अर्थतन्त्रको जग
विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ। सधैं सत्ताको झिनाझम्टी र अस्थिर सरकार भइरह्यो भने पनि त्यसले विकासको बाटो समाउन सक्दैन।
नेपाल प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मुलुक हो। विश्वमै जलस्रोतको दोस्रो धनी मानिने हाम्रो मुलुकमा बाह्रैमहिना पहाडी भेगबाट बगिरहने खोलानाला तथा हिमनदीको पानी खेर गइरहेको अपार जलस्रोतलाई सिँचाइ र विद्युत् उत्पादनमा लगाएर कृषि क्षेत्रको विकाससँगै औद्योगिक उत्पादन वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।
तर नेपालले अझै पनि दिगो विकासको बाटो समाउन नसकेको अवस्थालाई कसैले नकार्न सकिँदैन। हो, आफ्नो मौलिक पहिचानसहित विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने चिन्ताले आमनागरिकलाई भने सताएको छ। यहाँ आमनागरिकको समृद्धि सपनाबीच भर्खरै एक व्यक्तिले आफैंलाई नास गर्ने निर्णय गरे। यो कुरा कुनै कथा होइन। दन्त्यकथा पनि होइन। देशका प्रधानमन्त्री संसद् भवनबाट निस्कनेबित्तिकै उनकै आँखाअगाडि सडकमा आफूमाथि पेट्रोल खन्याएर ती युवा हुरहुरी सल्किए।
आत्मदाह शब्द आफैंमा भयानक लाग्छ तर इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले त्यही गरे। घटनाको भोलिपल्ट उपचारकै क्रममा उनको मृत्यु भयो। देशभर आचार्यको आत्मदाहको चर्चा चलिरहँदा त्यसको भोलिपल्ट नै फेरि विराटनगर महानगरपालिका—३ पोखरियाका ५६ वर्षीय एक व्यवसायीले पनि व्यवसाय सञ्चालन गर्दा बैंक र सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि सुसाइड नोट लेख्दै आफ्नै घरमा झुन्डिएर आत्महत्या गरे। दर्दनाक ताजा यी प्रसंगलाई एकैछिन थाती राखेर मिथुन को हुन् ? के गर्छन् र कहाँ बस्छन् ? सुनौं, उनको दैनिकी।
‘मेरो नाम जोगेन्द्र राम हो तर यहाँ सबैले मलाई मिथुन भन्नुहुन्छ। हाम्रो घर सर्लाही जिल्लामा पर्छ। काठमाडौं कोटेश्वरको सेतीओपी मार्ग आएदेखि जुत्ता सिउने काम गर्छु। परिवार पाल्न केही न केही रोजगारी त गर्नै पर्यो। कमाउने बाटो नभए के खानु। बच्चा कसरी पढाउनु ? श्रीमती घरैमा काम गर्छिन्। तीन छोरालाई हुर्काइबढाइ पढाउनु छ। खाना पकाउने, खुवाउने, नुवाइधुवाइ, कोठाको सरसफाइ सबै काम उनैको जिम्मा।
हाम्रो दुई भाइ छोरा ७ कक्षामा पढ्छन्। सानो ४ मा। धेरै खर्च गर्ने आफूसँग आर्थिक नहुनाले सरकारी स्कुलमै भर्ना गर्दिएका छौं। महिनावारी फिस नलागे पनि त्यहाँ पनि पैसा त लाग्छ तर हरेक वर्ष नाम लेख्दा एउटाको दुई हजारका दरले। यस हिसाबले वर्षको ६ हजार खर्च हुन्छ। त्यो एकमुष्ट तिर्नु पर्छ। अर्को, किताब कापी किन्नु पर्यो। स्कुल ड्रेस अनिवार्य छ। कपडा किनेर मात्रै भएन सिलाउनु पनि पर्यो। अनि, गोडामा जुत्ता चप्पल पनि त चाहियो नि।
