पुरुषजति कालापार, गाउँमा महिला मात्रै

पुरुषजति कालापार, गाउँमा महिला मात्रै
गाउँका सबै पुरुष मजदुरी गर्न भारत गएपछि भेरी–११ कट्टी गाउँका महिला। तस्बिर :  राजेन्द्र कार्की
सुन्नुहोस्

घरका सबै पुरुष कामको खोजीमा कालापार (भारतमा गएर मजदुरी गर्न जानुलाई कालापार भन्ने गरिन्छ) गएपछि त्यो घरमा महिला र बालबालिका मात्र छन्।

जाजरकोट : देशमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिए लगत्तै जाजरकोट भेरी नगरपालिका–११ कट्टी गाउँका भीमबहादुर वर र उनका तीन छोरा मजदुरी गर्न भारत गए। चार नातिनातिना, दुई बुहारी र भीमबहादुरकी पत्नी दुर्पती घरमै छन्। कान्छी बुहारी माइत गएकी छन्। घरका सबै पुरुष कामको खोजीमा कालापार (भारतमा गएर मजदुरी गर्न जानुलाई कालापार भन्ने गरिन्छ) गएपछि त्यो घरमा महिला र बालबालिका मात्र छन्।

‘सम्पत्तिको नाममा यही एक टुक्रो पाखो बारी मात्र छ। आफ्नो बारीमा उब्जेको अनाजले वर्ष दिनमा ३ महिना मात्र खान पुग्छ। के गर्ने छोराहरूले पढ्न सकेनन्। गाउँमा रोजगारी पाइँदैन। सबै बेरोजगार भए। नुन, तेल र खाद्यको जोहो गर्न मजदुरी गरेर कमाई गर्न कालापार जानुको विकल्प छैन’, घरको आँगनमा नातिनातिना खेलाउँदै गरेकी दुर्पती भन्छिन्, ‘मैले विवाह गरेको २७ वर्ष भयो। १५ वर्षको हुँदा बिहे गरेकी हुँ। अहिले ४२ 
वर्षकी भएँ।’

बिहे भएदेखि नै हरेक बर्ष श्रीमान्ले कालापार गएर कमाउने र त्यसबाट नै घरखर्च टार्ने गरेको बताइन्। उनले थपिन्, ‘तीनै छोराहरू पनि अहिले बाबाकै काममा निरन्तरता दिन थालेका छन्। बिहे गरिसकेका तीनै जना कालापार गएर नै गुजारा चलाएका छन्।’ उनका अनुसार बाबुबाजेको पालादेखि नै कालापार कमाउने र नुन–तेलको जोहो गर्ने परम्परा जस्तै बनेको छ। अर्थात् कट्टी गाउँका सबै पुरुषले भारत गएका छन्। ‘यो गाउँमा धेरै जसो लघुवित्त र साहुले लिने मिटरब्याजले हैरान छन्। कालापार गएर कमाइ गरेको पैसा साहु र विभिन्न लघुवित्तको ऋण तिर्न ठिक्क हुन्छ। छाक छार्नसमेत मुस्किल पर्छ।’

सोही गाउँकी देवी वर कामीका श्रीमान् लक्षे र छोरा विष्णु पनि रोजगारीको खोजीमा भारत गएका छन्। श्रीमान् र छोरा मजदुरीका लागि कालापार गएपछि घरमा महिला र बालबच्चा मात्र छन्। नातिनातिना र बुहारीका साथ ४५ वर्षीया देवीले घर सम्हालिरहेकी छन्। घरको डिलमा बसेर नातिनातिना खेलाउँदै गरेकी देवीले भनिन्, ‘श्रीमान् कालापार जान थालेको २८ वर्ष हुन थाल्यो। घरमा महिला मात्र बस्ने हाम्रो त बानी परिसक्यो। हरेक बर्ष कालापार गएर कमाइ गरेर ल्याउने र घर खर्च टार्ने गरेका छन्। कमाइ गर्न हरेक वर्ष तिहार सकेर मंसिरमा जाने र दसैं मान्न घर फर्किन्छ्।’ उनले पनि मिटरब्याजले आफूहरू हैरान भएको बताइन्। 

त्यस्तै, १९ वर्षीया उर्मिला विकका श्रीमान् र ससुरा पनि कामको खोजीमा कालापार गएका छन्। उनीहरू दसैं–तिहार मानेर चुनावमा भोट हालेर भारत प्रस्थान गरेका हुन्। ‘घरमा मेरो सानो बाबु र सासुआमा छौं। हामीले घर सम्हालेर बसेको छांै। उहाँहरूले पैसा पठाएपछि घर खर्च टार्छौं। उताबाट लामो समय पैसा नपठाए त साह्रै समस्या हुन्छ’, उनले भनिन्। कट्टी गाउँका पुरुषहरू कालापार गएर कमाइ गरेर घरखर्च टार्न थालेको बर्षाैं भइसक्यो। ठूलो प्रगति नभए पनि कालापारको कमाइले गाउँलेले घरखर्च टारिरहेका छन्।

कट्टी गाउँ मात्र होइन जिल्लाका अधिकांश गाउँका मानिस मजदुरीका लागि भारत जाने गरेका छन्। जाजरकोटबाट मात्र २० हजार बढी युवायुवती कामको खोजीमा भारत जाने गरेको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ। भारत गएर मजदुरी नगरे घरखर्च चलाउन समस्या पर्ने गरेको जिल्ला समन्वय समिति जाजरकोटका संयोजक कालीबहादुर खत्रीले बताए।

काम गर्ने जनशक्ति भारतलगायतका अन्य देश पलायन हुन थालेपछि गाउँघरका जमिन बाँझै हुन थालेका छन्। पुरुषहरू कामको खोजीमा कालापार पसेपछि कतिपय गाउँ पुरुषविहीन भएका छन्। महिलाले मात्र घरधन्दा चलाउन थालेका छन्। गाउँमा पुरुष युवाहरू नभएपछि बिरामी बोक्ने र मलामी जाने मानिसको समेत समस्या पर्न थालेको भेरी–११ की देवी वरले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.