कालजयी गीत–संगीतका स्रष्टा गोपाल योञ्जनको जीवन यात्रा पुस्तकमा

कालजयी गीत–संगीतका स्रष्टा गोपाल योञ्जनको जीवन यात्रा पुस्तकमा

काठमाडौंं : सन् १९६८ को फेब्रुअरी महिना। जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा कक्षा २ को शिक्षिकाका रूपमा मेरो पहिलो दिन थियो। विद्यालयको पुस्तकालयमा प्रवेश गर्दै गर्दा मैले सुमधुर संगीतको आवाज सुनेँ। हार्मोनियम बजाउँदै कोही बडो लीन भई गाइरहेको थियो। म चुपचाप उसलाई सुनिरहेँ। उसले त्यस दिन कुन गीत गाइरहेको थियो मलाई ठ्याक्कै याद छैन। तर उसको त्यो छवि, उसको आवाजमा बेरिएको भाव र उसको आवाजमा गुञ्जिएको गहिराइ मेरो मनभरि अझै ताजा छ। 

शनिबार राजधानीमा लोकार्पित पुस्तक गोपाल योञ्जनमा छापिएको यो हरफझैं संगीत सम्राट गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जनले गोपालसँगका कैयन यस्ता यादगार पलहरू सुनाइरहँदा दर्शक नतमस्तक देखिन्थे। गोपालसँगको पहिलो भेट, प्रेम, विवाह, जीवन यात्रा र गीत–संगीतप्रतिको उनको लगावलाई कार्यक्रममा रिन्छेनले निकै सुन्दर ढंगमा प्रस्तुत गरिन्। नेपाली गीत–संगीत क्षेत्रका एक बहुप्रतिभाशाली व्यक्तित्व गोपाल योञ्जनको देश र गीत–संगीतप्रतिको मायाप्रेमको अनुभूति पस्कँदै उनले भनिन्, ‘हाम्रो विवाह भएको दुई वर्षमै मलाई थाहा भइसकेको थियो कि गोपालको पहिलो प्रेम सदैव उसको संगीत हुनेछ। त्यसैले उसको जीवनमा मैले सधैं दोस्रो स्थानलाई नै स्वीकार गरेँ।’ 

गोपालको संगीतप्रतिको लगाव अनन्त लाग्छ उनलाई। कार्यक्रम सञ्चालक राजेश पाण्डेका जिज्ञासाहरूमा रिन्छेनको वर्णन शैली र पर्दामा देखाइरहेका दृश्यले कुनै सुन्दर चलचित्र हेरेझैं लागिरहेको थियो। बीचबीचमा प्रस्तुत गरिएका गोपाल योञ्जनका गीतसंगीतले त्यहाँँको वाताबरणलाई झनै रमणीय बनाइदिएको थियो। गोपाल योञ्जन फाउन्डेसनद्वारा प्रकाशित पुस्तक ‘गोपाल योञ्जन’को विमोचन समारोहमा उनले नयाँ पुस्तालाई गोपालको विरासत अगाडि बढाउन पनि आब्हान गरिन्। साथै गोपालको महत्व बुझेर उनका कामलाई कसरी अगाडि बढाउने भनेर आफूसँग धेरै वर्षदेखि यो यात्रामा अगाडि बढिरहेका व्यक्तित्व आफ्ना लागि सबैभन्दा प्रिय रहेका पनि उनले बताइन्। 

पुस्तक प्रकाशनमा काठमाडौंं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले सहयोग गरेको छ। विभागका संयोजक आशामान संगतले उक्त कार्यक्रम गोपाल योञ्जनका साथै नेपाली सांगितिक क्षेत्रका सम्पूर्ण स्रष्टालाई सम्मान गर्ने प्रयास रहेको बताए। गोपाल योञ्जनको जीवन यात्रा समेटिएको यस पुस्तकमा उनीसँग विभिन्न समयमा संगत र उठबस गरेका १०८ जना व्यक्तिले विषयवस्तुमा योगदान दिएका छन्। 

गीतकार, संगाीतकार, गायक, बाद्यबादक र संगीत संयोजक लगायतका विधाका विलक्षण प्रतिभा रहेका गोपालका गीतबारे कलाकार लय संग्रौलाले पुस्तकमा लेखेका छन्, ‘उनका गीतमा हामी हाम्रोपन पाउँछौं। उनका गीतमा हामी हाम्रो माटोको स्वस्ति पाउँछौं। उनका गीतहरूमा हामीलाई अंशबन्डा गराइएर सीमारेखामा आफन्तहरूले रोएका विरहका ब्यथा पाउँछौं।’ 