६ हजार कोठा भाडा तिर्छु। मेरो कामदाम खुल्ला ठाउँमा बसेको हुनाले सटर लिनु परेको छैन। होइन भने त्यसको पनि पैसा तिर्नु पथ्र्यो। यसकारण केही सहुलियतमै छु जस्तो लाग्छ। हुन त सडकको बसाइ कुन बेला पानी पर्छ। कुन बेला घाम लाग्छ। फेरि, जाडो सिजन यति धेरै चिसो हुन्छ। केही वर्षअघि त तुसारै खस्थ्यो तर अहिले त्यो अनुभव छैन। यहाँ आउने सेवाग्राहीका कुरा सुन्दा जलवायु परिर्वतनको कारण कडा जाडो नभाको भन्नुहुन्छ। जलवायु परिवर्तन भनेको के हो ? पढेलेखेको मान्छेसँग जस्तो मसँग बौद्धिकता छैन। यसकारण धेरै बुझेको छैन।
मलाई सिर्फ कामसँग मतलब छ। परिवारसँग मतलब छ। यो देशमा कसको सरकार छ ? अथवा, कुन पार्टीको नेता प्रधानमन्त्री बने ? अर्थमन्त्री को भए ? राजधानीमै बसोबास भए पनि यस विषयमा चासो लाग्दैन किनभने हामी निम्नस्तरको नागरिकलाई राज्यले खै के दिएको छ ? बरु हामीले चुनावमा भोट हालेका छौं। श्रमिकले एक दिन काम नगरे चुल्होमा आगो बल्न मुस्किल पर्छ, हुन्छ। घरपरिवार धान्नु त छ नै। गाउँमा बुवाआमा छन्। हो, त्यता पनि पैसा पठाउनुपर्छ। हुन त अरू दाजुभाइ पनि नभाको होइनन्, छन्। एउटा भाइ कमाउनकै लागि विदेश छ। दाइ गाउँमै। तैपनि बुवाआमाप्रति मैले गर्नुपर्ने कर्तव्य के हो ? त्यो त बुझ्नु पर्यो नि। हाम्रो सात–आठ कट्ठा जमिन छ। धान फल्छ तर वर्षैदिन खान अपुग हुनाले चामल पनि किन्नु पर्छ। तेल, नुन, मसला र लुगाफाटा नकिने उपाय छैन। मान्छेको शरीर कहिलेकाहीं बिरामी हुन्छ। खर्चको सीमा हजुरलाई कसरी बताऊ ?
म दारु खादिनँ। सानैदेखि मन लागेन। हामी तराईको मान्छे, छठ पर्वमा सर्लाही नै जान मन लाग्छ। त्यस्तै, रङगहरूको पर्व होलीमा र दुर्गा पूजामा पनि गाउँले नै तान्छ। आफ्नो ठाउँ भनेको आफ्नै हुँदो रहेछ किनभने त्यहाँ पुग्दा छोराहरू पनि खुसी हुन्छन्। बाआमा त खुसी नहुने कुरै भएन। पर्वको रौनक पछि पुनः दैनिकी सुरु हुन्छ।
मान्छेको चहलपहलसँगै म पनि आफ्नो काममा निस्कन्छु। हप्तामा एक दिन सामान लिन जानु पर्छ। रङ–रङको पालिस, तुना, ब्रस, धागो, सोल, डेनराइट आदि इत्यादि पाइने होलसेल छ। एकपटक सामान ल्याउँदा दुई हजार, पच्चिस सयसम्म लाग्छ। थोत्रामोत्रा सिलाएबापत प्राप्त हुने ज्याला, तुना र सोल बिक्रीबाट आउने नगद, दैनिक हजारदेखि बाह्र सयसम्मको काम गर्दा चार सय जति नाफा हुन्छ। त्योबाहेक आउने बाटो छैन। अतः प्रतिकूल मौसममा पनि खुल्ला सडकको एकापट्टी छेउमा बसेर जुत्ता सिलाउछु। पालिस टल्काउछु किनभने काम नगरी माम मिल्दैन।
