७२ वर्षीया भक्तमायालाई नागरिकता दिन प्रजिअ निरौला घरमै
रामेछाप : जिल्लाको रामेछाप नगरपालिका-४ हिमगंगाकी ७२ वर्षीया वृद्ध भक्तमाया सुनुवारले नेपाली नागरिकता प्राप्त गरेकी छिन्।
आंशिक रूपमा शरिरिक र मानसिक कमजोर रहेकी सुनुवारले हालसम्म पनि नेपाली नागरिकका रूपमा सेवा सुविधा लिन पाएकी थिइनन्।
जिल्लाको दुर्गम मानिएको यस क्षेत्रमा यातायातको सहज पहुँच नहुनु र सदरमुकाम सम्म ल्याएर नागरिकता बनाउने सक्ने अवस्था नरहेको बेला प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शनिबार गाउँमा गएर सुनुवारको घरमै गएर नागरिकता प्रमाणपत्र वितरण गरेकी छिन्।
यस्तै प्रमुख जिल्ला अधिकारी निरौलाले सोही गाउँका २५ वर्षीय शारीरिक रूपमा पूर्ण अशक्त नरबहादुर माझीलाई पनि नेपाली नागरिकता वितरण गरेकी छिन्।
माझी जन्मजात शारीरिक रूपमा अशक्त व्यक्ति हुन्। दुवै जनालाई त्यस क्षेत्र बाट निर्वाचित वडा सदस्य रोजबहादुर श्रेष्ठको पहलमा र पालिका उपप्रमुख बाल कुमारी थापा(कार्की) रोहवरमा घरमै गएर नागरिकता वितरण गरिएको हो।
यातायात तथा शिक्षा र गरिबीको चरम समस्या रहेको यो दुवै परिवारमा जिल्ला सदरमुकामसम्म आएर नागरिकता बनाउन सक्ने अवस्था थिएन।
राज्यको दायित्व र आफ्नो जिम्मेवारीको कर्तव्य पूरा गर्न फरक क्षमता भएका नागरिकलाई नेपाली नागरिकको अस्तित्व दिन र राज्यबाट प्राप्त गर्ने सुविधाबाट बन्चित नहुन् भन्नलाई आफूले घरमै नागरिकता लिएर आएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ।
बिदाको दिन अन्य कार्यमा बाधा नहुने र अशक्त नागरिकले सहज सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आफू नागरिकको सेवामा समर्पित भएको प्रजिअ निरौला बताउँछिन्।
जिल्लाभर यस्ता प्रकृतिका नागरिक जो कोही नागरिकता प्राप्त गर्नबाट बन्चित भएको भए जिल्ला प्रशासनका सम्बन्धित व्यक्तिलाई सम्पर्क गरे गाउँघरमा नै नागरिकता पुर्याइदिने पनि प्रजिअ निरौलाको भनाइ छ। यस्तै पालिका भित्र रहेका यस्ता प्रकृतिका नागरिकको पहिचान गरेर सम्पूर्णलाई यस्तै सुविधा
प्रदान गरिने पालिका उपप्रमुख बाल कुमारी थापा कार्कीले बताइन्। नागरिकता प्राप्त गरेपछि दुवै परिवार हर्षित भएका छन्।
प्रमुख जिल्ला अधिकारी नै घरमा नागरिकता प्रमाणपत्र बोकेर आएपछि दंग भएका उनीहरूले अब राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो खुलेको छ। सामाजिक सुरक्षा भत्ताको लागि आइतबारबाटै प्रक्रिया सुरु गर्ने उनीहरूको भनाइ छ।