कोसी प्रदेश : प्रहरीको प्राथमिकतामा असहाय नागरिक

कोसी प्रदेश : प्रहरीको प्राथमिकतामा असहाय नागरिक

विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले सेवा प्रवाहमा असहाय एवं शारीरिक हिसाबले अशक्त नागरिकलाई प्राथमिकतामा राखेको छ।  

कार्यालयले कुनैपनि घटनाबाट पीडित भएर आएका असहाय र अशक्त नागरिकलाई सेवा प्रवाहमा पहिलो प्राथमिकता दिन तथा उनीहरूलाई न्यायको अनुभूति हुने गरी काम गर्न मातहतका सबै प्रहरी कार्यालयहरूलाई निर्देशनसमेत दिएको छ। 

कोसी प्रदेशमा १४ वटा जिल्ला छन्। विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा प्रहरी युनिटलाई असहाय, अशक्त, अपांगता भएका, शोषित, पीडित र गरिब नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

‘मानिस पीडित भएपछि नै न्यायको आश गरेर प्रहरी कार्यालय आउने हो। तर, पहुँचका भरमा मात्रै प्रहरीले काम गर्छभन्ने जनगुनासो व्याप्त छ,’ प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले भने, ‘अन्यायमा परेर आएपछि प्रहरीबाट निम्नस्तर र पहुँचविहीन भएकाहरू थप पीडित बन्ने अवस्था आउन हुँदैन। पीडामा परेका सबैको समस्या सम्बोधन गर्ने र उनीहरूलाई न्याय दिने गरी प्रहरीले काम गर्नुपर्छ।’ 

जिल्ला प्रहरी कार्यालय उदयपुरको मंगलबार निरीक्षण भ्रमणका क्रममा निर्देशन दिँदै बास्तोलाले प्रहरीका कारण पीडितहरू झन् अन्यायमा पर्ने अवस्था आउन दिन नहुने बताए। 

‘प्रहरीको काम कानुन कार्यान्वयन गराउने हो। शान्ति सुरक्षाको अवस्था मजबुत बनाउने हो। विभिन्न घटनाबाट पीडित बनेकाहरू न्याय माग्दै प्रहरी कार्यालय आउँछन्,’ निर्देशन दिँदै उनले भने, ‘त्यही भएकाले आमनागरिकमा प्रहरीप्रतिको विश्वास टुट्न दिन हुँदैन। पीडितमैत्री भएर काम गर्नुपर्छ। नेपाल प्रहरीले कानुन कार्यान्वयन गरेर न्याय दिलाउँछ भन्ने विश्वास सेवाग्राही एवं आमसर्वसाधारणमा बढ्नुपर्छ।’ 

घटनाको प्रकृति, पीडितको वास्तविक अवस्थालगायतका बारेमा राम्ररी बुझेर न्याय दिने भूमिका निर्वाह गर्न प्रहरीलाई उनको निर्देशन छ। 

‘प्रमाणका आधारमा जसरी भएपनि पीडितलाई न्याय दिने भूमिका प्रहरीको हुनुपर्छ। सबैलाई विश्वासमा लिएर काम गर्न सक्नुपर्छ। प्रहरीप्रति जनताको अविश्वास हुनु भनेको  सिंगो संगठनको बदनाम हुनु हो,’ डीआईजी बास्तोलाले भने, ‘प्रहरीको सेवा प्रवाहमा नागरिकले कहिल्यै पनि प्रश्न उठाउने वातावरण बनाउन हुँदैन। पीडित झन् पीडामा पर्ने अवस्था आएमा प्रहरीकै कार्यशैली र क्षमतामा प्रश्न उठ्छ। आमनागरिकले प्रहरीप्रति गरिरहेको भरोसा टुट्नसक्छ।’ तर, कानुनभन्दा बाहिर गएर कुनैपनि काम नगर्न प्रहरीलाई उनको निर्देशन छ। 

संगठनका साथै आफ्नै वृत्ति विकासका लागि प्रहरीभित्र सामूहिक भावना तथा भाइचारा र आपसी सहयोगको आवश्यकता जरुरी रहने उनको भनाइ छ। दैनिक काम कारबाहीलाई चुस्त, दुरुस्त बनाइ अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, विभिन्न आपराधिक गतिविधि तथा लागूऔषध एवं हतियारको कारोबार, ओसारपसार र प्रयोग नियन्त्रण गर्न प्रहरी सक्रियता बढाउन बास्तोलाको निर्देशन छ। 

अपराध तथा चोरी तस्करी नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, प्रहरी परिचालनलाई प्रभावकारी बनाउन, सवारी दुर्घटना न्यूनीकरण गर्न, नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाहीको दायरामा ल्याउन र चेक जाँचलाई बढाउन उनले निर्देशन दिए। विभागीय मूल्य–मान्यताभन्दा बाहिर गएर काम गर्ने जुनसुकै प्रहरी कर्मचारीलाई कारबाही गरिने चेतावनी उनले दिएका छन्। 

बास्तोलाले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयको आदेश र निर्देशनलाई तल्लो दर्ताका कर्मचारीसम्म पुर्‍याउन, फरार प्रतिवादी पक्राउ गर्न, नागरिकमैत्री सेवा प्रवाह गर्न, सबैसँग शिष्ट र सभ्य भाषा प्रयोग गर्न, सेवाग्राहीलाई समान व्यवहार गर्न, आमनागरिकलाई सामाजिक सञ्जालको सदुपयोगमा अभिप्रेरित गर्न तथा राम्रो काम गरेर प्रहरीको गरिमा बढाउने विषयमा ध्यान दिन प्रदेशका सबै प्रहरी कर्मचारीलाई बास्तोलाको निर्देशन छ। अन्तरआत्मालाई साक्षी राखेर प्रहरीले जनताको सेवामा खट्नुपर्नेमा उनको जोड छ। 

बास्तोला गृह मन्त्रालयको वैशाख ६ गतेको निर्णय अनुसार एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)बाट डीआईजी (प्रहरी नायव महानिरीक्षक)मा बढुवा भएका हुन्। उनले आइतबार प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका हुन्। 

त्यसलगत्तै उनले जनताको जीउधनको रक्षा गर्न, अपराध नियन्त्रण र अनुसन्धानमा सफलता प्राप्त गर्न, पुराना मुद्दाको फर्छ्यौट टमा ध्यान दिन, दैनिक काम कारबाहीलाई चुस्त बनाउन, खुला सीमाको फाइदा उठाएर हुने सीमा अपराध नियन्त्रणमा भूमिका खेल्न, चोरी–तस्करी रोक्न, भारतीय काउन्टर पाट्र्ससँग समन्वय गरेर सुरक्षाको अवस्थालाई मजबुत बनाउन जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन दिए। बास्तोलाको पदस्थापन भने हुन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.