चर्च ब्वाइजसँग बराबरीमै खुशी एपीएफ

चर्च ब्वाइजसँग बराबरीमै खुशी एपीएफ

काठमाडौं : विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबसँग गोलविहीन बराबरी खेलेसँगै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।

दशरथ रंगशालामा विभागीय टिमविरुद्ध करिब पूरा समय हाबी भए पनि फिनिसिङमा चुक्दा युनाइटेडले ०–० को बराबरीसँगै अंक बाँड्नु पर्‍यो।

आशिष चौधरीले १२औं मिनेटमा बायाँतर्फबाट गरेको प्रहार दिपेश धिमाललाई ठोकिएर एपीएफका गोलकिपर युया कुरियामाको हातमा पुगेको थियो।

प्राय समय युनाइटेडको दबाबमा परेको एपीएफले पहिलो हाफमा एउटा मात्रै मौका बनाएको थियो। विभागीय टिमका कप्तान नवीन लामाले २४औं मिनेटमा अर्मान्ड बिडौमलाई बक्स भित्र पास दिएका थिए।

पेनाल्टी एरिया भित्र रहेका बिडौमको सशक्त प्रहार युनाइटेडका गोलकिपर प्रिसोले रोकेका थिए। त्यसको ६ मिनेटपछि युनाइटेडका आशिष चापागाईले दिएको पासमा जोसेफ बेम्पाले पेनाल्टी एरिया अगाडिबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

एपीएफमाथि निरन्तर आक्रमण गरेको युनाइटेडले ३६औं मिनेटमा १८ यार्ड बक्स अगाडि फ्रि–किक पाएको थियो। सोही फ्रि–किकमार्फत एरिक विष्टको प्रहारमा पुनः एपीएफका गोलकिपर कुरियामा बाधक बने। कुरियामाले रोकेको सोही बलमा पुनः बेम्पाको प्रहार फ्रेममा नपर्दा युनाइटेड दुर्भाग्यशाली सावित भयो।

दोस्रो हाफमा पनि एपीएफको रक्षापंक्तिमाथि आक्रमण कायम राखेको युनाइटेडले ४८औं मिनेटमा सुन्दर मौका गुमाएको थियो। सुवाष गुरुङले वान् भर्सेज वानमा एपीएफका जापानी गोलकिपर कुरियामालाई बिट् गर्न सकेका थिएनन्।

कमल श्रेष्ठले दायाँतर्फबाट ६७औं मिनेटमा प्रहार गरेको कर्नरमा पनि युनाइटेडले मौका बनाएको थियो। कमलको सटिक कर्नरमा बेम्पाको कर्नर फेरि एक पटक एपीएफका गोलकिपरले बाहिर धकेलिदिएका थिए।

युनाइट्डका गगनदीप सिंहले ६९औं मिनेटमा गरेको लामो प्रहार एपीएफका गोलकिपर कुरियामाले फेरि रोकेका थिए।

एपीएफका मणिकुमार लामाले ७४औं मिनेटमा प्रहार गरेको फ्रि–किकको आडामा डुम्बियाले फाइदा उठाउन सकेनन्। ६ यार्ड बक्स भित्र अन्मार्क्ड डुम्बियाले खुट्टा बलमा कनेक्ट गर्न सकेनन्।

बराबरीसँगै चर्च ब्वाइज युनाइटेड सात खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ११ अंक जोडेको एपीएफ पाँचौं स्थानमा छ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै रन्तकाजी महर्जनले तीन अंकका लागि सोचेर आए पनि एक अंकमा खुशी हुनुपरेको प्रतिक्रिया दिए।

‘आजको खेल सोचेभन्दा फरक भयो। हामी बल होल्ड गरेर खेल्ने योजनासहित मैदानमा आएका थियौं,’ प्रशिक्षक महर्जनले भने, ‘तर, त्यसका अडिग रहन सकेनौं। त्यसैले एक अंकमा पनि खुशी हुनु पर्‍यो।’

डिफेन्डस र मिडफिल्ड– मिडफिल्ड र फ्रन्ट लाइनबीच तालमेल नहुँदा  चर्च ब्वाइज युनाइटेडविरुद्ध प्राय समय दबाब खेप्नु परेको उनले बताए। आजको खेलमा आभाष लामिछानेलाई अन्तिम समयमा मात्रै मैदान प्रवेश गराउनुको कारण उनको फिटनेस रहेको उनले जनाए।

‘आभाष ढिलो मात्रै आयो, र उसको फिटनेसमा पनि समस्या देखिएर ढिलो मात्रै मैदानमा प्रवेश गराएको हो,’ उनले भने। ​​​​​​​मणिकुमार लामाले पनि जिम्मेवारी अनुसार खेल्न नपाउँदा मिडफिल्ड र अट्याक अपेक्षित नभएको उनको तर्क थियो।

‘मणिलाई आक्रमक जिम्मेवारीमा राखेका थियौं, तर डिफेन्समा व्यस्त हुनुपर्‍यो,’ उनले भने। आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर कुरियामाले आफ्नो सतप्रतिशत प्रदर्शन दिएको प्रतिक्रिया प्रशिक्षक महर्जनको थियो।

‘कुरियामाले बेस्ट दिएको छ, धेरैपछि उसले आफ्नो उत्कृष्ट प्रदर्शन दियो।’ एपीएफको लक्ष्य शीर्ष तीनमा पुग्ने रहेको र यो स्तरको खेलले त्यो लक्ष्य प्राप्त नहुने उनले सुनाए।

यस्तै, चर्च ब्वाइज युनाइटेडका गोलकिपिङ कोच मिहिर सावन्तले हारभन्दा बराबरी ठिकै छ भनेर चित्त बुझाउनु परेको बताए।

‘हार्नुभन्दा एक अंक लिनु राम्रो भयो,’ उनले भने। बेम्पाले गरेको एउटा गोल रेफ्रीले अफसाइड भन्दै रद्द गरिदिएका थिए। तर, त्यस्तो मानवीय त्रुटि ठूलो कुरा नभएको उनले बताए। प्रशिक्षक आउने–जाने भए पनि टिममा त्यसको असर नपरेको उनले प्रस्ट्याए।

‘प्रशिक्षक आउने–जाने हुन्छ, हामी संगठित छौं, त्यसले केही फरक पार्दैन,’ उनले भने, ‘अञ्जन (विष्ट) दुई वटा चोटमुक्त हुने क्रममा छन्। केही समय लाग्छ। हामी नयाँ फरवार्ड ल्याउने विषयमा विचार गरिरहेका छौं।’

पुलिसको पहिलो जित

सुरुआती ६ खेलमा जितविहीन रहँदै लिग तालिकाको पुछारमा रहेको तीन पटकको विजेता नेपाल पुलिसले सातौं चरणमा पहिलो जित निकालेको छ। फितलो प्रदर्शन र खराब नतिजापछि विदेशी खेलाडीलाई अनुबन्ध गर्न बाध्य बनेको पुलिसले तीनै खेलाडीको प्रेरणामा पहिलो जित निकाल्यो।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–१ गोलको नतिजामा पराजित गर्‍यो। पुलिसका लागि ५१औं मिनेटमा मोजेज ट्वामले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछि बुद्धबल तामाङले गोल गर्दै विभागीय टिमको अग्रता दोब्बर पारेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काएका थिए। तर, ९०औं मिनेटमा बुद्धबलले पुनः गोल गर्दै समग्रमा ३–१ को नतिजा सुनिश्चित गरे।

जितसँगै पुलिस सात खेलबाट चार अंक जोडेर लिग तालिका १३औं स्थानमा उक्लिएको छ। समान खेलबाट समान चार अंक जोडेको फ्रेन्ड्स हेड टू हेडमा  १४औं स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.