नगरपालिकाले गरेको तोडफोडमा सांसदहरूको विरोध
सिरहा : मिर्चैया नगरपालिकाको बजारमा भएको तोडफोड घटनाको पूर्वमन्त्री, संघीय सांसद् तथा प्रदेश सांसदहरूले भर्त्सना गरेका छन् । मिर्चैया नगरपालिकाले गत माघ र फागुनमा गाउँब्लक जग्गामा पर्ने बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरिदिएको थियो ।
यही घटनालाई लिएर सिरहाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्, पूर्वमन्त्री तथा प्रदेश सांसद्हरूले मंगलबार मिर्चैयामा पत्रकार सम्मेलन गरी नगरपालिकाको कदमप्रति आक्रोश व्यक्त गरेका हुन् । पत्रकार सम्मेलनसँगै संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले गाउँब्लक जग्गाको नाप नक्सासमेत भइसकेको अवस्थामा घरहरू तोडफोड गरिएको र जग्गाधनीहरूलाई लालपुर्जा वितरणमा रोक लगाइएको घटनाको निन्दा गरेका छन् ।
नगरपालिकाले गैरकानुनी रूपमा मिर्चैयास्थित विशेष नापी कार्यालयलाई लालपुर्जा वितरणमा रोक लगाएको पनि उनीहरूको आरोप छ । नगरपालिकाले घर भत्काइदिएपछि स्थानीयमा पर्न भएको पिर–मर्काप्रति पूर्वमन्त्री तथा जनप्रतिनिधिहरूले दुःख व्यक्त गरेका छन् । साथै, वैशाख ७ गते घर तोडफोडको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले दमन गरेको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।
कानुनविपरीत क्रियाकलाप गरिएको भन्दै उनीहरूले कमी कमजोरी तत्काल सच्याएर पीडितहरूलाई न्याय दिन नगरपालिका, मालपोत कार्यालय र विशेष नापी कार्यालयलाई आग्रह गरेका छन् । आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्याउन पनि उनीहरूले नगरपालिकालाई सचेत गराएका छन् । त्यस्तै, पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत उनीहरूले आग्रह गरेका छन् ।
सिरहाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्हरू जसपाका वीरेन्द्र महतो, नेकपा एमालेका लिलानाथ श्रेष्ठ, नेपाली कांग्रेसकी मञ्जु खाँड, पूर्वमन्त्रीहरू तथा नेकपा माओवादी नेता महेन्द्र पासवान र अजयशंकर नायक, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष धर्मनाथप्रसाद साह, प्रदेश सांसद्हरू जनमत पार्टीका त्रिभुवन साह र भाग्यश्री चौधरी, राप्रपाकी कञ्चन बिच्छा र नेकपा माओवादीका दिलिप साहले संयुक्त रूपमा विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका हुन् ।
गत माघ २७, फागुन ११ र फागुन १९ गते नगर प्रमुख श्रवणकुमार यादवको नेतृत्वमा बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरिएको थियो । चार वर्षअघि विशेष नापीले गाउँब्लक क्षेत्रका जग्गाको नापजाँच गरी लालपुर्जा वितरणको तयारी गरिरहेका बेला नगरपालिकाले स्थानीयवासीको घर भत्काइदिएको थियो ।