जनकपुरमा सफाई अभियान
जनकपुरधाम : हरेक दिन केही न केही, कुनै न कुनै ठाउँमा फरक दृश्य देखिन्छ। जहाँ फोहर देख्यो, त्यहीं बढार्ने उनीहरूको अभियान हो।
सामान्य पहिरनमा एकाबिहानै निस्कने र फोहर देख्योकी सफाईमा भिड्ने उनीहरूको स्वभावले आसपासका मानिसहरू समेत अचम्मित पर्छन्। सामान्य कपडा, एप्रोन, मास्क, उनीहरूको नियमित पहिरन हो।
‘हामीले नगरे कसले गर्छ, हामीले नगरे कस्को भर पर्ने’ भन्दै फोहर देख्नासाथ उनीहरू झाडु, कुचो, कोदालो लिएर सफाईमा लाग्छन्। यो उनीहरूको नियमितको काम हो।
‘बढार्दैमा सफा हुँदैन, फोहर गरेन भने सफा हुने हो,’ धिरेन्द्र साहले भने, 'फोहर अरूले उठाउँछ, भन्ने सोचले फोहर फैलिएको हो, सबैले सफा गर्ने हो भने, फोहर हुँदैन।हामी जहाँ जुन स्थानमा बस्छौं, त्यहाँ मात्र सफा राखौं न, फोहर कहीँ कतै हुदै–हुँदैन, धिरेन्द्र भन्छन्, 'घरपरिवार त छदैछ, आफ्नो मेहनत मजदुरी पनि चलेकै छ, तर अरू बेला सफाइ अभियानमै हिँड्छु, घरमै हुन्छु, फुर्सद भएको बेलामा सफाईमा हिँड्छु।‘
धिरेन्द्रको सफाई टिममा झण्डै २० जना छन्। नियमित रुपमा उनीहरू कहि न कही कतै त कतै धार्मिक स्थल, सडक, पार्टीपौवा वा अन्य स्थानमा सडक बढारिरहेका भेटिन्छन।
‘हाम्रो नियमित सरसफाइ गर्ने योजना हुन्छ, धिरेन्द्र भन्छन्, ‘सबैले साथ दिए आधा घण्टामै उपमहानगर फोहर रहित हुनेछ। ‘सफाइ गरेको देखेपछि फोहर गर्न नहुने सन्देश जान्छ,’ उनले भने, 'दिनको १ मिनेट मात्रै सबैले वरिपरि सफा गरेमा फोहर थुप्रिदैन, सफा सहर बन्छ।’
नियमितजसो सार्वजनिक स्थलमा फोहर टिप्ने, बढार्ने, जनचेतना फैलाउने काममा सक्रिय रहेका धिरेन्द्रको बाटो पछयाएर अहिले पुराना र नयाँ स्वयंसेवी बढेका छन्।
उनीहरू स्थानीय तहमा सरसफाइ अभियानबारे जानकारी गराउँदै हिँडेका छन्। उनीहरूबाट प्रेरित भएर केही नगरपालिकाले सामूहिक सरसफाई अभियान चलाउन थालेका सफाई अभियानी धिरेन्द्र साह बताउँछन्।
‘जबसम्म घर–घर पुगेर फोहर संकलन गर्ने विधि हट्दैन, तबसम्म सफा सहर बन्दैन,’ उनी भन्छन्, ‘टोल टोलमा निश्चित फोहर फाल्ने ठाउँ बनाउनुपर्छ, त्यहींबाट स्थानीय तहले फोहर उठाउनुपर्छ।’
फोहर जथाभावी फालेमा कारबाही गर्न बनेका ऐन कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ। ‘कुचिकार राखेर सधै सफा गर्न सम्भव हुँदैन, नजिक भएका सबैले नियमित आफैं सफा गर्ने हो भने, स्वतः सफा सहर बन्छ,’ उनी भन्छन्, 'सफा गरेर होइन, फोहर नगरेर सफा सहर बनाउन सकिन्छ।’
'सयौं जना कुचिकार भएका नगरपालिकाका कार्यालय नै फोहर भएका भेटेका छौं। उनले भने, ‘बजेटले सफा हुदैँन, स्थानीय जागरण चाहिन्छ।' ब्रस (प्लास्टिकको कुचो), पञ्जा, एप्रोन, मास्क लगायतका सबै सामग्री उनीहरू स्वयं व्यवस्थापन गर्छन्।
‘कसैसँग कुनैपनि किसिमको खर्च माग्दैनौं, स्वतःस्फुर्त हुने सहयोग लिन्छौँ,’ धिरेन्द्र भने, ‘कुनै संस्थाका कर्मचारी होइनौँ, अभियान्ता हौँ।’
‘मानिसको भिडभाड हुने स्थान सबैभन्दा फोहोर ठाउँ हो। गाउँ सहर मात्र होइन, देशै सरसफाइ गर्न हिँडेका हौं। सफाईकर्मी श्रुति सिंहले कसैले आफ्नो वरपर फोहोर नगरोस् भन्ने हाम्रो चाहना हो,’ श्रुति भन्छिन्। कसैले जथाभावी फोहोर नगरुन् भन्ने हामीहरूको उद्देश्य हो। मानवले जथाभावी फोहोर नगरुन् भन्ने अभियानमा हामी छौं।'
आफूलाई सरकारी संघ–संस्थाको समन्वयको खाँचो भएको उनीहरू बताउँछन्। ‘सरकारी निकायबाट सहयोग पाउने हो भने हामी सरसफाइको नेतृत्व लिन तयार छौं,’ धिरेन्द्रले भने, ‘समन्वयको मात्र खाँचो छ। फोहोर बढार्ने भन्दा पनि हामी सामाजिक अभियानको नेतृत्व गर्न चाहन्छौं।’
अभियानमा राष्ट्रिय सरसफाई अभियन्ता साहसँगै श्रुति कुमारी सिंह, रिता साह, आरती मण्डल, तुलसा ज्ञवाली, सागर कार्की, रजय कायस्थ लगायतका छन्।
प्रतिक्रिया दिनुहोस !