उच्च मनोबलसहित जावलाखेल शीर्ष स्थानमा, मनाङ फेरि हार्‍यो

उच्च मनोबलसहित जावलाखेल शीर्ष स्थानमा, मनाङ फेरि हार्‍यो
सुन्नुहोस्

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोलको नतिजामा पराजित गर्दै जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

चौथो मिनेटमा सुनील खड्काले दिएको क्रसमा पेनाल्टी एरिया भित्र उत्कृष्ट रन बनाएका एन्कोटो मासोयाबीले उत्कृष्ट फिनिसिङ गरेका थिए। मनाङका गोलकिपर दीप कार्की बिट् भएपछि ६ यार्ड बक्सबाट मासोयाबीले सजह फिनिसिङ गरे।

मनाङका आशिष गुरुङले २३औं मिनेटमा पेनाल्टी एरिया अगाडि जावलाखेलका फरवार्ड हिसुब थपलियालाई फाउल गरेका थिए। सोही फ्रि–किकमार्फत हिसुबले नै गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

सेनेगलका मिडफिल्डर दियावान्डो डियानेले २८औं मिनेटमा मनाङले आक्रमणको मौका बनाएको थियो। तर, पेनाल्टी एरियाको रेखाबाट कमल थापाले गरेको प्रहार फ्रेममा नपर्दा मनाङले बराबरीको मौका गुमायो।

त्यसको आठ मिनेटपछि बिशोन गुरुङले पुनः हिसुबलाई फाउल गरेका थिए। सोही फ्रि–किकमार्फत फोडे फोफानाले गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

दोस्रो हाफमा केही सम्हालिने कोसिस गरेको मनाङले ६३औं मिनेटमा अर्को सुन्दर मौका गुमायो। रोशन रानामगरले पेनाल्टी एरिया ठीक अगाडिबाट गरेको प्रहार फ्रेममा नपर्दा मनाङ दुर्भाग्यशाली साबित भयो।

समिराज थोकरले ७९औं मिनेटमा बायाँतर्फबाट दिएको पासमा एन्कोटो मासोयाबीले हेडरमार्फत गरेको प्रहार मनाङका गोलकिपर दीप कार्कीले रोकेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन दुई मिनेट बाँकी रहँदा मनाङका बिशोनले गरेको लामो प्रहार क्रसबार नजिकबाट बाहिरिएको थियो। त्यसको एक मिनेट नबित्दै जावलाखेलका फोफानाले पेनाल्टी एरियाको एजबाट गरेको मनाङका कप्तान तथा गोलकिपर दीपले रोकेका थिए।

निर्धारित समयसम्म १–० ले पछि परेको मनाङले इन्जुरी समयमा थप एक गोल खाएसँगै लगातार दोस्रो हार टार्न सकेन। समिराजले बायाँ तर्फबाट गरेको क्रसमा ६ यार्ड बक्स भित्र अन्मार्क्ड फोफानाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै तीन अंक सुनिश्चित गरिसकेका थिए।

गोलका लागि आत्तुर देखिएको मनाङको सम्हालिन नसकेको मनाङले अन्तिम समयतिर फेरि गोल खायो। फोफानाले दिएको पासमा उत्कृष्ट रन बनाउँदै मनाङको अफसाइड ट्र्याप बिट गरेका मासोयाबीले व्यक्तिगत दोस्रो गोलसहित ३–० को जित दिलाए।

जितसँगै ९ खेलबाट १७ अंक जोडेको जावलाखेल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १५ अंकसहित मनाङ तेस्रो स्थानमा झरेको छ।

राम्रो प्रदर्शन गरेर पनि सुरुमै गोल खाएका कारण पराजित हुनु परेको मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले बताए।

‘आजको खेल पहिलो हाफमा सुरुमै गोल खाएर गाह्रो भएको हो,’ उनले खेलपछि भने, ‘सुरुमै गोल खाएपछि गोल फर्काउन समय थियो। राम्रै खेलेको पनि हो। तर, स्कोर हुन सकेन।’

लगातार तीन खेलमा जितविहीन र दुई खेलमा पराजित हुनुको कारण युवा खेलाडीको बाहुल्य भएको र खेलाडीलाई आराम नपुग्नु भएको उनले सुनाए।

‘हाम्रो चार–पाँच जना खेलाडीलाई एकदमै आराम चाहिएको छ,’ उनले भने, ‘नयाँ खेलाडीलाई चेक गरिरहेका छौं।’

सुरुमा गोल खाएपछि आक्रमणमा जाँदा रक्षापंक्ति खुकुलो भएर थप दुई गोल खानु परेको किरणले बताए।

मनाङलाई आफ्नो खेल खेल्न नदिने, रक्षात्मक रणनीति बनाउने र काउन्टरमा अट्याक गर्ने रणनीतिमा जावलाखेल सफल भएको किरणको तर्क थियो।

मनाङ पछिल्लो खेलमा सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको थियो। त्यसअघि थ्री स्टारसँग १–१ गोलको बराबरीमा अल्झिएको थियो।

‘सातदोबाटो (युथ क्लब), त्रिभुवन आर्मी फुटबल क्लबसँग पनि यस्तै भएको थियो, हामीसँग डिफेन्सिभ खेलेर काउन्टरमा फाइदा उठाइरहेका छन्,’ उनले भने।

यस्तै, जितपछि जावलाखेलका मुख्य प्रशिक्षक सुनील कुमार श्रेष्ठले आर्मीविरुद्धको हारपछि खेलाडीको मनोबलका लागि आजको जित महत्त्वपूर्ण भएको प्रतिक्रिया दिए।

‘आर्मीसँग हारेपछि खेलाडीले मनोबल डाउन भयो भन्ने तनाब थियो। हाम्रो युवा टिम छ, कम उमेरका र नयाँ खेलाडी खेलाइरहेका छौं, आजको जितबाट टिमको मनोबल उच्च भएको छ,’ उनले भने।
मनाङविरुद्ध सुरुआतमै गोल गरेपछि खेलाडीले उच्च मनोबलसहित खेलअवधिभर प्रदर्शन गरेको पनि उनले बताए।

‘सुरुमा गोल हानेपछि मनोबल उच्च भयो। र, हामी आज मैदानमा तीन अंककै लागि आएका थियौं, त्यसमा सफल भयौं,’ उनले भने, ‘हामीले पहिलो खेलमा मछिन्द्रलाई पराजित गरेको हो। मनाङसँग पनि जित निकाल्यौं यसले टिमको मनोबलमा धेरै फरकपार्छ।’

मछिन्द्र र एनआरटीको बराबरी

आजै दशरथ रंगशालामा भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी)ले १–१ गोलको बराबरी खेलेका छन्। खेलको पहिलो मिनेटमै ओमोलाजा नुरेन करिमले ३९औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।

स्टेफनले ६७औं मिनेटमा एनआरटीका लागि बराबरी गोल फर्काएका थिए। बराबरीसँगै मछिन्द्र ९ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट ९ खेलबाट सात अंक जोडेर ११औं स्थानमा उक्लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.