राष्ट्रपति पौडेलले क्रिकेट खेलाडीसँग भने- खेल हेरेँ,निकै राम्रो लाग्यो

काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन्। शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए । उनले भने,'हिजोको खेल हेरे,निकै राम्रो लाग्यो। '
सबै कुराको पूर्वाधारको कमी हुँदा पनि सफलता प्राप्त हुनु ठूलो कुरा भएको उनले बताए। राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको सान राख्नका लागि खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे। नेपालको जीतले सबै नेपाली गौरन्वित रहेको र राष्ट्रले खुसीयाली मनाएको उनको भनाइ छ । उनले विश्वमञ्चमा पनि नेपालले उत्कृष्ठ प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो । शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
