प्रधानमन्त्री बन्ने मलाई कुनै रहर छैन : केपी ओली
पाल्पा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन्। पाल्पामा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै फेरि पनि प्रधानमन्त्री बन्न कुनै रहर नभएको बताए।
'प्रधानमन्त्री भएर मैले धेरै काम गरेको छु। तपाइँहरूले मन पनि पराउनुभएको छ। यतिले मलाई पुगेको छ,' उनले थपे, 'तर देश जोगिन पर्यो। देशको रक्षा हुनपर्यो।'
उनले नेपाल-भारतको विवादित सीमा लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा टिप्पणी गरे। उनले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको बताए।
'देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भूभाग नदेखेझैँ गरे,' अध्यक्ष ओलीले भने, 'कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तब्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन्।'