हत्या आरोपमा तीन वडाध्यक्षसहित ७ जना दोषी ठहर
![हत्या आरोपमा तीन वडाध्यक्षसहित ७ जना दोषी ठहर](https://annapurnapost.prixacdn.net/media/albums/court_H7ARUYdPPB_HrvdMgflep.jpg)
विराटनगर: विराटनगर-१४ स्थित ५५ वर्षीय समानन्द यादवको हत्याको आरोपमा जिल्ला अदालत मोरङले तीन वडाध्यक्षसहित ७ जनालाई दोषी ठहर गरेको छ।
जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले शुक्रबार ७ जनालाई दोषी ठहर गरेको हो। अदालतबाट दोषी ठहर हुनेमा विराटनगर महानगरपालिका २ र जहदा गाउँपालिकाका १ जना पूर्ववडाध्यक्ष सहित ७ जना छन् ।
विराटनगर–१४ का बलदेव यादव, १८ का सञ्जय साह र जहदा–१ का पूर्ववडाध्यक्ष प्रदीपचन्द्र यादवसहित दिपेश यादव, भोलु यादव, विरेश कुमार यादव र विन्देश्वर यादवलाई अदालतले दोषी ठहर गरेको हो । उनीहरुमाथि ३ वर्षअघि विवाहको बिषयमा विवाद हुँदा ५५ वर्षीय समानन्द यादवको हत्या गरेको आरोप छ।
हत्या आरोपमा दोषी ठहर गर्दै अदालतले उनीहरुलाई जनही २ वर्ष कैद र २० हजार जरिवानाको फैसला सुनाएको छ । अदालतले सातै जनाबाट जनही १ लाख ५० हजार रुपैयाँका दरले मृतकका हकवालालाई क्षतिपुर्ति दिनुपर्ने आदेश समेत दिएको जिल्ला अदालत मोरङका सुचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। उनले भने, ‘भोलु र सञ्जयको कैद भुक्तान पुरा भईसकेको छ। उनीहरुले शुक्रबार २० हजार जरिवाना समेत तिरिसकेका छन् । मृतकको परिवारलाई क्षतिपूर्ति दिने शर्तमा आईतबार उनीहरूलाई रिहा गर्ने तयारी छ ।’
२०७५ जेठ ३२ गते नातेदारको विवाहको विषयमा वडाध्यक्ष यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर महानगरपालिका वडा नं. १४ का ५५ वर्षीय समानन्द यादवमाथि कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका समानन्दको ०७६ असार २७ मा उपचारको क्रममा मृत्यु भएको थियो।
आफ्ना नातेदारकी छोरीसँग समानन्दले छोराको बिहे गराउन नमानेपछि नियोजित रूपमा कुटपिट गरेर हत्या गरिएको भन्दै मृतकको परिवारले घटनामा संलग्न ३ जना वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।
आरोपी ३ वडाध्यक्षमध्ये विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साह र मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
घरधनीसमेत रहेका विराटनगर– १४ का अध्यक्ष बलदेव यादवलाई भने अदालतले पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दिएको थियो । पछि जहदा गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द यादव उच्च अदालत विराटनगरको आदेशबाट र अभियुक्त दिपेश यादव ०७७ असार १८ मा सर्वोच्चको आदेशबाट थुनामुक्त भएका थिए ।
किटानी जाहेरी परेकामध्ये दोषी ठहर भएका सातै जना हाल प्रहरी नियन्त्रणमा छन् । फरार रहेका बाँकी ३ जनालाई अदालतले मुल्तबीमा राखेको छ । रविन यादव, शम्भु यादव र दिनेश प्रसाद यादव अझै फरार रहेकाले उनीहरुलाई अदालतले ३ वर्षका लागि मुल्तबीमा राखेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)