हिजोआज मान्छे गाउँ बस्न रुचाउँदैनन्। हो, सहरी जीवन सबैका लागि आकर्षक भएको छ। बरु खानलाई आधा पेट नै होस्। पुर्खाले कैयौं दुःख गरेर आर्जेको थातथलो आफलताफल छाडेको देख्दा मुटु चस्किन्छ। छाती चर्किन्छ। मुलुकभित्रै रोजगारीको अवसर भए एकातर्फ श्रमशक्तिको उपयोग हुन्थ्यो भने अर्को कैयौं घरपरिवारले अभिभावक गुमाउनु पर्ने थिएन। वैदेशिक रोजगारबाट रेमिट्यान्सबापत रकम मात्र आएको छैन, यसका पछाडि धेरै सामाजिक मूल्यसमेत चुकाउनु परेको छ। यो बाध्यात्मक परिस्थितिले गर्दा मुलुकबाट श्रमशक्ति बाहिरिने क्रम दिनप्रतिदिन बढ्दै जानु आफैंमा सुखद होइन।
निरक्षर जोगेन्द्र उर्फ मिथुन आफूले नपढे पनि छोराहरूले पढेर भविष्यमा सरकारी जागिर खाऊन् भन्ने सोच राख्छन्। कुराकानीका क्रममा पहिला खुल्न नचाहेका उनी पछि थोरै मुस्कानसहित यसरी पोखिए। विदेश पनि जान सक्लान् किनभने मेरो एउटा भाइ मलेसिया छ तर अरूको देखेर हुँदैन, आफ्नो नसिवमा के छ ? धेरै खर्च गरेर पढाउन पनि सक्दिनँ। शिक्षकका कुरा सुन्दा उनीहरूको पढाइ राम्रो पनि छैन र धेरै नराम्रो पनि भन्न मिल्दैन। हेरौं, पढ्दै जाँदा मिहिनेतको फल छात्रवृत्तिमा नाम निकाले भने खुसीको कुरा हो।
विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ। सधैं सत्ताको झिनाझम्टी र अस्थिर सरकार भइरह्यो भने पनि त्यसले विकासको बाटो समाउन सक्दैन। हरेक क्षेत्रमा विशेषज्ञता हासिल गरेको जनशक्ति र कुशल नेतृत्वसहितको स्थिर सरकार भयो भने छोटो समयमै विकासका बाटा खोलिन सक्छन्। हामी नेपाली हरेक कुरामा परनिर्भर बनिरहनु पर्दैन।
२२ वर्ष भयो मिथुनले सडकपेटीमा बसेर जुत्ता सिउने काम गरेको। अब यहाँ प्रश्न उठ्छ दुई दशक लामो समयदेखि मिथुनले सडकमा बसेर जुत्ता सिइरहँदा उसको सर्लाहीमा भएको घर र जग्गाको करबापत तिरो तिरिराखेको छ, उसले जुत्ता सिउँदा किन्नुपर्ने आवश्यक सामानहरू खरिद गर्दा प्रत्येक पटक त्यसको पनि कर तिरेको छ, स्कुलमा बुझाउने शुल्कमा पनि उसले कर तिरेकै छ तर उसको स्थिति २२ वर्षदेखि जस्ताको तस्तै छ। धेरैतिरबाट कर उठाइरहने राज्यले चाहिँ उसलाई के दियो त ? न गास दियो। न बास दियो। न कुनै सुविधा दियो। न कुनै अनुदान दियो। न कुनै ऋण दियो। न कुनै उपचार दियो। अब उसलाई डर छ, अहिलेसम्म त नगरपालिकाले पनि उठाएको छैन तर कुनै दिन उसको यो खुल्ला आकाशमुनिको बास पनि हरण हुन सक्छ। यस्तो चुनौती र राज्यको शोषणलाई वेप्रवाह सहन गरिराख्ने जुत्ता सिउने मिथुनको अर्थतन्त्रलाई हाम्रो सलाम छ ! तर, सरकार यस्तो दयनीय अर्थतन्त्रप्रति तिमी कहिले गम्भीर हुने ?