हनुमानबारे विवादास्पद पोष्टपछि पाकिस्तानमा पत्रकार पक्राउ

एजेन्सी : पाकिस्तानको सिन्ध प्रान्तमा प्रहरीले हिन्दू धर्मालम्बीहरूको देवता हुनमानको अपमान गरेको आरोपमा निन्दासम्बन्धी कानुनअन्तरगत एक पत्रकारलाई पक्राउ गरेको छ। यस विषयमा मिरपुरखासस्थित स्याटलाइन प्रहरी चौकीमा उजुरी दर्ता भएको छ।
उजुरीकर्ता रमेश कुमारले आफू लुहाना पञ्चायत मिरपुरखासको उपाध्यक्ष भएको बताएका छन्। मार्च १९मा आफ्ना साथीहरूसँग रहँदा असलम बलोच नामक स्थानीय पत्रकारले आफ्नो फेसबुक पेज र ह्वाट्सएप ग्रुपमा हनुमानको तस्बिर सेयर गरेको देखेको उनको दावी छ।
सामाजिक सञ्जालहरूमा राखिएको पोस्टमा असलम बलोचले लेखेका छन्-क्याप्टेन श्री राम पार्क वाला। पाकिस्तानमा रहेका हिन्दु समुदायका मानिसहरूले उक्त पोस्टको विरोध गरेका बीबीसीमा उल्लेख छ।
प्रान्तमा अल्पसङ्ख्यकहरूको मामिला हेर्ने मन्त्री ज्ञानचन्द इसरानीले सिन्ध प्रान्तका महानिरीक्षकलाई सम्पर्क गरेर सम्बन्धित पत्रकारलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन्। उनले आफूले कसैको धर्मको अपमान गर्न नदिने र त्यस्तो गर्नु असह्य हुने बताएका छन्। उनले हिन्दु धर्मावलम्बीहरूको भगवान्को अपमान भएको र हिन्दूहरुको धार्मिक भावनामा चोट पुगेको बताए।
पाकिस्तानमा सिन्धलाई धार्मिक सहिष्णुताको केन्द्र समेत मानिन्छ। प्रान्तमा स्थापित शान्ति खलल पार्ने षड्यन्त्रमा स्वरूप यस्तो घटना भएको हुनसक्ने मन्त्री इसरानीको भनाइ छ।
हनुमानको उक्त तस्बिर साझा गरेर अस्लम बलोचले आफू र उनीजस्ता अन्य हिन्दुहरूको धार्मिक आस्थामा चोट पुर्याएको रमेश कुमारले जाहेरीमा उल्लेख गरेका छन्।
बलोचले धर्महरूबीच शत्रुता फैलाउने र कानुन व्यवस्था बिगार्ने प्रयास गरेको उनको दावी छ। प्रहरीले सोही उजुरीको आधारमा असलम बलोचविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ ए अन्तर्गत मुद्दा दर्ता गरेको छ।
पाकिस्तान दण्ड संहिताको धारा २९५ मा दुई धर्मबीच वैरभव फैलाउने प्रयास गर्नेहरूलाई सजाय दिइने प्रावधन छ। धार्मिक आस्थामा चोट पुर्याएको खण्डमा १० वर्षसम्म कैदको व्यवस्था छ।
पाकिस्तानमा प्राय:अल्पसंख्यक धर्मका मानिसबिरुद्ध अर्को धर्मको ईश्वर निन्दाको आरोप लाग्ने गरेको छ। तर,कतिपय अवस्थामा बहुसंख्यक मुस्लिम समुदायका मानिसहरूविरुद्ध पनि निन्दाको आरोपमा मुद्दा दर्ता भएका छन्।
प्रतिक्रिया दिनुहोस !
