चलचित्रका चित्रहरू

समीक्षा

चलचित्रका चित्रहरू
सुन्नुहोस्

समयसमयमा भएका राजनीतिक परिवर्तनले नेपाली चलचित्र क्षेत्रमा ठूलो प्रभाव छ।

नेपाली चलचित्रको समृद्ध इतिहास, गतिशील वर्तमान र सुखद भविष्य छ। साधारण कथा कथनको प्रारम्भिक दिनदेखि डिजिटल फिल्म निर्माणको आधुनिक युगसम्म नेपाली चलचित्र उद्योगले धेरै परिवर्तन पार गरिसकेको छ। गर्विलो इतिहासको आलोकमा सिर्जित नेपाली राष्ट्रिय चलचित्र उद्योगलाई मिहिन विश्लेषण गर्न यस क्षेत्रका विविध आयामको गहन अध्ययन आवश्यक होला। यस क्षेत्रका अघिल्लो पुस्तादेखि वर्तमान पुस्तासम्मका पात्र, प्रवृत्ति र परिवेशलाई आम पाठकमाझ सरल रूपमा बुझाउन सक्ने गरी पर्घेल्ने सामथ्र्य तिनैसँग हुन्छ, जसले इतिहासको अध्ययन, वर्तमानको भोगाइ र भविष्यको सिंहावलोकन गर्न सक्छन्।

डेढ दशक लामो पत्रकारिता यात्रामा ‘कला र मनोरञ्जन’ विधालाई प्रमुख बनाएका जीवन पराजुलीले लेखेको पुस्तक ‘क्लोज–अप’ एउटा त्यस्तै माध्यम भएको छ– जसले नेपाली चलचित्रको प्रारम्भिक दिनदेखि हालसम्मको विकासक्रमलाई क्रमबद्ध पेस गरेको छ। नेपाली चलचित्र क्षेत्रको अनुसन्धान र उद्योगभित्रका व्यक्तिहरूसँग अन्तर्वार्ताका माध्यमबाट तयार भएको यस पुस्तकले नेपाली चलचित्रको इतिहासको विस्तृत चित्र उतारेको छ। यसले विगतका वर्षहरूमा नेपाली चलचित्र उद्योगलाई आकार दिने विभिन्न आयाम र पात्रहरूको खोजी गरी बाहिर ल्याएको छ। यो पुस्तक यस क्षेत्रका अध्येता र ‘सिनेफाइल’हरूका लागिमात्र नभई नेपाली चलचित्रको विकासक्रमको सांस्कृतिक र सामाजिक परिवेशबारे थप जान्न चाहनेका लागि बहुमूल्य स्रोत बनेको छ।

इतिहासका तिनै आयाम र परिवर्तनको साक्षीका रूपमा लेखक तथा पत्रकार पराजुलीले ‘क्लोज–अप’ तयार गरेका छन्। जसको माध्यमबाट उनले नेपाली सिनेमाको समृद्ध विरासतको संरक्षणमा योगदान पुर्‍याएका छन्। चलचित्र पत्रकारिताको अनुभव र शैलीलाई अन्तर्वार्ताका माध्यमबाट उनले सम्बन्धित स्रोतबाट सीधा, तथ्यपरक र त्यसको प्रामाणिक पक्षहरू रोचक ढंगबाट कथनको कला प्रस्तुत गरेका छन्। विषय र व्यक्तित्वको छनोटका आधारमा हेर्दा कृतिकार पराजुलीको लेखन धुवीकृत र व्यक्तिगत पूर्वाग्रहभन्दा टाढा रहेको अनुभूति हुन्छ।

रेडियो उपत्यकाबाट डेढ दशकअघि पत्रकारिता आरम्भ गरेका लेखक पराजुलीले पहिलोपटक नेपाली चलचित्र उद्योगका धेरै रोचक प्रसंग, केही रहस्य अनि परिचित पात्रका अपरिचित प्रसंगहरू बाहिर ल्याएका छन्। यद्यपि उनले चाहेर पनि सबै प्रसंग समेट्न सकेका छैनन्। एउटामा सबै अटाउन सम्भव पनि हुँदैन। लेखक भन्छन्, ‘नेपाली कला र मनोरञ्जन उद्योगमा झन्डै डेढ दशकको अनुभव भएको पत्रकारको रूपमा नेपाली चलचित्रको इतिहासलाई दर्शकको पहुँचमा पुग्नेगरी अभिलेखीकरण गरी पुस्तक तयार पारें।’ नेपाली चलचित्रमा यस्तो प्रकृतिको पुस्तक प्रकाशन भएको पाइँदैन।

समयसमयमा भएका राजनीतिक परिवर्तनले नेपाली चलचित्र क्षेत्रमा ठूलो प्रभाव छ। पुस्तकमा चलचित्रप्रतिको शाहवंशीय राजतन्त्रको इच्छाका आधारमा यो क्षेत्रले बामे सरेको उल्लेख गरेका छन्। राजतन्त्रको पतन र लोकतन्त्रको उदयपछि उद्योगमा भएको विकास तथा नेकपा (माओवादी) विद्रोेहले उद्योगमा पारेको प्रभावका बारेमा त्यसबेला सक्रिय रहेका पात्रमार्फत विमर्श गरेका छन्। अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाइएको पञ्चायत शासनकालमा चलचित्र उद्योगलाई कडाइका साथ नियन्त्रण गरिएको थियो। निश्चित प्रकारका चलचित्रहरू मात्र बनाउन अनुमति दिइएको थियो। २०४७ सालमा लोकतन्त्रको पुनस्र्थापनापछि चलचित्र उद्योग अधिक उदार भयो। फिल्म निर्माताहरूले विषयहरूको फराकिलो दायरामा फिल्महरू बनाउन सक्षम भए। तर, बाह्रवर्षे माओवादीको सशस्त्र विद्रोहका कारण नेपाली चलचित्र क्षेत्र ध्वस्तसरह भयो। त्यस कालखण्डमा निर्माण भएका चलचित्रहरूले सत्ता र विद्रोही पक्षबाट के–कस्ता समस्या भोग्नुपर्‍यो भन्ने प्रसंग पाइन्छ।

