ओलम्पिक छनोट : भियतनामसँग ५-१ ले हार्‍यो नेपाल

ओलम्पिक छनोट : भियतनामसँग ५-१ ले हार्‍यो नेपाल
नेपालका लागि सान्तवना गोल गर्दै साबित्रा भण्डारी। तस्बिर : अभिषेक महर्जन

काठमाडौं : पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग ५-१ गोलको नतिजामा पराजय बेहोरेको छ। दशरथ रंगशालामा घरेलु टिमविरुद्ध प्रायः समय हाबी बनेको भियतनामले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा दुई गोल थपेको भियतनामले एक गोल खायो। एनग्युयेन थी ट्राङले ११औं मिनेटमा बायाँतर्फबाट गरेको क्रसमा फमा हाई येनले हेडरमार्फत गोल गर्दै भ्रमणकारी टिमलाई अग्रता दिलाएकी थिइन्।

ट्रान थी थु थाओले सातौं मिनेटमा दिएको पासमा हाई येनले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन। दीपा शाहीले नवौं मिनेटमा दायाँतर्फबाट दिएको पासमा अमिसा कार्कीले सुन्दर मौका गुमाएकी थिइन्।

अम्रिता जैसीले ३४औं मिेनटमा सेन्टर सर्कलबाट प्रहार गरेको फ्रि-किकमार्फत गरेको प्रहार भियतनामी खेलाडीलाई लागेर अमिसाको अगाडि पुगेको थियो।

तर, अमिसाले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार भियतनामकी गोलकिपर खोङ थी हाङले बचाएकी थिइन्।

समीक्षा घिमिरेले ३५औं मिनेटमा १८ यार्ड बक्सभित्र ह्यान्ड गरेपछि भ्रमणकारी टिमले अग्रता दोब्बर पार्ने मौका पाएको थियो। सोही मौकाको सदुपयोग गर्दै भियतनामी कप्तान ह्युन न्हुले भियतनामको अग्रता दोब्बर पारिन्।

घरेलु टिममाथि हाबी बनेको भियतनामका लागि ३८औं मिनेटमा ग्युयेन थी बिच थुयले गरेको प्रहार नेपाली डिफेन्डर अम्रितालाई लागेर गोलमा परिणत भएको थियो।

दोस्रो हाफमा पनि सुरआतदेखि नै आक्रमण कायम राखेको भियतनामका लागि कप्तान न्हुले ४८औं मिनेटमा चौथो गोल गरिन्।

छोटो कर्नरमा होवाङ थी लोनले दिएको पासलाई न्हुले हेडरमार्फत सेकेन्डबारमा फिनिस गरिन्।

चौथो गोलपछि सम्हालिने कोसिस गरेको नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले ७९औं मिनेटमा एक गोल फर्काइन्। सरु लिम्बुले मैदानको करिब मध्य भागबाट दिएको लामो पासमा भियतनामी डिफेन्डरलाई सहजै बिट् गर्दै सावित्राले राम्रो फिनिसिङ गरिन्।

तर, इन्जुरी समयमा भियतनामकी एन्ग्युएन थी थानाह न्हाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारमा नेपाली कप्तान निरीह बनिन्।

नेपाली महिला टिमले खेलेको सबैभन्दा उच्च वरीयताको टिम नै भियतनाम हो। नेपाल फिफा वरीयताको १००औं स्थानमा छ। भियतनाम ३३औं स्थानमा छ।

समूह ‘सी’मा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि परेका थिए। तर, दुवै टिमले नाम फिर्ता लिएसँगै नेपाल र भियतनामबीच दुई खेल हुने र शीर्ष टिम दोस्रो चरणमा प्रवेश गर्ने भएका छन्।

नेपाल र भियतनामबीच दोस्रो खेल शनिबार दशरथ रंगशालामै हुनेछ। आजको खेलमा पराजित भएसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना न्युन बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.