५८ वर्षको उमेरमा चलितरले घरमै पाए नागरिकता
ढल्केवर(धनुषा) : धनुषाको बटेश्वर गाउँपालिका–१ सोनापुरका चलितर महतोले ५८ वर्षको उमेरमा घरमै नागरिकता पाएका छन्। भारतको पन्जाबमा बन्धक बनेर २५ वर्षपछि फर्किएका चलितरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सोमवार उनकै गाउँमा पुगेर नागरिकता प्रदान गरेका हुन्।
जीवनको दुई दशकभन्दा बढी समय बन्धकमा बिताएका चलितरलाई नागरिकताले हर्षित बनाएको छ। सोमवार घर नजिकैको वडा कार्यालयमा प्रमुख जिल्ला अधिकारी कडरियाको हातबाट नागरिकताको प्रमाणपत्र बुझ्दै चलितरले भने ‘यो नागरिकताले मेरो र परिवारको जीवन सहज हुनेभयो। सहयोग गर्नुहुने सबैलाई धन्यवाद।’
चलितरलाई नागरिकता उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी कडरियासहित जिल्ला प्रशासन कार्यालय धनुषाबाट अधिकृत बाल मुकुन्द शर्मा र राम त्रिपाल महतोलगायतको टोली सोमवार बटेश्वर पुगेका थिए।
उनको नागरिकताको लागि कागजी प्रकियामा वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतो, एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री सत्रुधन महतो, वडा सचिव कौशल महतोले सहयोग गरेका थिए। चलितरका दाइ जगदीश महतोले सनाखत गरेका थिए।
सोमवार चलितरलाई नागरिकता दिने क्रममा बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिस महतो, उपाध्यक्ष फूलकुमारी सिंह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती पौडेल, स्थानीय राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजहरूको उपस्थिति रहेको थियो।
चलितरले नागरिकता पाएसँगै उनको छोराछोरीलाई नागरिकता पाउने बाटो खुलेको छ। बुवाले नागरिकता पाइसकेपछि उनका २७ वर्षीय छोरा प्रवीणको खुशीको सीमा छैन। प्रवीण सर्लाहीको हरिवन नगरपालिका-५ घुर्कौलीमा खाजा पसल चलाएर परिवारको जोहो गरिरहेका छन्। बुवा वर्षौंसम्म बेपता हुँदा प्रविनको अहिलेसम्म नागरिकता पाउन सकेका छैनन्। बुवा चलितरले नागरिकता पाइसकेपछि खुशीहुँदै प्रवीणले भने ‘अब मेरो र मेरो छोराछोरीले सहजै जन्मदर्ता बन्छ।’
२५ वर्षअघि मजदुरीको लागि पन्जाब पुगेका महतोलाई एक साहुले बन्धक बनाएका थिए। वर्षौसम्म घर नफर्किँदा उनको मृत्यु भइसकेको हुन सक्ने परिवार र समाजको ठम्याइ थियो। तर कार्तिक १९ गते साँझ उनी गाउँमा देखामा देखा परेका थिए।
त्यसअघि मृत्यु भइसकेको भनेर चलितरलाई हिन्दु परम्परा अनुसार कुशको शव बनाएर अन्त्येष्टिसँगै किरियाकर्म गर्न घर परिवारले तीनपटक तयारी गरेबम थिए। तर आर्थिक विपन्नताले रुपैयाँ पैसाको जोहो नहुँदा समयपछिका लागि सर्दै गयो। छोरा प्रवीणका अनुसार चौथो पटक छठपछि जसरी पनि बुवाको किरियाकाण्ड गर्ने तयारीमा थियो।
चलितर पारिवारिक जोहो गर्न २५ वर्षअघि साथीहरुसँग पञ्जाब गएका थिए। त्यसपछि उनी उतै बेपत्ता भएका थिए। दुई दशकसम्म सम्पर्कमा नआउँदा परिवारसँगै समाज पनि चलितर मरिसकेको हुन सक्ने ठानिसकेका थिए।
चलितरका छोरो प्रवीण २७ वर्ष पुगिसकेका छन्। तर नागरिकता नबन्दा उनी अहिले सम्म अनागरिक छन्। उनको श्रीमतीको पनि नागरिकता छैन भने ३ छोराछोरीको जन्मदर्ता बन्न सकेको छैन। आमा रामकुमारीको नागरिकता भएपनि त्यसबाट बनाउन वर्षौं प्रवीणले प्रयास गरेका थिए।
तर बुवाको नागरिकता वा मृत्युदर्ता ल्याउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले फर्काउँदै आएको थियो। प्रवीणले वडा कार्यालयमा बुबाको मृत्यु दर्ता बनाउन कयौं पटक पुगेका पनि थिए। तर वडा कार्यालयले पनि चलितर बेपत्ता रहेको सिफारिस मात्रै दिएको वडाध्यक्ष अशोक कुमार महतो सम्झन्छन्।
प्रतिक्रिया दिनुहोस !