लघुवित्तीय संस्थाविरुद्ध महिला आन्दोलित

लघुवित्तले बढी सेवा शुल्क लिने, ब्याजका लागि घरघरै धाएर धरपकड गरेकाले आन्दोलित बन्नु परेको समिति संयोजक राधिका नेपालीले बताइन्।
अछाम : बैंकको चर्को ब्याजदर, लघुवित्तको ज्यादती र महँगीका विरुद्धमा जिल्लाको साँफेबगर नगरपालिका महिला आन्दोलनमा उत्रिएका छन्। संघर्ष समितिले नगरपालिका अगाडि प्रदर्शन गरेको छ।
उनीहरूले ऋणीमाथिको ज्यादती र चर्काे ब्याजदरको विरुद्ध आन्दोलन जारी राख्ने बताएका छन्। लघुवित्तले बढी सेवा शुल्क लिने, ब्याजका लागि घरघरै धाएर धरपकड गरेकाले आन्दोलित बन्नु परेको समिति संयोजक राधिका नेपालीले बताइन्।
उनले भनिन्,‘लघुवित्तका कर्मचारीको व्यवहारले आत्महत्या गर्ने अवस्थामा पुर्याइसक्यो।’ उनले अहिले व्यापार व्यवसाय राम्ररी नचलेको बताइन्। ‘कोरोनापछि व्यापार चौपट छ। लघुवित्तका कर्मचारी भने एक दिन पनि ढिला हुन दिँदैनन्।’
आर्थिक अवस्था कमजोर भएकाको आयस्तर उकास्नका लागि बिनाधितो ऋण दिएर आयमूलक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वित्तीय संस्था तथा लघुवित्त स्थापना भए पनि स्थानीयलाई राहतभन्दा आहत बढी भएको आन्दोलनमा सहभागी पूजा देवलले बताइन्।
प्रतिक्रिया दिनुहोस !