सन् १९९७ देखि सन् २०२४ को बीचमा २७ वर्षको अवधिमा खोजी, संकलन गरी १५ अध्यायहरूमा बाँढिएका यस संग्रहले संगीत सम्राट योञ्जनको जीवन, कलात्मकता र विरासतको विभिन्न आयामहरूको अन्वेषण गर्ने उनकी छोरी श्रीजना सिंह योन्जनले बताइन्। दार्जलिङका सुरुवाती दिनहरूदेखि नेपाली सांगीतिक क्षेत्रमा उनको अतुलनीय योगदानलाई पुस्तकमा उजागर गरिएको छ। पुस्तक तयार पार्दाको क्रममा विभिन्न उतार चडाव सहनु पर्दाको प्रसंग कोट्याउँदै छोरी सिर्जनाले भनिन्, ‘विभिन्न उतारचढाव, भावनात्मक उतारचढाव, खुशी उत्तिकै, उल्लास उत्तिकै, उमंग उत्तिकै, थकान उत्तिकै र फ्रस्टेसन।’ 

आफ्नो बुवाका समकालीन साथीमध्ये कतिले खुला दिलले कुराहरू बताए त कतिपयले कन्जुस्याइँ गरेको उनले स्मरण गरिन्। समाजमा पुरुष भनेको निकै कोमल हृदयको हुन्छ भन्ने आफूले बुवाबाटै बुझे पनि वास्तविक समाजमा भने यस्तो नपाएको अनुभव उनले बाँढिन्। ‘बुवा निकै कोमल हृदयको हुनुहन्थ्यो। फुपुले भन्नुभएको म सानो छँदा मेरो आशु भूइँमा झर्न नदिइ उनाँले पिउनुहुन्थ्यो रे’, निकै भावुक हुँदै उनले भनिन्, ‘तर बुवाको कृतिहरूको दस्तावेजीकरण गर्ने क्रममा बाहिरी दुनियाँमा आएपछि पुरुष यति निदर्यी हुन्छन् भन्ने बुझें। कतिले विवाह गरेकी छोरीलाई पनि कति चासो भन्नुभयो। कतिले सूचना लुकाउनुभयो त, कतिले आफैं लेख्दै छु भन्नुभयो।’ 

स्वरसम्राट नारायण गोपालसँग मित लगाउँदाको प्रशंसा उल्लेख गरिएको उनको डायरी पनि कार्यक्रम सञ्चालकले बाचन गरेर सुनाए। गोपाल योञ्जनका विषयमा अध्ययन गर्न चाहनेका लागि उनका गीतका क्यासेट, टेप, सीडी, नोटबुक, पेपर कटिङ, हार्मोनियम, पुरस्कारहरूलगायतका सामग्री अमेरिकाको कोर्नेल विश्वविद्यालयमा संग्रहित एवं सुरक्षित राखिएको कार्यक्रममा जानकारी गराइयो। 

विमानचालक एवं कलाकार विजय लामाले आफूहरू गोपाल योञ्जनको कालजयी गीतहरू सुनेर हुर्केको बताए। यस्ता कालजयी गीतहरू हरेक युगले सुन्न र गाउन पाउनुपर्ने बताउँदै उनले भने, ‘मूल संगीत र लयलाई नमारी कुनै पनि स्रष्टाको गीतलाई गाउन पाउनुपर्छ। नत्र हाम्रो नेपाली संगीत लोप भएर गइहाल्छ नि।’ 

कार्यक्रममा काठमाडौंं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संगीत भनेको मनोरन्जको माध्यम मात्र नभई ऊर्जाको स्रोत पनि रहेको बताउँदै गोपाल योञ्जनका गीतले आफूलाई ऊर्जा प्रदान गर्ने जनाइन्। ‘जसरी हिमालबाट नदी खोलाहरू नथाकिकन निरन्तर रूपमा बगिरहन्छन्, त्यसैगरी गोपाल योञ्जन पनि उहाँको संगीतको माध्यमबाट जनजनको मनमा जीवित रहेको छ, बगिरहेको छ’, उनले भनिन्।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्द्री पाण्डेले राज्य र सरकारले गर्नुपर्ने कर्तव्य गोपाल योञ्जनको परिवारले पुरा गरेको बताए। ‘गोपाल योञ्जनको रचना, संगीत, स्वर, शब्द सबै साधना र तपस्या हो। उहाँ गीतसंगीतको एउटा विश्वविद्यालय नै हो’, उनले भने, ‘एउटा ठूलो रिसर्चको काम यो पुस्तकमा सम्पादन भएको छ। यसलाई हामीले आगामी दिनमा अगाडि बढाउनुपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.