अनन्तको गोलमा नेपाललाई अग्रता

काठमाडौं : अनन्त तामाङले ३०औं मिनेटमा गरेको गोलसँगै प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटनका खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १-० को अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलको ३०औं मिनेमा नवीन लामाले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा ६ यार्ड बक्सभित्र उत्कृष्ट रन बनाएका अनन्तले उत्कृष्ट गोल गरे।
त्यसअघि पाँचौं मिनेटमा आयुष घलानले बायाँ तर्फबाट गरेको क्रसमा नवयुग श्रेष्ठले हेडरमार्फत् गोल गर्ने सुन्दर मौका गुमाएका थिए। पेनाल्टी एरियाभित्र अन्मार्ज्ड रहेका नवयुगले हेडरको कोसिस गरे पनि अपेक्षित कनेक्ट गर्न सकेनन्।
सुरुआती २० मिनेटसम्म भ्रमणकारी लाओसमाथि हाबी बने पनि नेपाल स्पष्ट मोका बनाउन संघर्षरत थियो। आयुषले १८औं मिनेटमा बायाँ फ्लान्कमा उत्कृष्ट ड्रिबलिङ गर्दै पेनाल्टी एरियाभित्र रहेका एरिक विष्टलाई पास दिएका थिए। एरिकले मिलाइदिएको पासमा पुजन उपरकोटीले पेनाल्टी एरिया अगाडिबाट गरेको लामो प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।
लाओसका एटी भिखामले २५औं मिनेटमा पेनाल्टी एरिया अगाडिबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। लाओसका कप्तान सोकाफोन भोचिङ्खामले ३५औं मिनेटमा दायाँ तर्फबाट गरेको उत्कृष्ट क्रस नेपालका डेब्यूट्यान्ट डिफेन्डर सनिश श्रेष्ठले उत्कृष्ट क्लियर गरेका थिए। नेपाल फिफा वरीयताको एक सय ७५औं स्थानमा छ। लाओस नेपालभन्दा १२ स्थान तल एक सय ८७औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस !
