![६ वर्षदेखि केन्द्र विवाद, सेवा लिन सास्ती](https://annapurnapost.prixacdn.net/media/albums/khimadi_dHv4CwESnr_NuaUzw76B0.jpg)
पटक–पटक गरिएका प्रयासबाट सहमति नजुटेपछि पहिलो कार्यकालमा खिमडी, सुख्खड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन भयो।
टीकापुर : कैलालीको पहाडी मोहन्याल गाउँपालिका–६ का नरेन्द्र जोशी २०७५ सालमा एक उपभोक्ता समितिको सचिव बने। जेठको अन्तिमतिर काम सम्पन्न गरेका उनी रकम भुक्तानीका लागि १५ दिन भौतारिए। गत साता सोल्टामा भेटिएका जोशीले अहिले पनि मोहन्यालबासीका दुःख उस्तै रहेको गुनासो गरे।
‘२०७५ सालको कुरा हो, उपभोक्ता समितिको सचिव थिएँ, काम सम्पन्न गरेर भुक्तानीका लागि अध्यक्षलाई भेट्न सोल्टा, उपाध्यक्षको हस्ताक्षर गर्न फलेबिसौना पुगेँ, प्रमुख प्रशासकीय अधिकृतले सुख्खडमा तोक लगाए, लेखापाल धनगढी रैछन, त्यहाँ पुगेर चेक बनाई भुक्तानी लिँदासम्म १५ दिन पूरै लाग्यो’ जोशीले अन्नपूर्णसँग भने ‘पाँच वर्ष अघिझैं अहिले पनि हाम्रा दुःख उस्तै छ्रन्। गाउँपालिका केन्द्र खिमडीमा छ, हिउँदमा ठीकै भए पनि वर्षायाममा त्यहाँ पुग्न ३/४ दिन लाग्छ।’
झट्ट सुन्दा विश्वास नलागे पनि मोहन्यालबासीले यस्तै दुःख झेल्न थालेको ६ वर्ष भयो। साविकका मोहन्याल, पण्डौन र सुगरखाल गरी तीन गाविसहरू गाभेर बनाइएको मोहन्याल गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटर छ। गाउँपालिकाको पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत जिल्ला तथा दक्षिणमा गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिका छन्। अधिकांश ठाउँमा यातायातको पहुँच छैन।
२०७४ सालको निर्वाचन अघि पालिका केन्द्र तोकिएको खिमडी डोटी जिल्लाको ठूलीगाडसँग जोडिएको छ। वर्षायाममा केन्द्रसम्म जाने बाटो अवरुद्ध हुन्छ। हालको पालिका केन्द्रसम्म हिँडेर जाँदा ३/४ दिन लाग्छ। पालिका केन्द्र पायक पर्ने ठाउँमा नभएपछि २०७४ देखि नै केन्द्र सार्ने प्रयास नभएको होइन्। पटक–पटक गरिएका प्रयासबाट सहमति नजुटेपछि पहिलो कार्यकालमा खिमडी, सुख्खड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन भयो।
फलेबिसौनाका स्थानीय भवानीप्रसाद देवकोटा गाउँपालिका केन्द्र सबैलाई पायक पर्ने ठाउँमा नहुँदा सेवाग्राहीले दुःख पाएको बताउँछन्। ‘केन्द्र कहाँ राख्ने भन्ने विवादकै कारण अहिलेसम्म पालिकाको भौतिक संरचना बनेको छैन’, एमाले मोहन्याल गाउँपालिका अध्यक्ष समेत रहेका देवकोटाले भने। ‘हिउँदमा मोटरसाइकलबाट ४/५ घण्टा लाग्छ भने वर्षायाममा ३/४ दिन हिँडेर पुग्नुपर्छ, त्यही भएर कहिले सुख्खडबाट, कहिले फलेबिसौनाबाट त कहिले खिमडीबाट कार्यालय सञ्चालन हुँदै आएको ६ वर्ष हुन लाग्यो।’
संघीयता शुरु भएदेखि नै खिमडी केन्द्रको विवाद सुरु भएको बताउँदै उनले फलेबिसौना, चोसेकाँडा र चायाँभावरमध्ये एक ठाउँ हुनुपर्ने बताए। ‘हामीले गाउँपालिकाका सबैलाई पायक पर्ने केन्द्रका रूपमा चोसेकाँडामा हुनुपर्ने माग राख्दै आएका छौं’ देवकोटाले भने। ‘त्यसमा गाउँपालिका अध्यक्ष सहमत नहुँदा अहिलेसम्म केन्द्र नै तोकिएको छैन, सेवाग्राहीले दुःख पाइरहेका छन्।’
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सल्लाहकार सागर बोहरा गाउँपालिका केन्द्र तोक्न ढिलाइ गर्न नहुने बताउँछन्। ‘सबैलाई पायक पर्ने ठाउँ भएर मात्रै भएन, त्यहाँ पूर्वाधार, बाटो, पानी, बिजुलीसमेत पुगेको ठाउँ हुनुपर्छ’ बोहराले भने। ‘चोसेकाँडामा होइन्, सबैको सहमति भए राक्सामा राख्न सकिन्छ, अब ढिलाइ गर्नुहुँदैन। पालिकाबाट सिफारिस लिन समेत ३/४ दिन लाग्छ।’
पालिकाले केन्द्र पायक नभएपछि गाउँपालिकाका उपाध्यक्ष कमल साउदको नेतृत्वमा केन्द्र तोक्न सिफारिस समिति गठन गर्यो। ‘कार्यपालिकाको दुई तिहाइबाट चोसेकाँडा राख्ने निर्णय भएको हो, तर अध्यक्षले खिमडीनजिकै पर्ने राक्सामा राख्ने प्रस्ताव ल्याएपछि नगर सभामै विवाद भयो। हालसम्म पनि निर्णय हुन सकेको छैन’ उपाध्यक्ष साउँदले भने। ‘भूगोलको अध्ययन, जनसंख्या र पूर्वाधारको अवस्था हेरेर सबैलाई पायक पर्ने चोसेकाँडामा केन्द्र राख्न समितिले सिफारिस गरेको हो।’
उपाध्यक्ष साउदका अनुसार नेकपा माओवादी केन्द्रबाहेकका दलहरू चोसेकाँडामा केन्द्र राख्नेमा सहमत छन्। ‘गाउँसभामा दुईतिहाइ हुँदा पनि अध्यक्षले प्रस्ताव नै नल्याएर जनतामाथि कुठाराघात गरेका छन्’ उपाध्यक्ष साउदले भने। ‘चैत १३ गते बस्ने भनिएको गाउँसभा २७ गतेलाई सर्यो। २७ गतेसमेत नबसेरै अध्यक्षले हिउँदे सभा स्थगित गरेका छन्।’
नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष साउदले खिमडीमै पालिका केन्द्र बनाउने अध्यक्षको मनसाय देखिएको आरोप लगाए। पालिका केन्द्र पायक नहुँदा सेवाग्राहीले दुःख पाउनु परेको उल्लेख गर्दै साउदले सहमतिका लागि चरणबद्ध रूपमा छलफल गरिने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)