बृहत्तर जनकपुर कल्याण कोषमा अनियमितता, यसरी झिकियो रकम

जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारीले कल्याण कोषबाटै मनोमानी रुपमा रकम झिकेर लाखौं अनियमितता गरेको खुलेको छ। कल्याण कोषबाट ए.टु जेड कन्स्ट्रक्सनलाई टेन्डर वापत रकम दिइएको छ भने ०७८/०२/१४ गते सेवा सुविधा बापत पेश्कीस्वरुप कर्मचारी जितेन्द्र कुमार यादवले ५ लाख रुपैयाँ लिएको पाइएको छ।
०७८/३/२१ गते विज्ञापन गराएको बापत जनकपुर टुडे मिडिया ग्रुप प्रालिलाई ९० हजार ६२० रुपैयाँ उपलब्ध गराइएको छ । त्यसैगरी ०७८/४/२८ मा कृष्ण मुरारी सिंहले पेश्की ५ लाख लिएका बुझेका छन् । अन्य कर्मचारीले पनि यसैगरी नियम कानुन मिचेर कर्मचारी कल्याण कोषबाट रकम झिकेको स्रोतले जनाएको छ ।
कल्याण कोषबाट गैरकानुनी रुपमा रकम झिक्ने १६ जना कर्मचारीविरुद्ध ०७९/०७/२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी समेत परेको थियो । सो उजुरीमाथि अनुसन्धानको क्रममा कल्याण कोषबाट सेवा सुविधा,विज्ञापन र अन्य कारण देखाई रकम झिक्नेमध्ये ६ जना कर्मचारीले २४ लाख रुपैयाँ कोषको खातामा जम्मा गरिसके पनि अन्यले भने रकम जम्मा गर्न बाँकी नै रहेको जनाइएको छ ।
कर्मचारी जितेन्द्र कुमार यादव ५ लाख रुपैयाँ, संजय कुमार मण्डल ५ लाख,धनिराम मंडल ५ लाख,दिपेन्द्र कर्ण ५ लाख र अशोक ठाकुरबाट ४ लाख धरौटी रकम अख्तियारले असुल गरेको छ भने अन्य दश जनाबाट कल्याण कोषको रकम असुल गर्न बाँकी रहेको छ ।
अख्तियारले मिति ०७९/१२/२३ गते बृहत्तर जनकपुरक्षेत्र विकास परिषदलाई ‘राय प्रतिक्रियासहित कागजात पठाउने सम्बन्धमा’पत्राचार गरि आवश्यक कागजात माग गरेको छ । अख्तियारले बृहत्तरसँग कल्याण कोषबाट रकम झिक्ने अन्य कर्मचारीको विवरण माग गर्नुका साथै हालसम्म फिर्ता गर्नुपर्ने धरौटी रकम कुन कुन निर्माण कम्पनी/संस्था/व्यक्तिको के कति रकम,कुन बैंकमा रहेको छ भन्ने खाता नम्बर सहितको विवरण माग गरेको छ ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धानबाट पत्र प्राप्त भएको र यस विषयमा खोजी भइरहेको परिषदका अध्यक्ष शितल साहले बताएका छन् ।
बृहत्तर जनकपुरको कल्याण कोषबाट रकम झिक्नेहरुको चेक ।
प्रतिक्रिया दिनुहोस !
