मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

जोमसोम : हिन्दू तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा मन्दिरमा दिनहुँ आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो बढ्न थालेको छ। हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै अनुकूलमा मुक्तिनाथमा धार्मिक तीर्थालुहरूको आगमन बढेको हो।
अहिले मुस्ताङ यात्राका लागि सडकमार्ग सहज छ भने पोखरा जोमसोम हवाइ सेवा नियमित छ। सडक तथा हवाइमार्ग सहज भएसँगै मुक्तिनाथ दर्शनका लागि स्वदेशी तथा भारतीय दर्शनार्थीको सख्या क्रमिक रुपले बढेको छ।
समुन्द्री सतहदेखि ३८ सय मिटरको अग्लो पहाडको फेदमा अवस्थित प्रसिद्ध धाम मुक्तिनाथ दर्शन गर्न यतिखेर दैनिक २ हजार बढी दर्शनार्थी आउने गरेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। यस वर्ष विगत वर्षको तुलनामा अपेक्षाकृतरूपमा दर्शनार्थी आउने क्रम ह्वात्तै बढेको उनले बताए।
त्यसो त यसवर्ष हिउँदयाममा हिउँ नपर्दा छिटफुट दर्शनार्थी आउने गरेको उल्लेख गर्दै मुक्तिनाथ विकास समितिका कर्मचारी सुवेदीले शिवरात्रि पर्वदेखि मुक्तिनाथमा भक्तजनको ब्यापक घुइँचो लागेको जनाए। मुक्तिनाथ मन्दिर अवलोकनका लागि तेस्रो मुलुकमा पर्यटक पनि जाने गरेका छन्। मनाङ हुँदै राउण्ड अन्नपूर्ण पदयात्रा गर्दै मुक्तिनाथ मन्दिर आइपुगेका तेस्रव मुलुकका पर्यटकले मन्दिरको अवलोकन गर्ने गर्छन्।
पछिल्लो समय मुक्तिनाथ विकास समितिले दर्शनार्थीहरूको सेवा र सुविधाका लागि प्रहरी र प्रशासनसँग समन्वय गरी शौचालय, प्राथमिक उपचार कक्ष, पैदलमार्ग, प्रतिक्षालय, चेन्जिङ रुम, धारा र कुण्डलगायतका संरचना व्यवस्थित र सुदृढ बनाउँदै लगेको छ। मुक्तिनाथ मन्दिरमा भक्तजनहरूको सुरक्षा, फोहोर व्यवस्थापन र भक्तजनलाई लाइनमा राखेर सहज ढंगले दर्शन गर्ने व्यवस्था मुक्तिनाथ विकास समितिले गरेको छ।
प्रतिक्रिया दिनुहोस !
