मछिन्द्रसँग २–१ ले हार्‍यो संकटा

मछिन्द्रसँग २–१ ले हार्‍यो संकटा
सुन्नुहोस्

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आइतबार साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई २–१ गोलको नतिजामा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हाबी बनेको मछिन्द्रले रोमाञ्चक जित दर्ता गर्‍यो।

एन्द्रेन नियाले १४औं मिनेटमा मैदानको बीचभागबाट फालेको थ्रु बलमा मछिन्द्रका भुटानी फरवार्ड छेन्चो ग्याल्चेनलाई भेट्टाउन सकेनन्। त्यसको दुई मिनेट नबित्दै विमल घर्ती मगरको लामो प्रहार फ्रेममा परेको थिएन।

संकटाका मनीष डाँगीले १८औं मिनेटमा संकटाका जुनियर केङ्गेलाई भेट्टाउन सकेका थिएनन्। सुरुआती २० मिनेटसम्म निरन्तर आक्रमण गरेको मछिन्द्रका लागि २०औं मिनेटमा विमलले गोल गर्दै अग्रता दिलाएका थिए।

नियाले सेन्टर सर्कल नजिकबाट दिएको पासमा संकटाका डिफेन्डरलाई सहजै बिट् गर्दै विमलले उत्कृष्ट फिनिसिङ गरे।

त्यसको एक मिनेट नबित्दै संकटाका लागि मनीषले बराबरी गोल फर्काए। आयुष घलानले बायाँतर्फबाट दिएको पासमा पेनाल्टी एरिया भित्रबाट सशक्त प्रहार गर्दै गोलमा परिणत गरेका थिए।

पहिलो हाफ सकिन लाग्दा पुनः मछिन्द्रले संकटामाथि निरन्तर दबाब बनायो। छेन्चोले ४४औं मिनेटमा पेनाल्टी एरिया अगाडिबाट गरेको लामो प्रहार फ्रेममा परेको थिएन। पहिलो हाफको इन्जुरी समयमा छेन्चोले वान् भर्सेज वानमा टिकेन्द्र थापालाई बिट् गर्न सकेनन्।

दोस्रो हाफको पहिलो मिनेटमै ओलावाले आफिजले गोल गर्दै मछिन्द्रलाई पुनः अग्रता दिलाएका थिए। प्रशान्त अवस्थीले दायाँतर्फबाट गरेको क्रसमा ओलावालेले ट्याप इन गरेका थिए। उनको प्रहारमा संकटाका गोलकिपर टिकेन्द्रले बल छेके पनि गोल टार्न सकेनन्।

ओलावालेले ५६औं मिनेटमा हेडरमार्फत गरेको प्रहार गोल पोलमा लागेर फर्किएको थियो। त्यसको १० मिनेटपछि ६७औं मिनेटमा संकटाका जुनियरले गरेको लामो प्रहार फ्रेममा परेको थिएन।

ओलावालेले पुनः ७६औं मिनेटमा हेडरमार्फत गरेको प्रहार पोलमै लागेर फर्किएको थियो। जितसँगै मछिन्द्र सात खेलबाट ९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट ९ अंक जोडेको आठौं स्थानमा छ। ६ खेलबाट १४ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब लिग तालिकाको शीर्ष स्थानमा छ। सात खेलबाट १४ अंक जोडेको जावलाखेल दोस्रो स्थानमा छ।

खेलमा तीन अंक लिने लक्ष्यसहित मैदानमा उत्रिए पनि पराजय भोग्नु परेको संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीले बताए। 

‘आजको खेलमा धेरै कमी थियो,’ प्रशिक्षक खड्गीले भने, ‘खेलमा हार जित हुन्छ, उद्देश्य त जित्ने नै थियो।’ दोस्रो हाफको सुरुमै गोल खानु दुर्भाग्यशाली साबित भएको उनले बताए।

‘आजको खेलमा डिफेन्समा कमजोर देखियो, कम्युनिकेसनमा पनि समस्या भयो,’ उनले भने। खेलको इन्जुरी समयमा पुजन उपरकोटीसँग ठोकिएर मछिन्द्रकै छिरिङ गुरुङ बेहोस भएका थिए। उनलाई मैदानमै कार्डियोपल्मोनरी रेससिटेसन (सीपीआर) दिएर थप उपचारका लागि अस्पताल लानु परेको थियो।

उनी ढल्ने बित्तिकै नजिकको टच लाइनबाट दौडिएर छिरिङलाई मुख बन्द गर्न नदिन संकटाका प्रशिक्षकले महत्त्वपूर्ण भूमिका निर्बाह गरेका थिए।

‘कोल्याप्स भएको जस्तै देखिएको थियो। मैले आफूलाई रोक्नै सकिँन, मैले मुख बन्द गर्न दिइँन। ऊ होसमा आएपछि म पछाडि हटेँ,’ उनले भने,

‘म पुग्दा मुख बन्द हुन लागेको थियो। मैले चार औंला घुसाएर बन्द गर्न दिइँन। करिब एक दुई मिनेट जति बेहोस भएको थियो,’ उनले भने।

आक्रमणको हकमा नयाँ फरवार्ड युसुफ अतिृसले पहिलो पटक सुरुआती ११ मा परेकाले घुलमिल हुन नसेकेको उनले सुनाएका थिए।


यस्तै, मछिन्द्रका नवनियुक्त प्रशिक्षक किशोर केसीले प्रतिस्पर्धात्मक खेलमा आफ्नो टिमले बाजी मारेको सुनाए। निवर्तमान प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमका सहायक प्रशिक्षक नियुक्त भएपछि मछिन्द्र नेतृत्वविहीन थियो। तर, मछिन्द्रले आजै केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो। 

‘छोटो समयका कारण मैले टिमलाई रणनीतिक तयारी मात्रै गराएर आजको खेलमा आएको हो,’ यसअघि लगातार दुई सिजन च्याम्पियन बनेको मछिन्द्रमा आफ्नो लक्ष्यबारे बोल्दै उनले भने, ‘मेरो पनि लक्ष्य पहिलो हुने नै हो।’ छिरिङको अवस्था सुधार भइरहेको पनि मुख्य प्रशिक्षक केसीले जानकारी दिए।

एनआरटीको उत्कृष्ट पुनरागमन

आजै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलको नतिजामा पराजित गरेको छ।

खामिर गिल्सनले १४औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा ०–१ ले पछिपरेको एनआरटीका लागि रोहन खड्गीले ६७औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

एनआरटीका लागि सब्स्टिच्युट खेलाडी जेनिश प्रजापतीले निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा निर्णायक गोल गरे। उनको त्यो गोलसँगै एनआरटीले पहिलो जित निकालेको छ।

जितसँगै सात खेलबाट ६ अंक जोडेको एनआरटी ११औं स्थानमा पुगेको छ। समान खेलबाट शेर्पा १२औं स्थानमा झरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.