लक्ष्मिनियाँमा ताला लगाउने र तोड्ने काम निरन्तरता, आर्थिक चलखेलको आरोप
अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोप छ।
जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको कार्यालयमा लगाइएको ताला फोडेर कार्यालयका सामग्रीहरु हिनामिना गरिएको छ। गत फागुन १४ गते प्रमुख प्रशासकिय अधिकृत र लेखाशाखाको कर्मचारीको कार्यकक्षमा वडाध्यक्षहरुले लगाएको ताला फोडेर कार्यालयका महत्वपूर्ण सामानहरु हिनामिना गरिएको आरोप लगाएको हो।
वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादवले प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले ताला फोडेर सामानहरु हिनामिना गरेको बताए। उनले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत यादवले बिना कुनै जनप्रतिनिधिको रोहबरमा ताला फोडेर कार्यालयका सामानहरु हिनामिना गरेको आरोप लगाएका हुन्।
आफूहरुले तालाबन्दी गरेको दुई दिनपश्चात गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले सम्पूर्ण जनप्रतिनिधिलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म कुनै समन्वय नगरेको उनले बताए। तालाबन्दी गरेको १५ दिन बितेपनि सहमतिमा नआई आइतबार प्रमुख प्रशासकीय अधिकृत यादवले स्थानीय प्रशासनको रोहबरमा आफूहरुलाई कुनै जानकारी नै नदिई उल्टै ताला फोडेको वडाध्यक्ष यादवको गुनासो छ।
उनले गाउँपालिका अध्यक्ष मिश्र र प्रमुख प्रशासकीय अधिकृत यादवले सहमतिको वातावरण निर्माण नगरी उल्टै ताला फोडेर हैकमबादी प्रवृति देखाएको आरोपसमेत लगाए। वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहलगायतकाहरुले आइतबार प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र लेखाशाखामा पुनः तालाबन्दी गरेका छन्। यता, प्रमुख प्रशासकीय अधिकृतले आफूले ताला नफोडेको दाबी गरेका छन्।
वडाध्यक्ष दिलिप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकिय अधिकृत यादव र फाँटका कर्मचारीहरु कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरु काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरुले तालाबन्दी गरेको बताए। उनले भने, ‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम ? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन्। जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौं। समस्या समाधान नभए भोलिको दिनमा हामी थप सशक्त आन्दोलन गछौं।’
उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोप छ।
वडाध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिएपनि नतिजा प्रकाशन थर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाए। वडाध्यक्ष यादवले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सबिर महतोलाई गाउँपालिका अध्यक्ष मिश्रले हाजिरसमेत हुन नदिएको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस !