बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु
![बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Bus_Accident1_DoEjlApj53_GWxdanZ3mx.jpg)
काठमाडौं : बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। महोत्तरीको गौशाला नगरपालिका-१ रामनगर जंगलमा (रेलवे ट्र्याक)को मोडमा दुर्घटना भएको हो। मृत्यु हुने तीनै जना एकै परिवारको रहेको प्रहरीले जनाएको छ।
सम्सीबाट बर्दिबास जाँदै गरेको बा३ख २३९६ नम्बर बस र माइस्थान चोकबाट गौशालातर्फ आउँदै गरेको मधेस प्रदेश ०१-००४प६८१९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेका छन्। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवका अनुसार तीब्र गतिमा आइरहेको बस र मोटरसाइकल ठोक्किएको थियो।
गम्भीर घाइते भएका उनीहरूको बर्दिबासस्थित विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए। घटनापछि बसका चालक फरार छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)