका गीतहरू (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ। फागुका दिन रंग अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।

पहिले पहिले गाउँघरमा दूध र मसला मिश्रित भाङ तयार हुन्थ्यो। जसलाई शिवशंकरको प्रसाद पनि भनिन्थयो। जसले मात चढ्थ्यो। अर्थात मानिस भाङ खाएर मतवाला हुन्थे। 

होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे। होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी बिदा गरिन्थ्यो। भाङलाई अहिले मदिरा, मद्य, मांसले विस्थापित गरेको छ।

तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रंग चढाएर र आफ्ना परिवारका सदस्यसँग रंग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ।

रंग, अबिर र धुलो

होली रंग अबिरको पर्व हो। फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ। होलीमा रंग र अबिरसँगै धुलो पनि उडाइन्छ। प्राध्यापक परमेश्वर कापडीले भन्छन्, ‘रंग अबिरको खेलसँगै धुरखेल (धुलो उडाउने खेल) पनि मिथिलामा हुन्छ।’

विसंगतिहरूलाई उडाउँदै नयाँ वर्षको सुखद शुभारम्भ होलीको दिनबाट हुन्छ। होलीले समाजमा आपसी रिस, द्वेष र वैमनस्यताहरूलाई बिर्साएर सद्भाव र मेलमिलापका साथ अगाडि बढाउने मान्यता छ। होली प्रारम्भ भएदेखि गाइने गीत र होली सकिएपछि गाइने गीतमा धेरै भिन्नता देखिन्छ।

डा. रेवतीरमण लालले होलीमा होलिका दहनको कुनै प्रसंग नरहेको बताउँछन्। उनले भने, ‘होलिका दहनको खुशियाली मनाउन होली खेलिएको होइन्। होलीमा होलिकारूपि विकृतीको दहन गरिने भनिए पनि यो कहिले देखि फागुमा जोडियो, त्यसको यकिन छैन।’

लोक संस्कृतिमा जानकार प्राध्यापक तथा पत्रकार श्यामसुन्दर शशीले मिथिलाञ्चलका होलीका प्रचलनको वर्णन गरेका छन्। ‘मिथिलाञ्चलमा एउटा चलन छ। प्रत्येक गाउँमा एउटा ब्रह्मस्थान हुन्छ। होलीको गीत त्यहाँबाट सुरु हुन्छ, र त्यसपछि गवैयाहरू सबैका घर घरमा जान्छन्। त्यसरी जाँदा गाउँलेहरूले उनीहरूलाई खानेकुरा वा केही उपहार दिन्छन्।’ 

गीतहरू डम्फा र ढोलक बजाएर गाइने शशी बताउँछन्, तर हाल भने यो प्रचलनलाई आधुनिक मनोरञ्जनले विस्थापित गरिरहेको छ। 

‘जनकपुर लगायतका शहरको होली विकृत भइसकेको छ। त्यहाँ डिजे लगाएर भोजपुरी वा हिन्दी गाना गाउने चलन बढिरहेको  छ, उनी भन्छन्। ‘असली होली गाउँमा हुन्छ। ब्राह्मण जस्ता शास्त्रीय जातहरूमा होलीका गीत खासै गाइँदैन। गाउँमा बस्ने कथित तल्लो जातमा होलीको असली रौनक हुन्छ। नगर पितालाई वन्दना गरेर गायन सुरु हुन्छ। बाटो हिँड्ने बेलामा बटगमनि हुन्छ। नामले नै बताउँछ त्यसको प्रकृतिः बटगमनी। त्यसपछि प्रेम प्रसंगका गीतहरू हुन्छन्, कुनै मिलनका त कुनै विरहका।

अन्त्यसम्म जाँदा निर्गुण गाउने चलन छ। निर्गुण भनेको शरीरलाई नश्वर र आत्मालाई सत्य मान्ने गीतको विधा हो। त्यसको अर्थ बेग्लै हुन्छ। म मरेर जाँदै छु, शरीर छोडेर आफ्नो कर्म मात्रै लिएर जाँदै छु भन्ने किसिमका गीत पाइन्छन्। 

तर तराईको फागु गीतमा प्रमुख भनेको जोगिरा गीत मानिन्छ। ‘जोगिरा भनेको एउटा विशेष ताल नै हुन्छ। यसमा रामायणका विषयमा वा समसामयिक विषयमा प्रश्नोत्तर गरिन्छ र जोगिरा सररर भनेर गाइन्छ। यसमा राजनीतिक विषयवस्तु पनि हुन्छन्। नेताहरूलाई तथानाम गाली गरेर गीत बनेका छन्,’ शशी भन्छन्।

जनकपुरमा यस्ता गीतहरूको प्रवर्द्धन गर्न लागि बर्सेनि होली गीत प्रतियोगिताहरूको आयोजना हुनेगर्छ। जसमा गाउँ गाउँमा रैथाने टोलीहरूले भाग लिने गर्दछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.