बढ्यो चेक बाउन्सको घटना
आर्थिक वर्ष २०७८/०८९ मा २६ वटा बाउन्स चेकसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरीमा यस आर्थिक वर्ष २०७९/०८० मा हाल सम्म ७५ वटा चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता भएको छ।
जनकपुरधाम : जनकपुरधाममा चेक बाउन्सको घटना बढेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले वर्षमा झन्डै हजारको हाराहारीमा बाउन्स चेकको मुद्दा आउने गरेको जानकारी दिए। आर्थिक वर्ष २०७८/०८९ मा २६ वटा बाउन्स चेकसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरीमा यस आर्थिक वर्ष २०७९/०८० मा हाल सम्म ७५ वटा चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता भएको छ।
दैनिक एउटा चेक बाउन्सका उजुरी/बाजुर आउने गरेको प्रहरीको तथ्यांक छ। सर्वाेच्च अदालतले चेक बाउन्सलाई पनि बैंकिङ कसुरको अपराध भनेर फैसला गरेको छ। बैंकमा रकम नभएर चेक नसाटिए त्यसलाई चेक बाउन्स भनिन्छ। २०७९ वैशाख २२ मा सर्वोच्चका न्यायाधीशहरू डा. आनन्द मोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासले बैंक खातामा रकम छैन भन्ने जान्दाजान्दै चेक काट्नुलाई बैंकिङ कसुर नै भएको फैसला सुनाएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अपराध अनुसन्धान शाखाका वरिष्ठ प्रहरी नायव निरीक्षक भीम पोखरेलले भने, ‘चेक बाउन्सको समस्या बढको छ। हामीले कार्यालयको मुद्दा शाखाअन्तर्गत नै रहने गरी बैंकिङ कसुरको मुद्दालाई अनुसन्धानको दायरामा ल्याएका छौं।’ उनकाअनुसार प्रायः हरेक दिन बैंकिङ कसुरसम्बन्धी मुद्दा आउने गरे पनि सानो रकम भएको मुद्दामा दुवै पक्षलाई बोलाएर लेनदेन क्लियर गर्न सहमति गराइन्छ।
भरसक मुद्दामा जान नपरोस् भनी पीडित तथा पिडकलाई बाटो देखाउने काम गरिने उनले बताए। उनले भने, ‘उजुरीकर्ताले रकम पाउन नसकेको अवस्थामा प्रहरीले चेक बाउन्सको मुद्दा अदालतमा दर्ता गर्छ। त्यसअघि प्रहरीले चेक बाउन्सको प्रमाणीकरणका लागि सम्बन्धित बैंकलाई पत्र पठाउँछ। बैंकमा पैसा नभएको खाताको चेक दिने व्यक्तिलाई मुद्दा दर्ता भएपछि अदालतको अनुमतिमा प्रहरीले पक्राउ गर्छ।’
अनुसन्धान अधिकारीका अनुसार महोत्तरी बर्दिबास स्थित एक कम्प्युटर पसल सञ्चालकविरुद्ध चेक बाउन्सका ४ वटा मुद्दा दर्ता भएको छ। ऋण लिएर सञ्चालन भएको कम्प्युटर पसल आर्थिक मन्दीपछि टाट पल्टिएको थियो। कारोबार नै गर्न नसकेपछि सञ्चालकले पैसा तिर्नुपर्ने व्यक्तिलाई विभिन्न मितिको चेक दिएको तर चेक नसाटिएपछि चेक बाउन्स भएको प्रहरी स्रोतले जनाएको छ। उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष जितेन्द्र महासेठले आर्थिक मन्दीका कारण चेक बाउन्सका घटना बढेको बताए।
‘व्यापारीलाई प्राप्त भएका चेकहरू बाउन्स भएको घटना छ’, उनले भने, ‘आर्थिक मन्दीपछि व्यापार घट्नु, बैंकमा नगद तरलताको अभाव हुनु लगायतका कारण यसमा जोडिएको छ।’ उनले उधारोमा सामान बिक्री भएपछि प्राप्त चेकहरू बाउन्स भएको गुनासो आएको बताए। चेक बाउन्सका समस्यालाई व्यवसायीले संघसम्म पनि लग्ने गरको बताउँदै उनले भने, ‘व्यापार व्यवसाय चौपट छ, कोरोनाकालदेखि नै व्यापारमा उत्साह छैन। घरभाडा, सटर भाडा पहिलेको अनुपातभन्दा बढी भएको छ, यस्तो अवस्थामा व्यवसायीदेखि आम नागरिकसम्म पीडित छन्।’
प्रतिक्रिया दिनुहोस !