राष्ट्रियसभामा विमला राई पौड्यालको प्रश्न : प्रहरीले जनताको मुख थुन्न मिल्छ कि मिल्दैन ?
राष्ट्रियसभा सांसद विमला राई पौड्यालले प्रहरीले मंगलबार युवाहरूको मुख थुन्दै पक्राउ गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
काठमाडौं : राष्ट्रियसभा सांसद विमला राई पौड्यालले प्रहरीले मंगलबार युवाहरूको मुख थुन्दै पक्राउ गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार राष्ट्रियसभामा बोल्दै सांसद राईले केही बोल्न खोजिरहेका युवाहरूको मुख थुनेर पक्राउ गर्नुको कारण सरकारसँग मागेकी हुन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा सार्वजनिक समारोहमा जाँदै गर्दा केही युवाहरूले बानेश्वरमा उनीविरुद्ध नाराबाजी गरेका थिए। नाराबाजीमा उत्रिएकामध्ये तीनजना युवाको मुख थुनेर प्रहरीले बोल्न नदिइ पक्राउ गरेको भीडीयो सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर आज सांसद पौड्यालले सरकारको जवाफ मागेकी हुन्।
संविधानले स्वतन्त्रपूर्वक विचार राख्न र बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उनले युवाहरूको मुख थुन्ने प्रहरीमाथि कारबाहीको माग समेत गरिन्।
उनले भनिन्,'हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्चालमा केही युवाहरू बोल्न खोजिरहेको र केही प्रहरीले जबरजस्ती उनीहरूको मुख थुनिदिएको, घाँटी न्याकिरहेको । लछारफछार पारिरहेको तस्बिरहरू जताततै पाइरहेको छ। यो किन भइरहेको छ ? यी युवाहरूले के बोल्न खोजेका हुन् र प्रहरीले त्यस्तो ज्यादति गरेको हो। संविधानले स्वतन्त्रपूर्वक विचार राख्न पाउने बोल्ने पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन? अनि यसो गर्ने प्रहरीलाई गृहमन्त्रालयले कारबाही गरेको छ कि छैन।'

प्रतिक्रिया दिनुहोस !