डेढ महिनापछि हेटौंडा सिमेन्टको उत्पादन सुरु
मकवानपुर : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ। आगो बाल्ने भट्टिको उपकरण बिग्रिएर क्लिंकर उत्पादन कार्य बन्द हुँदा सिमेन्ट उत्पादन समेत बन्द भएको थियो।
उद्योगले पुनः उपकरण मर्मत गरी डेढ महिनापछि उत्पादन सुरु गरेको उद्योगका प्रवक्ता नविनकुमार कर्णले जानकारी दिएका छन्।
प्राविधिक समस्याका कारण पटक पटक उद्योग बन्द गर्नुपर्ने बाध्यताले सिमेन्ट उत्पादनमा कठिनाइ भएको उनले बताए। उत्पादन बन्द भएकै कारण उद्योगले करोडौँ क्षति व्यहोर्नुपरेको उनको भनाइ छ।
उद्योगलाई दीर्घकालीन रूपमा क्षमता अनुसार उत्पादन वृद्धि गर्न उद्योग व्यवस्थापनले प्रधानमन्त्री र उद्योग वाणिज्यमन्त्रीलाई समेत ध्यानाकर्षण गराएको प्रवक्ता कर्णले बताए।
२०४३ साल मंसिर २२ बाट व्यावसायिक रूपमा उत्पादन सुरु गरेको उद्योगबाट हाल दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ।