घाँटी फर्किने अनौठो रोग

घाँटी फर्किने अनौठो रोग
सुन्नुहोस्

दैलेख : भगवतीमाई गाउँपालिका १ पगनाथका ४० वर्षीय महेन्द्र बिक घाँटीको समस्याबाट थलिएका छन्। उनी घाँटी फर्किने समस्याबाट विगत ६ वर्षदेखि थला परेका हुन्। उनको घाँटी पछाडी ढाडतर्फ फर्किन्छ। महेन्द्रले निहुँरिएर अगाडी र तल हेर्न सक्दैनन्। सुत्दा, उठ्दा, हिंड्डुल गर्दा होस् वा खाना खाँदा सास्ती खेपीरहेका छन्। खाना खाँदा, बस्दा, उठ्दा, शौचालय जाँदा अरुकै साहारा चाहिन्छ। गर्मी होस् या चिसोमा खलखली पसिना बग्छ। उनी यस्ता समस्याबाट दिनहुँ जसो छट्पटिरहेका छन्।

महेन्द्रका अनुसार घाँटी फर्किने समस्या देखा पर्नु अघि खुट्टामा समस्या देखा परेको थियो। ‘२०७३ ताका एक्कासी खुट्टामा समस्या देखा पर्‍यो, हिड्नै मिल्दैनथ्यो, खोच्याई–खोच्याई हिड्नुपर्‍थ्यो,’ उनले भने। खुट्टापछि उनको ढाडमा समस्या देखा पर्‍यो। ‘खोच्याइ–खोच्याइ हिंड्थें, त्यसलगत्तै डाढमा एक्कासी चस्का हान्यो, केही समयपछि घाँटी पछाडि फर्किने समस्या आइपर्‍यो,’ उनले भने।

आफूलाई देखा परेको स्वास्थ्य समस्याको उपचार गर्न भारतको लखनउसम्म पुगेको महेन्द्र बताउँछन्। उनले सुरुमा नेपालगञ्जको कौशल्या मेमोरियल हस्पिटलमा उपचार गराएका थिए। ‘सुरुमा नेपालगञ्जको कौशल्या मेमोरियल हस्पिटलमा जाँच गरेको थिएँ, त्यसपछि लखनउ पुगेँ, त्यहाँ पनि जाँच भयो, डाक्टरले थप उपचारका लागि ६०–७० हजार भारतीय रुपैयाँ खर्च लाग्ने भन्नुभयो, मसँग पैसा थिएन, निको हुने आश मारेर फर्किएँ,’ उनले भने।

उनले हालसम्म उपचारका क्रममा झण्डै चार लाख रुपैयाँ खर्च गरिसकेका छन्। परिवारको आर्थिक अवस्था नाजुक हुँदा उनले थप उपचार गर्न सकेका छैनन्। बिहान साँझको छाक टार्न र छोरीहरू पढाउन हम्मेहम्मे परिरहेको महेन्द्रले बताए। ‘घर खर्च जोहो गर्न कमाउने म नै हुँ, आफु यसरी थलिएको छु, उपचार कसरी गरुँ,’ महेन्द्र भन्छन्। आफुसँग भएको र ऋण सापट गरेर उपचारमा चार लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ। ‘आफुले सक्ने जति खर्च गरेर उपचार गराएँ, तर निको भएको छैन, अब थप उपचार गर्ने आफुसँग कुनै उपाय छैन्,’ उनले भने। महेन्द्रले आफ्नो उपचारमा सहयोग गर्न आग्रह समेत गरेका छन्। उनका श्रीमती र चार छोरी छन्।

महेन्द्रको स्वास्थ्य समस्याबारे स्थानीय पनि अनौठो मानिरहेका छन्। चिकित्सकहरूले भने एमआरआई, रगत परिक्षा लगायतका जाँच गरेर रोग पहिचान गर्न सकिने बताउँछन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले मेरुदण्डको समस्या हुनसक्ने बताए। ‘यसअघिका अस्पतालमा जाँच गरेका सबै कागजात हेरेर थप स्वास्थ्य जाँचपछि रोग पहिचान गर्न सकिन्छ, त्यसपछि थप उपचार हुन्छ,’ डा. पौडेलले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.