नेपाली चलचित्र उद्योगको विकासमा भारतमा रहेका नेपाली भाषीले महत्त्वपूर्ण भूमिका खेलेका छन्। जुन योगदान सम्झनलायक छ। केही लोकप्रिय नेपाली अभिनेता, अभिनेत्री, निर्देशक, संगीतकार, गायक, गायिका हालसम्म सोही समुदायबाट छन्। ‘क्लोज–अप’ पुस्तकले इतिहासको त्यस चरणदेखि हालसम्म सक्रिय नेपालीभाषी भारतीयहरूको विषयमा पनि महत्त्वपूर्ण जानकारीको दस्ताबेजीकरण छ। नेपालमा महिला निर्देशकको संख्या किन बढ्न सकेन ? यो प्रश्न सुन्दा सरल तर गम्भीर प्रकृतिको छ। पुस्तकले यो प्रश्नको जवाफ खोजेको छ। पछिल्ला वर्षहरूमा चलचित्रको ‘क्याप्टेनसिप’को हिसाबमा महिलाको उपस्थिति प्रगतिशील भए पनि नेपाली चलचित्र उद्योग पुरुषप्रधान छ। परम्परागत लैंगिक भूमिका र पूर्वाग्रहका साथै उद्योगमा महिलाका लागि सीमित अवसर र पारिवारिक समर्थनको कारणले यसो भएको निष्कर्ष पुस्तकमा छ।

नेपाली चलचित्रको इतिहासको संरक्षण : पत्रकारिताको दृष्टोकोणबाट ‘क्लोज–अप’ तयार गरेका पत्रकार पराजुलीले यस उद्योगको इतिहास भावी पुस्ताका लागि जोगाए। पुस्तकमा समावेश हरेक पाठमा उद्योगको स्थापनादेखि हालसम्मको विकासको दस्ताबेजीकरण छ। समयसँगै नेपालमा भएका राजनीतिक, सांस्कृतिक र सामाजिक परिवर्तनहरूमा नेपाली चलचित्र र पात्रहरूका प्रवृत्तिमाथि मूल्यवान् अन्तर्दृष्टि प्रदान गरेको छ। विभिन्न व्यक्तिको योगदान र उद्योगमा उनीहरूको प्रभावलाई उल्लेख छ।

नेपाली चलचित्रको प्रवद्र्धन : नेपाली चलचित्र उद्योगको इतिहासलाई उजागर गर्ने यस पुस्तकले प्रकाशन भएको एक वर्षमा नेपाली चलचित्रलाई व्यापक दर्शकमाझ प्रवद्र्धन गर्न पनि मद्दत गरेको छ। यसले नेपाली चलचित्रका अद्वितीय पक्षहरूलाई समेटेको छ। नेपाली चलचित्रप्रति स्वदेशी र अन्तर्राष्ट्रिय रूपमा समेत थप चासो जगाउन मद्दत गरेको छ।

भविष्यका चलचित्र निर्माताहरूका लागि प्रेरणा : पात्र र उनीहरूका प्रवृत्तिमार्फत नेपाली चलचित्र उद्योगको इतिहासलाई लेखेका पराजुलीले भविष्यका चलचित्र निर्माताहरूलाई पनि करियर बनाउन प्रेरित गरेका छन्। यस उद्योगमा रहेका चुनौती र अवसरहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको छ। तिनीहरूलाई कसरी सफलतापूर्वक नेभिगेट गर्ने भन्नेबारे मार्गदर्शन प्रदान गर्न सफल छ। प्रतिभाशाली व्यक्तिहरूलाई उद्योगमा सामेल हुन र यसको विकासमा योगदान दिन प्रोत्साहित गरेको छ।

नेपाली चलचित्र उद्योगको इतिहासमााथि गहिरो खोजी गर्दै उनले उद्योगको शक्ति, कमजोरी, अवसर र खतराहरूको आलोचनात्मक विश्लेषण गरेका छन्। नेपाली चलचित्र पूर्णतः प्रविधिमैत्री भएकाले समाज र चलचित्र क्षेत्रले यसबाट जति लाभ लिन सक्नुपर्ने हो, त्यति लिन नसकेको लेखकको बुझाइ छ। निर्माता र निर्देशकहरू मौलिकतामा फर्कन बाध्य भएको बताउने लेखक थप्छन्, ‘कोभिड महामारीको प्रभाव भोगे पनि अहिलेकै गतिमा अघि बढे नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रन समर्थ हुनेछ।’
 – लेखक गुरागाईं चलचित्र विकास बोर्डका सूचना अधिकारी  र नेपाली फिल्मका अभिलेखकर्ता हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.