विराट राजा प्राचीन दरबार संग्रहालय महानगरलाई हस्तान्तरण

विराट राजा प्राचीन दरबार संग्रहालय महानगरलाई हस्तान्तरण
विराट राजा प्राचीन दरबार संग्रहालय महानगरपालिकालाई हस्तान्तरण
सुन्नुहोस्

विराटनगर : विराट राजा प्राचीन दरबार संग्रहालय महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाले मोरङको विराटनगर–१८  भेडियारीमा निर्माण गरेको संग्रहालय महानगरपालिका तथा राजा विराट प्राचिन दरबार खोज तथा संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो। 

नेपाली सेनाले आइतबार संग्रहालय भवन हस्तान्तरण गरेको हो। संग्रहालय नेपाली सेनाको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गतको बजेटबाट निर्माण गरिएको हो। कूल १९ लाख ७५ हजार ६६३ रुपैयाँको लागतमा संग्रहालयको निर्माण कार्य सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार भवनको निर्माण कार्य २०७९ कात्तिक २१ गतेबाट सुरु भएको थियो।

निर्माण सम्पन्न भएको संग्रहालयमा हाल विराट राजाको दरबारको पुरातात्विक महत्वका भग्नाबशेषहरु सुरक्षित राखिएका छन्। उत्खनन्को क्रममा फेला परेका २४ सय वर्ष पुरानो मन्दिरको अवशेष पनि संग्रहालयमा अवलोकनका निम्त्ति राखिएको छ। उत्खननको क्रममा फेला परेर हाल संग्रहालयमा राखिएका मन्दिरका अवशेषहरु इशापूर्व दोस्रो शताब्दीको रहेको बताइएको छ।

भेडियारीमा भएका ऐतिहासिक सम्पदाको संरक्षण, सम्वद्र्धन र जगेर्णामा नवनिर्मित संग्रहालयले महत्वपूर्ण भुमिका खेल्ने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए। विराटनगरलाई धार्मिक र सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संग्रहालयले विशेष सहयोग पुर्‍याउने उनले जानकारी दिए। ‘यस क्षेत्रको विकासमा महानगरको पनि बिशेष चासो छ,’ उनले भने, ‘विराट राजा दरबार क्षेत्रको संरक्षण र घेरबारका लागि हामीले यसपटक १ करोड बजेट विनियोजन गरेका छौं।’null

वि.सं. २०२७ सालमा नेपाल सरकारको पुरातत्व विभागले यस क्षेत्रमा उत्खनन्को कार्य गरेको थियो। उत्खनन्का क्रममा  विभागले ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटेको थियो। उक्त मुद्रालाई ईशापूर्व कालको अवशेष मानिएको थियो। त्यसबेला भेटिएका ती चाँदीका मुद्राहरु हाल नेपाल सरकारको राष्ट्रिय संग्रहालयमा सुरक्षित छन्। साबिकको बुधनगर गाउँपालिका र हाल विराटनगर–१८ को यसक्षेत्रमा यसअघि पनि कयौंपटक पुरातात्विक महत्वका समाग्रीहरु फेला परेको विराट राजा खोज तथा संरक्षण समितिका अध्यक्ष कमल किशोर यादवले बताए। फेलापरेका कतिपय सामाग्री राष्ट्रिय संग्रहालय र केही सामाग्रीहरु हाल नवनिर्मित संग्रहालयमा सुरक्षित राखिएको उनले जानकारी दिए।

विराट राजाको दरबार रहेको क्षेत्रलाई महानगरले लुम्बिनी मोडेलमा लाने परिकल्पना गरेको बताईएको छ। महाभारतकालीन सम्पदाको संरक्षणका निम्त्ति बिशिष्टिकृत योजनाका साथ महानगरपालिका अघि बढ्ने तयारीमा छ । भारतको पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशसम्मका पर्यटकहरु आकर्षण गर्न विराटनगरलाई महानगरले सिस्टर सिटीको रुपमा विकास गर्ने योजना अघि सारेको छ। भेडियारीस्थित विराट राजाको दरबारका नाममा नेपाल सरकारसँग हाल कुल ८ विगाहा ३ कठ्ठा १७ धुर जग्गा छ। यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन पनि विराटनगर महानगरपालिकाले विगत लामो समयदेखि कसरत गर्दै आएको छ।

विराटनगर–१८ स्थित भेडियारीमा विराट राजाको दरबार रहेको र पाण्डवहरु वनबासपछि १ वर्षसम्म सो दरबारमा गुप्तबास बसेको विश्वास गरिन्छ। त्यसबेलाको ३०/४० कोठाको दरबार र मन्दिर अझैपनि जमिनमुनि रहेको प्राचीन कथन छ। विभिन्न धार्मिक ग्रन्थहरुमा समेत यसबारे वर्णन गरिएको छ। प्रचलित किवदन्ती अनुसार विराट राजाको दरबार रहेको उक्त क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी अर्थात् गुप्तचर पठाएका थिए। जसको आधारमा यस क्षेत्रको नाम भेडियारी रहन गएको हो।

विराट राजाको दरबार रहेको जनविश्वास गरिँदै आएको यसक्षेत्रको आसपासमा अहिले पनि धरवा, किच्चकबध, भन्सिया, थरथोवा, गुहिया, दिघरी र बहरवा गरि आधा दर्जनभन्दा बढी पोखरीहरू छन्। जसलाई परापुर्वकालमा राजा विराटले विभिन्न प्रयोजनका लागी बनाएको बताइन्छ। स्थानीयका अनुसार महाभारतकालमा भेडियारी राजा विराटको राजधानी भएको ठाउँ हो। त्यतिबेला भेडियारीलाई मत्सेय देशको नामले चिनिन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.