रुपन्देहीको सियारीका अध्यक्षको निवासमा राखिएको बम डिस्पोज
भैरहवा : रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरेको छपियास्थित निवास (घर पछाडि) मा राखिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका घिमिरेले बिहानको समयमा झोलामा राखिएको बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त बमलाई नेपाली सेनाको टोलीले पड्काएर डिस्पोज गरेको रुपन्देही प्रहरीले जनाएको छ।
प्रेसर कुकर बम राखिएको झोलाबाट ‘मधेस पिपुल्स पार्टी, जिल्ला इन्चार्ज–सूर्या नेतृत्वमा, जिल्ला–सैन्य कमाण्डर रावणको कमानबाट यो जिम्मेवारी लिँदै...’ लेखिएको पर्चा भेटिएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर विकले जानकारी दिए। केही महिना यता रुपन्देहीमा अपराध बढ्दै गएकोले नागरिकको शान्ति सुरक्षामा असर पर्न थालेको छ।