रानीमहलमा पत्नी राधिकासँग प्रेमिल बनेका ओली
तानसेन : काठमाडौंमा अधिकांश राजनीतिक दलहरुका शीर्ष नेताहरु सरकारमा सहभागीको भागबण्डामा केन्द्रित भइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने घुमघामको लागी पाल्पा आए। यसपटक उनी एक्लै आएनन्, पत्नीलाई समेत साथै लिएर आए।
प्रधानमन्त्री हुँदा हेलिकोप्टरबाट रानीमहलको अवलोकन गरेका उनी पत्नी राधिकासँग धित नमरेसम्म रानीमहल दरबारको मजा लिए। प्रेमको प्रतीक रानीमहल दरबारमा पुग्दा पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, सुरक्षा गार्ड अघिपछि पिछा छाडेनन्। निकै रोमान्टिक स्वभावका ओली पत्नी राधिकासँग सेल्फी खिच्दै रानीमहल दरबारमा रमाए। प्रेमको आनन्द लिन एकपटक रानीमहल आउन ओलीले सबैमा सार्वजनिक अपिल गरेका थिए।
ओलीको नजरमा रानीमहल दरबार प्रेमको तीर्थस्थल नै बनेको छ। जीवितमा मात्र होइन। मृत्यु भएपछि पनि प्रेम अमर हुन्छ। मरेपछि पनि प्रेम चाहिन्छ भन्ने प्रेरणा रानीमहल दरवारले सन्देश दिएको छ। वास्तविक जीवनको महत्व रानीमहल दरवारले दिएको छ,' उनले भने।
रानीमहल दरबार घुमेर निकै खुसी मुद्रामा देखिएका पत्नी राधिका १२५ वर्ष अगाडि यस्तो ठाउँमा यति राम्रो दरवार कसरी बनाए होलान् भनेर आश्चर्यमा परिन्। 'आजकल स-सानो कुरामा चित्त नबुझे झगडा हुन्छ। प्रेम सम्बन्ध नै तोडिन्छ। तोडिने प्रेम होइन, सधैं जोडिने, अमर रहने रानीमहल राणा खड्ग शमशेर र रानी तेज कुमारीको जस्तो प्रेम गर्नुपर्छ,' उनले भने।
रानीमहल दरवार सरसफाई गरी चिटिक्क पारेपछि पर्यटकहरुको आगमन बढेको छ। पर्यटकीय पुर्वाधार, खानेपानी, व्यस्थित शौचालय, फ्रि वाईफाई, वरिपरि सुविधा सम्पन्न होटल, पिच बाटो भएपछि रानीमहल आर्कषक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ। प्रेमको प्रतिक रानीमहल दरवारमा केपी ओली जस्ता राजनेताहरुको आगमनले पर्यटन आगमनमा वृद्धि भएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस !