बागलुङमा जेसिज कप फुटबल हुने
बागलुङ : जेसिज बागलुङको आयोजनामा बागलुङमा जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ।
नवप्रतिभा खेलाडीको पहिचानसँगै खेलकुद मार्फत बागलुङको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले आगामी वैशाख १७ देखि २३ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको जेसिज बागलुङका अध्यक्ष सौरभ श्रेष्ठले बताए।
प्रतियोगितामा साबिक धौलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका क्लबहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले साबिकको धौलागिरीका क्लबहरूले बाहिरी जिल्लाका चार जना खेलाडीहरू राख्न पाउने बताए।
मुल संयोजक खत्रीले प्रतियोगितामा सहभागिताको लागि दर्ता शुल्क ८ हजार रुपैयाँ राखिएको बताउँदै विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए।
यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने मुल संयोजक खत्रीले बताए।
प्रतियोगिता सम्पन्न गर्नका लागि १९ लाख लागत लाग्नु अनुमान गरेको अध्यक्ष श्रेष्ठले बताए। उनले प्रतियोगिता सम्पन्न गर्नका लागि स्थानीय सरकार, व्यापारिक प्रतिष्ठान, खेलकुद तथा विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग प्राप्त भएको र हुने क्रम जारी रहेको बताए।
प्रतियोगितामा १६ टिमको सहभागिता हुने आयोजकले अनुमान गरेको छ। अध्यक्ष श्रेष्ठले सहभागिताको लागि विभिन्न क्लबहरूसँग संवाद भइरहेको बताए।