डिभिजन वन कार्यालय पर्साका अधिकृत यादव निलम्बित
जनकपुरधाम : डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत राम प्रसाद यादव निलम्बनमा परेका छन्।
सेवाग्राहीबाट घुस लिइरहेको भिडियो फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो।
हिरासतमा रहेको अभियुक्तका सरोकारवालासँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अञ्जना कायस्थले जानकारी दिइन्।
सहायक अधिकृत (७ औँ तह) यादव प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिम निलम्बन गरिएको हो। कसुर गरेको सो विषयमा छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।
बाराको परवानीपुर गाउँपालिका-१ स्थित मुसहरी बस्ने जय नरायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए।
गत चैत ६ गने अभियुक्त साह पक्राउ परे। ‘जय नरायणले ट्याक्टर अरूलाई भाडामा दिएका थिए। भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ ओसारपसार गरिरहेका थिए।
त्यसै क्रममा सवारी धनी पक्राउ परे। उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झण्डै ४ लाख पैसा लिइसकेको विभिन्न अडियो प्रमाण आयो', मन्त्रालयका एक अधिकारीले भने।
ती अधिकारीका अनुसार प्रमाण फेला परेपछि राज्यमन्त्री रहबर अन्सारीको निर्देशनमा यादवलाई कारबाही प्रक्रिया अघि बढाइएको हो।
'विगतमा मधेशमा देखिएका आर्थिक अनियमितता, भ्रष्टाचार र अनुशासनहीनता जस्ता विकृति र विसंगतिका अवशेषहरुलाई पूर्ण रुपमा निरुपण गर्दै नया पद्धति बसाल्ने हाम्रो प्राथमिकता रहेको छ। त्यसै अनुसार अनियमितताको आरोप लाग्नासाथ कर्मचारीलाई निलम्बन गरी अनुसन्धान अघि बढाइएको हो,’ राज्यमन्त्री अन्सारीले अन्नपूर्णसँगको कुराकानीमा भने।
प्रतिक्रिया दिनुहोस !