गम्ने आदत
![गम्ने आदत](https://annapurnapost.prixacdn.net/media/albums/sheep-dog_C1nvz8Ff20_yYKiEpgxdt.jpg)
फाइदा प्रत्यक्ष मात्र होइन, परोक्ष पनि हुन्छ। आफूले के पाएँ त्यो पनि हेर्नु पर्छ न कि अरूले के पाइरहेछ। कुन कुराले कसकसलाई के के फाइदा पुगेको छ, त्यो गमेर हेर्नु पर्छ।
जनावरका सौखिन एक मानिससँग केही भेडा र कुकुर थिए। भेडाको रक्षा गर्न एउटा कुकुर उनले पालेका थिए। जब भेडाहरू चर्न थाल्थे, तब कुकुर निकै सतर्कतापूर्वक तिनको हेरविचार गर्दथे। दिउँसोको समयमा जब ती मानिस खाना खान जान्थे, तब उनले यस खानाबाट कुकुरलाई पनि खुवाउँथे। भेडाहरू प्रतिदिन कुकुरले मालिकसँग खाएको देखेर आपसमा कानेखुसी गर्न थाले। उनीहरूलाई मालिकले कुकुरप्रतिको गरेको विशिष्ट प्रेमबारे गुनासो थियो।
एक दिनको घटना हो। जब मालिकले कुकुरलाई खाना खुवाइरहेको थियो, तब भेडाहरूले भने, ‘मालिक ! तपाईंको यो अन्यायपूर्ण व्यवहार अनुचित छ।’ ‘के भनेको ? स्पष्ट भन’, मालिकले सोधे। भेडाहरूले पनि भनेहाले, ‘हामीहरूबाट तपाईंलाई ऊन, दूध तथा बच्चाहरू प्राप्त हुन्छ। तर, तपाईं चाहिँ हामीहरूलाई कहिले पनि केही दिनु हन्न त। हामीहरू आफैं घाँस चरेर मात्र गुजारा गर्दछौं। यो कुकुरबाट तपाईंले केही पनि पाउनु हुन्न। तैपनि तपाईं यसलाई आफूसँगै खुवाउनु हुन्छ।’
यति भनेर भेडाहरू आफ्नो बाटो लाग्न थाले। सबै कुरा चुपचाप सुनिरहेको कुकुर भुक्यो। ती भेडाले कुकुरतर्फ हेरे। कुकुरले भन्यो, ‘बिल्कुल ठीक भन्यौ तिमीहरूले। तर, के तिमीहरूलाई थाहा छ कि मेरो अनुपस्थितिमा तिमीहरूलाई के हुन्छ ? या त कुनै चोरले तिमीहरूलाई चोरेर लैजान्छ या कुनै ब्वाँसोको आहार बन्छौ। यतिमात्र होइन, मबिना तिमीहरू यहाँ चर्न पनि आउन सक्दैनौ।’ कुकुर पनि मालिकलाई पुलुक्क हेरेर त्यहाँबाट बाटो लाग्यो। भेडाहरू हेरेको हेर्यै भए।
नैतिक शिक्षा : फाइदा प्रत्यक्ष मात्र होइन, परोक्ष पनि हुन्छ। आफूले के पाएँ त्यो पनि हेर्नु पर्छ न कि अरूले के पाइरहेछ। कुन कुराले कसकसलाई के के फाइदा पुगेको छ, त्यो गमेर हेर्नु पर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)